मंसिरमा महाधिवेशन होइन, चैतको तयारीमा जुटौँः प्रवक्ता श्रेष्ठ

काठमाण्डौं ७ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का भित्रको विवाद र संक्रमणकालको अन्त्य गर्न सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले चैतको महाधिवेशनमा केन्द्रित हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अर्ली महाधिवेशन’ भन्दै मंसिरमा गर्ने भनिए पनि सो सम्भव नहुने भन्दै प्रवक्ता श्रेष्ठले केन्द्रीय समितिले निर्णय गरे बमोजिम चैत मसान्तसम्म महाधिवेशनको तयारी गर्नुपर्ने बताएका हुन् ।
‘साउनरभदौ वर्षायाम भयो, असोज- कात्तिक चाडपर्वको मौसम छ, मंसिरमा छठ छ । त्यस कारण जति नै जेट विमानको यात्रा गरे पनि मंसिरमा महाधिवेशन हुन सक्दैन,’ श्रेष्ठले भने, ‘केन्द्रीय कमिटी बैठकले पनि चैतमा महाधिवेशन गर्ने भनेको छ । त्यसैमा केन्द्रित भएर महाधिवेशनको कार्यतालिका बनाउनुपर्छ ।’
उनका अनुसार केन्द्रीय समितिले गरेको निर्णय भएकाले चैतमा महाधिवेशन गर्नुको विकल्प नेकपासँग छैन ।
प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने पर्ने प्रस्ताव औपचारिक रूपमा स्थायी कमिटीमा नआएकाले आधिकारिक एजेण्डा भने बन्न नसक्ने उनको भनाइ छ । ‘प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने विषय स्थायी कमिटीको आधिकारिक एजेण्डा भने होइन, केही नेताहरूले बोल्नुभएको मात्रै हो,’ श्रेष्ठले अगाडि भने, ‘सरकारको काम कारबाही र समीक्षा गर्दा त्यो विषयले प्रवेश पाउन सक्छ । तर, उहाँहरूले यसअघि बोलेकाले फिर्ता नलिएसम्म नेताहरूको व्यक्तिगत एजेण्डा भने रहने देखिन्छ ।’
नेकपाका लागि राजीनामा र आलोचना, वादविवादभन्दा पनि पार्टी एकताको रक्षा प्राथमिकतामा राख्नुपर्ने प्रवक्ता श्रेष्ठको भनाइ छ । ‘पार्टी एकताको रक्षा यति बेलाको हाम्रो बटमलाइन हो । यसको उद्देश्य राष्ट्रिय सार्वभौमिकता एवं अखण्डता, लोकतन्त्रको रक्षा एवं विस्तार, समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरण हो,’ श्रेष्ठले भने, ‘तसर्थ पार्टी एकताको रक्षा, यथास्थितिमा गुणात्मक परिवर्तन र महाधिवेशनको तयारीलाई निकासको सूत्र बनाऔँ ।’
उनका अनुसार महाधिवेशन तयारीका लागि एकताका बाँकी कार्यभार पूरा गर्ने, सदस्यता टुंगोमा पुर्याउने, गाउँदेखि प्रदेशसम्म अधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिकामा तत्कालै गृहकार्य सुरु गर्नुपर्ने उनको धारणा बाहिर आएको छ ।