जननायक बीपी कोइरालाको स्मृतिमा केहि शब्दहरु

जननायक बीपी  कोइरालाको स्मृतिमा केहि शब्दहरु

डा.हरिप्रसाद कडेल-

संसारका सम्बृद्ध मुलुकहरु त्यस देशको राजनीतिक नेतृत्वको क्षमता ,लगाव र इमानको परिणति हुन भन्दा फरक नर्पला । राजनीति नेैतिकताको एउटा वलियो धरातल हो अनि विवेकशिल व्यक्तिहरुको महासभा हो । कानुनको धरातलमा टेकेर जनताको भलाईको लागि गरिने अशल कृत्य राजनीति हुनु पर्दछ । तर नेपाली समाज अझै अचेत र अर्धचेतनको स्थितिमा गुर्जीरहेको छ । मानिसहरु भीडको पछि दौडने स्थिति अझै विधमाननै छ । भविश्य र वास्तविकता भन्दा पनि तत्कालिन प्रचारवादी कुराको पछाडी दौडने समाजिक अवस्था रहदा सम्म बीपी जस्ता असाधारण र ऐतिहासिक युग पुरुषको महिमा गाथाको महत्ववोध हुन सक्छ भन्ने लाग्दैन तर नेपाली जनताले त्यो दिन धेरै पखर्नु पर्ने छैन । मुलुक जति जति खराव स्थितिमा गुज्रदै जान्छ ,जनताहरु तव टाउकोमा हात राखेर असल नेताको खोजि र महिमागानको स्थितिमा अवश्य पुग्नेछन् ।

यहि श्रावण ६ गते सङ्घर्षमय जीवनगाथाले रङ्गिन बीपीको ३८ औं स्मृति दिवस मनाउने सन्दर्भमा छौ हामीहरु यस वर्ष पनि । काँग्रेस र काँग्रेसको भातृ संस्था तथा शुभेचछुकले यस घडिमा मुलुक लगायत विदेशमा पनि विविध कार्यक्रम आयोजना गरि आफ्ना संस्थापक नेताको सम्झना गर्दैछन् । चितवनमा पनि सप्ताहव्यापी कार्यक्रमहरु सञ्चालनमा रहेकाछन् ।

नदि प्रवाह जस्तै सधैं गतिमान , निरन्तर चर्चा र आदरका साथ सम्झना गरिरहने नामनै विश्वेसरप्रसाद कोईराला हो । संसारका थोरै व्यक्तित्वमा हुने विशेषता (व्यक्ति एक , व्यक्तित्व अनेक ) वोकेका बीपी नेपाली धर्तीका वरदपुत्र हुन् । बीपीको असाधारण अभिव्यक्ति कला , लेख्य क्षमता , भाषिक ज्ञान र सर्मपणभाव अनि दुखदायी जीवनी पढ्दा जोकोही भावुक हुन्छ भन्ने लाग्दछ । जनयुद्धका नाईके भनिएका प्रचण्डले समेत बीपी लाई आफ्नो आदर पुरुष भनि प्रधानमन्त्रित्वकालमा भावुक अभिव्यक्ति दिनुनै यसको एक प्रमाण् हो। आत्मवृतान्त ,जेलजर्नल र अदालति वयानका अंशहरु पढ्दा अनि विपीका सहकर्मीहरुको विपी दृष्टिकोण श्रवण गर्दा उहाँ जत्तिको सच्चा नेपाली राष्ट्रनायक कोही नभएको वुझ्न सकिन्छ । थाहाछैन म आफैलाई कि मेरो विवेकले यी महामानव विपीको स्मृति समिक्षागर्ने योग्यता राख्छ या राख्दैन तर पनि म उहाँलाई छापाका सामाग्रीहरुकै आधारमा सम्झना गर्न गईरहेकोछु ।

राणाशासन ढालेर देशमा प्रजातन्त्र स्थापना गर्ने राजनैतिक आन्दोलनमा होमिएका सर्बाधिक लोकप्रिय नेपाली राजनेता बीपी कोइराला २००३ सालमा नेपाली कांग्रेसका एक मुख्य संस्थापक मात्र होइनन् ,कांग्रेसको राजनीतिक सिद्धान्त र रणनीतिका प्रमुख प्रवक्ता र व्याख्याकार पनि हुन् । तत्कालीन राणा शासकहरुको आँखामा बिझेपछि भारत निर्वासित भएका समाज सुधारक पितासगै प्रबासमा अंग्रेज हटाऊ आन्दोलनबाट राजनीतिमा होमिएका बीपी कोइरालाले नेपालमा राणाशासन बिस्थापित गरी प्रजातन्त्रको बहालीका लागि देशबाहिर र भित्रबाट नेतृत्वदायी भूमिका खेलेका थिए । २००७ सालमा प्रजातन्त्र स्थापनाका लागि भएको राजनीतिक आन्दोलनको सफलतापछि अन्तरिम सरकारका गृह मन्त्री भएका बीपी कोइराला नेपाली कांग्रेसको मात्र नभै नेपालकै सबैभन्दा लोकप्रिय नेताका रुपमा राजनीतिको केन्द्रमा थिए । २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा दुई तिहाई भन्दा बढी मत आर्जन गर्ने नेपाली कांग्रेसको नेताका रुपमा प्रधानमन्त्री चुनिएर बीपीले २०१७ साल पुस १ गते प्रजातन्त्र अपहरण नभएसम्म पहिलो जननिर्वाचित सरकार सञ्चालन गरेका थिए ।

प्रजातन्त्रको अपहरण भएपछि आठ वर्ष निरन्तर जेल जीवन भोगेका बीपी त्यसपछि पुनः प्रवासबाट नेपाली कांग्रेसको नेतृत्व गरी २०३३ सालमा तत्कालीन राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिको विश्लेषण गरी देशभित्र मृत्युदण्डको माग गर्ने तत्कालीन हार्डलाइनर पञ्चहरुको जोखिम स्वीकार गरी राष्ट्रिय मेलमिलापको नारा लिई नेपाल फर्केका थिए । प्रजातान्त्रिक समाजवादी राजनीतिक सिद्धान्त भएका बीपीले सोसलिष्ट इण्टरनेशनलको एक अगुवाका रुपमा पनि अन्तर्राष्ट्रिय राजनितिमा आकर्षक भूमिका निर्वाह गरेका थिए । २०३७ सालको जनमत संग्रहमा बहुदलिय प्रजातान्त्रिक ब्यबस्थाका पक्षमा अधिराज्यव्यापी प्रचार प्रसारको नेतृत्व गर्ने बीपीले २०३९ सालमा निधन नभएसम्म संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रका खातिर आफूलाई समर्पित गरेका थिए । आफ्नो जीवनकाल भरि देशको राजनीतिमा समर्थन र बिरोधको केन्द्रमा रहेका बीपी अन्तर्राष्ट्रिय स्तरमा पनि परिचित लोकप्रिय नेपाली राजनेता हुन् । नेपाली कांग्रेस उनकै नाम, सिद्धान्त , कर्म र आकर्षणले अनुप्राणित रहदै आएको छ ।

जीवन भरि राजनैतिक सङ्घर्ष गरेका , आफ्नो उपचार गर्न नसकेका र नेपाली जनताका लागि आफ्नो जीवन प्रवाह नगरेका अनि आफ्नै नेपाली नामको राजनैतिक दल र सिद्धान्तका प्रर्वतक महामानव बीपी कोइरालाको आर्दशतम व्यक्तित्व नेपालभित्र अतुलनीय तथा समकालिन विश्वमा पनि तुलनायोग्य रहेको छ । वर्तमान नेपाली राजनीतिका नेतृत्वहरु बीपी कोइरालाको अघि अति फिका देखिनुले पनि आज फेरी नेपाली धर्तीमा बीपी कोइरालाको आवश्यकता खट्किएको छ । देशको माटोको कसम वोक्ने नेता चाहिएको छ आज नेपाल आमालाई । किसानको फाटेको टोपी र उसको गाइगोठ हेरेर निर्णय गर्ने राजनेता चाहिएको छ नेपाली जनतालाई । अखण्ड नेपाल हाँक्ने महामानव चाहिएको छ हामीलाई । सामाजिक सहिसुष्णता कायम गर्ने नेतृत्व चाहिएको छ नेपाली जनतालाई । भिजाएको चना , नुन र गुण खाएर छाक टार्न सक्ने बीपी कोइराला जस्ता सर्वहारा नेता चाहिएको छ नेपालीलाई । सत्ययुगको जस्तो वरदान मागेर पाईने भए फेरी विपी कोइरालाको अवतार चाहिएको नेपाल आमालाई ।

जीवनका पछिल्ला दिनहरुमा राष्ट्रिय मेलमिलापको देशभक्तिपूर्ण उच्चतम राजनीतिको आयाम बीपीको जीवनपर्यन्तको यात्रा वन्न गयो । आज देशमा स्वार्थपरायणता , सम्प्रादायिकता , व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको वोलवाला छ । आज नेपाली काँग्रेसको काँधमा दुई जिम्मेवारी छ । लोतन्त्रको रक्षा गनु र राष्ट्रियता जोगाउनु । राष्ट्रिय एकता लोकतन्त्रको जर्गेनावाट मात्र हुन सक्दछ र लोकतन्त्रको जग देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण व्यवस्थामा मात्र वलियो हुन सक्दछ भनि विपीले लिएको नीति आज झन सान्र्दभिक भएको छ । कोभिड र वाढी पहिरोले आक्रान्त भएको वर्तमान अवस्थामा सवै प्रकारको राष्ट्रिय चुनौतीहरु मुलुकको सामुन्ने आएको यस घडिमा राष्ट्रिय अभिभारा पुरा गर्न नेपाली काँग्रेसले नेतृत्व दिन सक्नु पर्दछ र यसको राजनैतिक प्रण गरि नेपाली जनतालाई आश्वस्त पार्न सक्नु पर्दछ । अनि बीपीवादलाई कार्यान्वयन गराउने लक्ष्यमा दृढ रहने प्रतिज्ञा गर्न सक्नु पर्दछ । यो भएमा विपीको सच्चा स्मृतिगानको महत्व युगौ युग फैलदै जानेछ ।

आचरण र संस्कृतिमा समाजवाद खोजौं त –

हालको सिराह नजिक जयनगर पारगरेपछि आउने चन्द्रगञ्ज भन्ने वजार नजिक तत्कालिक भन्सार अड्डानिर पहाडवाट झरेका ढाक्रेहरुले जाडोमा फाटेको लुगा लगाएको देखेपछि ग्लानी महसु गर्दे उनीहरुलाई अशर्फि मिश्र मार्फत नयाँ कपडा दिएर उनीहरुको फाटेको वस्त्र पार्शल वनाएर चन्द्र शम्सेरकाहाँ पठाएर शुरु गरेको कृष्ण प्रसाद कोइरालाको स्वतन्त्रता र समाजवादी आन्दोलनको दृष्टान्त कहाँनेर कायम गरेकाछौ हाज हामीले ? के आज एक चौथाई जनता त्यस्तै ढाक्रेको जस्तै जीवनशैलीमै रहेको कुरा सरकारमा रहदा सम्झेकाछौं त हामीले ? भारतको भागलपुरमा ४५ जनाको डफ्फा राखेर माटोको ठूलो भाँडोमा चना ,नून र गँुड तयार पारी छाक टारेको दुखद घटनाका एक पात्र स्वयम शुशिलले आज किन सम्झन सकेका छैनन् आफ्नो विगत गरिवीको व्यथा ? वेतियामा वस्दा पत्रिका वेचेर आएको पैसाले कुँडो ( पानीमा पीठो तरकारी सवथोक हालेर पकाएको खाना) वनाएर खाएको दुखको चित्र किन नखोजेको काँग्रेस सरकारले ? ।

बीपीका भाई हरिहर हैजाले मरेको अनि कात्रो किन्न नसकेको , स्वयम बीपी क्यान्सरवाट पीडित भएको दुखद जीवनगाथा स्मरणगरि नेपाली जनताको आधारभूत स्वास्थ्य सुविधाको सम्वोधन गर्ने नीति कार्यक्रम ल्याउने चेष्टा खोइत आजसम्म ? वहिनी नालीनी र सानीआमाले लुकाएर दिएको कानको सुन वेचेर पढ्नु परेको बीपीको अध्ययन जीवनवाट आमनेपालीका लागि सुलभ शिक्षा नीति ल्याउनुको सट्टा व्यापारीकरणको स्थिति किन ल्याइयो त ? दरभंगाको मुक्तीपुरको जुटमिल र सुगरमिलमा बीपीले मजदुरी गरेको स्मरण गर्दै कहिल्यै नेपाली मजदुर वर्गको उत्थानमा उचित कदम चालियो त ? खद्दर लगाउने बीपीको सादगी पहिरन र स्वावलम्वनको चाहना अहिले हामीसंग कहाँ छ र ? आज गरिव र निम्न वर्गको कुरा गर्ने हो भने हामीलाई पनि कम्युनिष्टको कित्तामा राखिदिएर आफू भने कर्मकाण्डी बीपीवादी वन्ने प्रवृतिलाई के भन्ने हो यतिवेला ? बीपीको समाजवाद ग्रामीण किसान र कृषी अर्थतन्त्रको सेरोफेरोमा रहेको कुरा कहिल्यै स्मरण गर्न सकेनौं हामीले ।

बीपी केवल काँग्रेसीहरुले मात्र सझने व्यक्ति होइनन् , उनको स्मृति कार्यक्रममा काँग्रेसजनको मात्र उपस्थिति वनाउन खोज्ने कर्मकाण्डी काँगे्रसीहरुको साँघुरो सोंचले बीपीको समाजवादको जग्रेना हुने आशा नगरौै हामीले । र्माक्सको उत्पादन अर्थशास्त्र र पूजीवाद दर्शन संसारकै सम्पति भए जस्तै विपिको समाजवाद पनि अन्र्तराष्ट्रिय दर्शन हो भन्ने महत अर्थशास्त्रले देख्न सकेन । समाजवाद अनुसार उत्पादन र वितरणको नीति महत अर्थशास्त्रले पहिल्यउन नसकेको प्रति समिक्षा गरौ यतिवेला ।

बीपीवादलाई हाम्रो आचरण र संस्कृतिसंग पनि जोड्नु पर्दछ । सुकिलाहरु माझ एलिट क्लवमा विपिवाद रटेर केही हुन सक्दैन भन्ने चेत खुलोस् । मञ्चमा अरुलाई सिकाउन जानेहरुलाई आफू स्वयम् बीपी संस्कार गरेर देखाउन अनुरोध गर्दछु । रास विहारीलाल कायस्त जस्ता बीपीका अशल शिक्षक वनेर समाजवादी संस्कृति निर्माणमा अघि वढ्न सज्जन काँग्रेसीजनहरुमा प्रेरणा जागोस् । अन्तमा बीपीवादको आर्दशप्रति श्रद्धाभाव व्यक्त गर्दै स्वर्गीय महामानव विपी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

( लेखक बीपी विचार राष्ट्रिय समाज चितवनका अध्यक्ष हुनुहुन्छ )



ट्रेन्डिङ