बाढी, पहिरोले पृथ्वीराजमार्ग क्षतविक्षत

बाढी, पहिरोले पृथ्वीराजमार्ग क्षतविक्षत

मौवा खोला, धादिङ ६ साउन ।  आइतबार रातिदेखि परेको अविरल वर्षाले पृथ्वी राजमार्गका विभिन्न भागमा क्षति पुग्दा आवागमन ठप्प भएको छ । चितवन सिमानामा रहेको खहरे मौवा खोलाले मुख्य राजमार्गको पुल जोड्ने सडकको केही भाग बगाउँदा आवागमन रोकिएको हो । खोलाले धादिङतर्फ पुलको ढलानसँग जोडिएको करिब ५ मिटर सडक बगाएपछि चितवनसँगको आवागमन प्रभावित भएको छ ।

उक्त पुल भत्केपछि काठमाडौंतर्फ जाने सयौं सवारीसाधन मुग्लिङ फर्केका छन् । बेनीघाटको जोगीमारा हुग्दी खोलादेखि मौवा खोलासम्म ९ स्थानमा पहिरो खसेको छ भने विभिन्न स्थानमा ठूला चट्टानहरू सडकमा खसेका छन् । गजुरी–२ माझडाँडामा बाढीले ५ घर बगाएको छ । घटनामा १७ वर्षीया निरुता परियारको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सरसामान निकालेर ५ परिवारका १६ जनाले घर छाडेपछि ‘सुटकेस छुटेको’ भन्दै फर्केकी परियार बगेकी थिइन् । सशस्त्र प्रहरीले दिउँसो पहिरो पन्छाएर शव निकालेको हो ।

सिमेन्ट उद्योगलाई चुनढुंगा आपूर्ति गर्ने अन्नपूर्ण क्वेरिजको कार्यालय र अस्थायी प्रहरी पोस्टसहित स्थानीयका ८ वटा पसल जवाङ खोलाको बाढीले बगाएको छ । सोमबार करिब १२ बजे आएको भेलले जवाङ खोला पुलमा मुढा र ठूला ढुंगा थुपारेको छ । यसअघि यस्तो भेल २०५० सालमा आएको स्थानीयले बताएका छन् । त्यसबेला त्रिशूली नदीको बाढी राजमार्गसम्म आएको थियो । ‘योपल्ट पनि बाढी आएर राजमार्गमै ढुंगामुढा ल्याएर थुपार्‍यो,’ जवाङ खोलाका स्थानीय स्याने घलेले भने । आफ्नो पसल बाढीले बगाएपछि ५ वटा पहिरो पार गर्दै घले ८ जनाको परिवारसहित आफन्तकहाँ शरण लिन पुगेका छन् । जवाङ खोलामा आएको बाढीले अस्थायी प्रहरी चौकी घेरेपछि त्यहाँका प्रहरीले भागेर ज्यान जोगाएका थिए । राजमार्गमाथि रहेका सिमेन्ट उद्योगबाट आएका ग्रेगान र पहिरोले तेक्राङमा कुखुरा बोक्ने पिकअप गाडी, एउटा कार र एउटा भ्यान बगाएको छ भने एउटा कन्टेनर बोकेको ट्रक र दुईवटा जिप आधा पुरेको छ । गजुरीको जहेमा पनि एउटा कार पहिरोले बगाएको प्रहरीले जनाएको छ । ‘मलेखु, फुर्के खोला र जहरेलगायतमा खसेको पहिरोमाथिका खानी र ग्रामीण सडकबाटै राजमार्गमा आएको देखिएको छ,’ राजमार्ग निरीक्षणमा निस्केका जिल्ला प्रहरी प्रमुख रवीन्द्र रेग्मीले भने । त्रिशूलीले जोगीमाराका दुई स्थानमा राजमार्ग भत्काएको छ । पहिरो पन्छाइसकेपछि मौवा खोलाको क्षतिग्रस्त पुल गजुरीस्थित नेपाली सेनाको ब्यारेकमा रहेका बेलिब्रिज लिएर जडान गर्ने योजना रहेको धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । ‘पहिरो पन्छाउन मंगलबार दिनभर लाग्न सक्छ,’ उनले भने, ‘चारैतिर पहिरो गएपछि राजमार्गका विभिन्न भागमा सवारीसाधन अलपत्र छन्



ट्रेन्डिङ