नारायणी नदीमा पानीको बहाव खतराको विन्दुमा पुग्यो,पानीको बहाव अझै बढ्दो क्रममै

नारायणी नदीमा पानीको बहाव खतराको विन्दुमा पुग्यो,पानीको बहाव अझै बढ्दो क्रममै

चितवन ५ साउन । निरन्तर परिरहेको वर्षापछि आएको बाढीले नारायणी नदीमा पानीको वहाब खतराको तह पार गरेको छ । जलमापन केन्द्र देवघाटबाट प्राप्त विवरणअनुसार देवघाटनजिक नारायणी नदीको सतह आठ दशमलव ५१ मिटर पुगेको छ । सात दशमलब तीन मिटर तह पार गरे चेतावनी तह र आठ मिटर पार भए खतराको तह पार गरेको मानिन्छ ।

नारायणगढ पुल नजिक भने पानीको सतह चेतावनी विन्दुमा छ । नारायणी पुलनजिक भने नदीको सतह ११ दशमलव ७२ मिटर पुगेको छ । पुल नजिक नारायणी नदीको तह ११ मिटर पार भए चेतावनीको तह नाघेको मानिन्छ ।
निरन्त परिरहेको वर्षाले नदीको बहाव बढ्दो क्रममा नै रहेको छ । नारायणी नदीमा बाढी आउँदा पश्चिम चितवनको मंगलपुर, गुञ्जनगर, दिव्यनगर र मेघौलीमा कटान र डुबानको खतरा रहन्छ । मेघौली नियरेचोकमा यसअघि असार अन्तिममा आएको बाढीले नदीको तटबन्धसमेत भत्काएको थियो । नवलपुर क्षेत्रमा पनि जोखिम बढेको छ ।

सोमबार मध्यान्ह खतराको तह पार भएसँगै चितवन जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर नदी आसपासको क्षेत्रमा बस्ने स्थानीयलाई सावधानी अपनाउन अपिल गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले निरन्तर वर्षा भइरहेका कारण सबैलाई सजग रहन अनुरोध गरेका छन् ।

 



ट्रेन्डिङ