निरन्तर परिरहेको वर्षाका कारण पहिरोले थुनिएको नारायणगढ–मुग्लिन सडक खण्ड खुलाउने काम प्रभावित

निरन्तर परिरहेको वर्षाका कारण पहिरोले थुनिएको नारायणगढ–मुग्लिन सडक खण्ड खुलाउने काम प्रभावित

चितवन ५ साउन । नारायणगढ मुग्लीङ सडक खण्ड आजदिन भर अवरुद्ध हुने सम्भावना बढेको छ । गएराती देखि परेको वर्षाका कारण राजमार्गमा खसेको पहिरो पन्छ्याउन दिनभर लाग्ने चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए । पानी परेसँगै पहिरो खस्ने क्रम जारी रहेकाले यात्रुहरुलाई बैकल्पिक सडक प्रयोग गर्न चितवन प्रशासनले आग्रह गरेको छ ।
यो सडकमा दैनिक १० हजारसम्म गाडी गुड्छन् ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार बिहान ४ बजेतिर पहिरो गएको हो । अझै पनि झरी र पहिरो नथामिएकाले सडक खुलाउन सुरु भइसकेको छैन । ‘पहिरो हटाउने औजार–उपकरण तयारी अवस्थामा छन् । तर काम सुरु गर्न गाह्रो छ । बाटो खुल्नेबारे यसै भन्न सक्ने अवस्था रहेन,’ इन्जिनियर खनालले भने ।

मुग्लिनबाट चार किलो मिटर पश्चिम नारायणगढतर्फ कालीखोलामा असार ३ गते पनि पहिरो खसेको थियो । त्यो बेला पहिरो हटाएर दुईतर्फी गाडी चलाउन ६३ घण्टा लागेको थियो । अहिलेको पहिरो त्योभन्दा पनि ठूलो रहेको सूचना अधिकारी खनालले बताए ।

नारायणगढ–मुग्लिन सडकलाई दुई लेनको बनाउन ठाउँठाउँमा पहाड काटिएको छ । सडक विस्तारको काम सकिए पनि पहाड काटिएको ठाउँमा पहिरो जाने गरेको छ । कालीखोलामा पहिरो नियन्त्रणको काम अझै पूरा भएको छैन ।



ट्रेन्डिङ