तीन सवारी साधन ठोक्किँदा असईको मृत्यु

तीन सवारी साधन ठोक्किँदा असईको मृत्यु

काठमाडौं ४ साउन। शनिबार साँझ महाराजगन्जमा तीन सवारी साधन ठोक्किँदा एक जना प्रहरी सहायक निरीक्षक (असई)को मृत्यु भएको छ।

काठमाडौं महानगरपालिका-४ सुकेधारा हिमाल डेन्टल अगाडि शनिबार साँझ ५ बजे दुर्घटना हुँदा बा ७४ प २८६१ नम्बरको मोटरसाइकल चलाइरहेका असई प्रेमराज पौडेलको मृत्यु भएको हो। सुर्खेत घर भएका उनी प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यविभाग प्रशासन शाखामा कार्यरत थिए।

सुकेधाराबाट चाबाहिलतर्फ आउँदै गरेको प्र ३ ०२ ००३ प ४१५० नम्बरको स्कुटर र सुकेधारातर्फ जाँदै गरेको बा ७४ प २८६१ नम्बरको मोटरसाइकल ठोक्किएका थिए। लगत्तै चाबहिलबाट सुकेधारातर्फ जाँदै गरेको बा १ ग २२७८ नम्बरको आर्मी हेडक्वाटर भद्रकालीको पानी ट्याङकर पनि ती दुई सवारीसँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि मोटरसाइकलमा सवार असई पौडेल गम्भीर घाइते भएका थिए। उनलाई चाबाहिलस्थित ओम अस्पतालमा लगिएको थियो।

अस्पतालले उनलाई ६ बजे मृत घोषणा गरेको थियो।



ट्रेन्डिङ