३ दिनमा पर्सामा २ वटा बलात्कारको घटना

३ दिनमा पर्सामा २ वटा बलात्कारको घटना

चितवन ३ साउन। पछिल्लो ३ दिनमा पर्सामा २ वटा बलात्कारको घटना भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार एउटा यौन दुर्व्यवहारको घटना पनि भएको छ ।

पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले महिलासँग सम्बन्धित घटनामा प्रहरीले अझ सुक्ष्म ढंगले अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउने बताइन् । ‘पर्सामा सामाजिक चेतनास्तर कमजोर देखियो ।

महिलामाथि भएका जघन्य आपराधिक घटनामा पनि राजनीतिक आस्थाका आधारमा पक्षविपक्षमा लाग्ने रहेछन्,’ पन्तले भनिन्, ‘तर कुनै पनि हालतमा प्रहरीले दोषीलाई उम्कन दिने छैन, निर्दोष नफसुन् भनेर पनि प्रहरी त्यतिकै सचेत छ ।’

पर्साको जगरनाथपुर गाउँपालिकामा १४ वर्षीया किशोरीमाथि बलात्कार भएकोे छ । बलात्कार गरेको आरोप लागेका पुरुष भने फरार छन् । स्थानीय केही राजनीतिकर्मीको संरक्षणमा उनलाई भगाएको आशंका गरिएको छ ।

त्यस्तै जिराभवानी गाउँपालिकाकी १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । गाउँकै १७ वर्षीय किशोरले उनीमाथि बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ ।

त्यस्तै, जिल्लाको बहुदरमाई नगरपालिकामा ७ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ७५ वर्षीय वृद्धलाई पक्राउ गरिएको छ ।



ट्रेन्डिङ