नेपाल सरकार र विश्व बैंकबीच ५४ अर्बको सम्झौता

नेपाल सरकार र विश्व बैंकबीच ५४ अर्बको सम्झौता

काठमाडाैं २ साउन। नेपाल सरकार र विश्व बैंकबीच ५४ अर्ब रुपैयाँ बराबरको सडक आयोजना निर्माण गर्न सम्झौतामा हस्ताक्षर भएको छ।विश्व बैङ्कले नेपाल सरकारलाई ४५ करोड अमेरीकी डलर सहायता प्रदान गरेको हो । यो सहायता यातायात पूर्वाधारको क्षमता, सुरक्षा, सुधार लगायत सीमापार व्यापारको दक्षता सुधार र रणनीतिक सडक सञ्जाल व्यवस्थापनमा प्रयोग हुनेछ । यो आयोजना नेपाल सरकार र विश्व बैङ्कबीच हालसम्म भएको सबैभन्दा उच्च मूल्यको एकल आयोजना हो।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा ४५ करोड अमेरिकी डलर (करिब ५४ अर्ब रुपैयाँ) बराबरको आर्थिक सहयोग रहेको सडक सहयोग आयोजनामा हस्ताक्षर भएको हो। अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव शिशिर कुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले उक्त आयोजनाको सम्झौतामा हस्ताक्षर गरेका हुन्।

अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले यस आयोजनाले मुख्य यातायात मार्ग र सीमापार बिन्दूहरूमार्फत सामानहरू ढुवानी गर्ने समय र लागत घटाउनुका साथै विशेषगरि कोभिड–१९ पश्चातको अवस्थामा आर्थिक वृद्धिलाई द्रुत तथा दिगो बनाउन मदत पुग्ने बताए । सुरक्षा तथा जलवायु अनुकुलनदेखि सडक व्यवस्थापन जस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा नागरिकसहितको सहभागितामा यस आयोजनामार्फत असल अभ्यासहरूको शुरुवात गर्न तयार रहेको सचिव ढुंगानाले जानकारी गराए ।

नेपालको द्रुत र दिगो विकासको एजेण्डामा सडक संजाल सम्पर्कको उच्च महत्त्व रहेको बताउँदै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा आर्थिक बृद्धि गर्न, राष्ट्रिय र क्षेत्रीय आर्थिक एकीकरणलाई तीव्रता दिन र दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न दिगो यातायात तथा दिगो, समावेशी र उच्चगुणस्तरीय पूर्वाधारहरूको आवश्यकता रहेको जानकारी दिए .।



ट्रेन्डिङ