स्याङ्जामा पहिरोमा परी गाउँ विकास समितिका पूर्वअध्यक्षसहित ३ जनाको मृत्यु

स्याङ्जामा पहिरोमा परी गाउँ विकास समितिका पूर्वअध्यक्षसहित ३ जनाको मृत्यु

स्याङजा ३० असार । स्याङ्जामा पहिरोमा परी गाउँ विकास समितिका पूर्वअध्यक्षसहित ३ जनाको मृत्यु भएको छ । कालीगण्डकी गाउँपालिका– ४, खहरेमा गएको पहिरोमा परी गाउँ विकास समितिका पूर्वअध्यक्ष इमानसिंह रानासहित ३ जनाको मृत्यु भएको हो ।

५ दिनदेखि परेको अविरल वर्षाका कारण सोही ठाउँमा गएको पहिरो हेर्न पुगेका रानासहित ४ जनालाई पहिरोले पुरेको थियो । ४ जनामध्ये वडाअध्यक्ष इमानसिंह राना, ६० वर्षीय जिमानसिंह थापा र ५० वर्षीय टीकाबहादुर थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

पहिरोमा परी बेपत्ता भएका ६० वर्षीय प्रेम चन्द पाण्डेको खोजी कार्य जारी रहेको छ । पहिरोले पुरिएकाहरूको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीलगायत परिचालन गरिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्रीले बताए ।

जीवितै उद्धार गरिएका होमनाथ पाण्डे र वीरबहादुर रानाको गल्याङस्थित रहेको सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।



ट्रेन्डिङ