निर्देशिकाविपरीत शुल्क लिएर कोरोना भाइरसको परीक्षण गरे पछि छानबिन सुरू

निर्देशिकाविपरीत शुल्क लिएर कोरोना भाइरसको परीक्षण गरे पछि छानबिन सुरू

चितवन ३० असार। उपत्यकाका तीन वटा निजी अस्पतालले निर्देशिकाविपरीत शुल्क लिएर कोरोना भाइरसको परीक्षण गरे पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन सुरू गरेको छ।

उपत्यकाका ग्राण्डी, ह्याम्स र नेपाल मेडिकल कलेजले बिरामीहरूको आफूखुसी कोरोना परीक्षण गरेर शुल्क लिने गरेको गुनासो बाहिर आएपछि मन्त्रालयले गुणस्तर मापन तथा अनुगमन महाशाखालाई छानबिन अगाडि बढाउन निर्देशन दिएको थियो।छानबिनका लागि महाशाखाले वरिष्ठ औषधि व्यवस्थापक डा. पानबहादुर क्षेत्रीको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको हो।

‘हामीले बाहिर त्यस्तो गुनासो आएपछि छानबिन समितिमार्फत् तीन वटै निजी अस्पताललाई सोधपुछ गरेका छौं। अब एक दुई दिनमै मन्त्रालयलाई प्रतिवेदन बुझाउँछौं,’ क्षेत्रीले भने।ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेले अस्पतालले परीक्षणको नाममा नाफा लिने काम नगरेको दाबी गरे।

मन्त्रालयले जारी गरेको नयाँ ‘कोभिड-१९ टेस्टिङ’ सम्बन्धी निर्देशिका अनुसार लक्षणविहीन व्यक्तिको कोरोना परीक्षण गर्न नपर्ने भनिएको छ। तर अहिले अस्पतालहरूमा आपतकालीन शल्यक्रिया गर्नुपर्ने र अन्य बिरामीको पनि परीक्षण भइरहेको छ। त्यस्ता व्यक्तिहरूबाट अस्पतालले परीक्षण गरेबापत शुल्क असुल्ने गरेको पाइएको हो।



ट्रेन्डिङ