अहिलेसम्म बाढी-पहिरोमा परी ८५ जनाको मृत्यु ,४६ जना बेपत्ता

अहिलेसम्म बाढी-पहिरोमा परी ८५ जनाको मृत्यु ,४६ जना बेपत्ता

काठमाडौं २९ असार। यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको सरकारले जानकारी दिएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा मुलुकका विभिन्न भागमा भएका बाढी र पहिरोका घटनाबाट १३४ घर पूर्णक्षति भएको गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने बताए ।

बाढी पहिरोबाट १४ जिल्लाका ११ हजार घर उच्च जोखिमा रहेकामा ७०७ घर भने तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको जानकारी दिइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले बाढी र पहिरोबाट मध्यपहाडी र डुबानबाट तराईका जिल्ला अति जोखिममा रहेको जानकारी दिए ।

बाढी पहिरोका जोखिमलाई दृष्टिगत गरी विपद् व्यवस्थापन प्रतिकार्य योजना बनाएर काम गरिरहेको जनाउँदै मन्त्रालयले विभिन्न स्थानमा राहत र उद्धार सामान व्यवस्थापन गोदाम र मानवीय सहायता केन्द्र स्थापना गरेको समितिले जनाएको छ ।

बाढी पहिरोबाट हालसम्म पर्वत, पाल्पा, बझाङ, गुल्मी, सिन्धुपाल्चोक, रुकुम, कास्की, जाजरकोट, दोलखा, सर्लाही, तनहुँ र सखुवासभा जिल्लामा जनधन को क्षति भएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिले एक अर्ब ८० करोड रकम मौज्दात रहेको सो अवसरमा जानकारी दिइयो ।



ट्रेन्डिङ