आत्महत्या र मनोरोगबारे चितवनमा चर्चा:लकडाउन अवधीमा चितवनमा आत्महत्या गर्नेको संख्या ६५

आत्महत्या र मनोरोगबारे चितवनमा चर्चा:लकडाउन अवधीमा चितवनमा आत्महत्या गर्नेको संख्या ६५

चितवन २८ असार। देशभर लकडाउन अवधीमा आत्महत्या गर्नेको संख्या अप्रत्याशित रुपमा बढेपछि लकडाउनले निम्त्याएको मनोसामाजिक असरको चर्चा सुरु गरिएको छ ।

यौनजन्य हिंसा विरुद्धको साझा अभियान चितवनले शनिबार आयोजना गरेको कोभिड १९ का समयमा बढ्दो महिला हिंसा, अपराध , आत्महत्याका कारण र रोकथामका लागि सरोकारवालाहरुबीच कानुनी तथा मनोसामाजिक परामर्श विषयक विचार गोष्ठीमा एकान्तवासले निम्त्याएको मनोरोगो बारेमा चर्चा गरिएको छ । लकडाउनको अवधीमा घरघरमा हिंसा र आत्माहत्याका घटना बढीरहेकोले यसबारे छलफल गर्न अत्यावश्यक देखिएको यौनजन्य हिंसा विरुद्धको साझा अभियान चितवनकी संयोजक मिना खरेलले बताइन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्ष नान्तीराज गुरुङ, भरतपुर अस्पतालकी मनोरोग विशेषज्ञ डाक्टर स्मिता न्यौपाने, आदर्श नारी विकास केन्द्रका निर्देशक मनोज ढकालले कार्यपत्र प्रस्तुत गरे । गोष्ठीमा भरतपुर अस्पतालकी मनोरोग विशेषज्ञ डाक्टर न्यौपानेले ९० प्रतिशत आत्महत्या गर्नेहरु मानसिक रोगी हुने बताइन् । ती मध्य ८० प्रतिशतमा अति निरासा (डिप्रेसन ) को समस्या हुने उनी बताउ“छिन् ।

चितवनमा यस आर्थिक वर्षमा आत्महत्या गर्ने १५० जना मध्य ६५ जनाले लकडाउनको समयमा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनको तत्थ्यांकले देखाएको छ । आत्महत्या गर्नेमा पुरुषको संख्या बढी छ ।
लकडाउन अवधीमा आत्महत्या गर्ने पुरुषको संख्या ३५ छ भने महिलाको संख्या २५ छ । यस अवधीमा दुई बालक र ३ बालिकाले आत्महत्या गरी ज्यान गुमाएकाछन् । आत्महत्याको प्रकृति हेर्ने हो भने झुण्डिएर मर्नेको संख्या बढी छ । लकडाउन अवधीमा झुण्डिएर मर्ने पुरुष को संख्या २८ र महिलाको संख्या १९ छ ।

चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश माननीय हेमन्त रावलले आत्महत्या, आत्महानी र आत्महत्या दुरुत्साहनसंग सम्बन्धित कानुनी व्यवस्थाबारे जानकारी गराए । जिल्ला समन्वय समितिका प्रमुख कृष्ण कुमार डल्लाकोटी प्रमुख आतिथि रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई , जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले विषयवस्तुमा आफ्ना भनाई राखे । यौनजन्य हिंसा विरुद्धको साझा अभियान चितवनकी सह संयोजक संगीता भट्टराईले सञ्चालन गरेको कार्यक्रममा जिल्लाका प्रतिनिधमुलक सरोकारवालाको उपस्थिती रहेको थियो ।



ट्रेन्डिङ