म्याग्दी पहिराे अपेडट -पहिराेका कारण मृत्युु हुनेकाे संख्या २७ पुग्याे

म्याग्दी पहिराे अपेडट -पहिराेका कारण मृत्युु हुनेकाे संख्या २७ पुग्याे

म्याग्दी २७ असार ।  म्याग्दीमा शुक्रबार परेको वर्षासँगै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । चार जना अझै हराइरहेका छन् भने १२ जना घाइतेको बेनी, पोखरा र काठमाडौंको अस्पतालमा उपचार भइरहेको छ ।

पहिरो धवलागिरी गाउँपालिकाको मराङ, कल्लेरी, राम्चे र रिखामा धनजनको क्षती गरेको छ । यस्तै मालिका गाउँपालिकाको बिमा, दुले र नुरवाङमा धेरै क्षति पुर्‍याएको छ ।

प्रहरीका अनुसार १२ जनालाई उद्दार गरिएको छ । मालिका-७ विमका पूर्णबहादुर नेपालीको ढाडमा चोट लागेको छ भने खुट्टा फ्याक्चर भएको छ । वडा नम्बर ६ की २२ वर्षीया मन्जिता श्रीपाली, जो गर्भवती पनि छिन्, उनको पनि ढाडमा समस्या देखिएको छ ।

उनीहरूसँगै ७ वर्षका सफल श्रीपाली र ताकमका ६७ वर्षका सतदेवी विटालुलाई पनि पोखरास्थित मणिपाल अस्पताल रिफर गरिएको छ ।

मालिका-६ का बालसिंह रोकालाई काठमाडौंस्थित मेडिसिटी अस्पताल लगिएको छ । सामान्य घाइते ७ जनाको भने बेनी अस्पतालमा उपचार भइरहेको छ ।

पहिरोका कारण जोखिममा परेका झण्डै ९०० जनलाई सुरक्षित स्थानमा सारिएको छ । धवलागिरी गाउँपालिकाका मात्र ५९० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

पहिरोमा परेकाहरुको उद्दारमा तीन वटै सुरक्षा निकायका साथै स्थानीय समेत खटिएका छन् भने विभिन्न संघ संस्थाको सहयोगमा पाल, ब्ल्यांकेट, कम्बल, ड्राइफुड, दाल चामल समेत वितरण गरिएको प्रहरीले जनाएको छ ।



ट्रेन्डिङ