सिन्धुपाल्चोक बाढी पहिरोमा बेपत्ता भएका एक जना जीवितै फेला,१७ जनाको खोजी जारी

सिन्धुपाल्चोक बाढी पहिरोमा बेपत्ता भएका एक जना जीवितै फेला,१७ जनाको खोजी जारी

सिन्धुपाल्चोक २७ असार। बुधबार राति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको जम्बु र भोटेकोशी गाउँपालिकाको बुलकुटेमा आएको बाढी पहिरोमा परी बेपत्ता भएकाहरुमध्ये एक जना जीवितै फेला परेका छन् भने अर्का एक जनाको शव भेटिएको छ।

बाह्रबिसे बाढीमा बेपत्ता भएका ५७ वर्षीय नाप्चे मगर जीवित भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जानकारी दिए। शनिबार बिहान मगर भोटेकोशी नदीमा जीवित भेटिएका हुन्। उनको टाउको र खुट्टामा चोट लागेको र स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको डिएसपी काफ्लेले बताए।

त्यस्तै भोटेकोशी गाउँपालिका ५ बुलकुटेमा बेपत्ता भएका भोटेकोशी गाउँपालिकाका ६ वर्षीय साहिल तामाङ मृत भेटिएका छन्। शुक्रबार बेलुकी साहिलको शव चौतारा साँगचोकगढी नगरपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा फेला परेको डिएसपी काफ्लेले बताए। शव परिवारजनलाई बुझाइएको छ।

बाह्रबिसेमा बेपत्ता १७ जनाको खोजी जारी छ। बुलकुटेमा बेपत्ता भएका तीन जना पनि अझै भेटिएका छैनन्।



ट्रेन्डिङ