कोरोना भाइरस पूर्ण रुपमा अन्त्य हुदैन:विश्व स्वास्थ्य संगठन

कोरोना भाइरस पूर्ण रुपमा अन्त्य हुदैन:विश्व स्वास्थ्य संगठन

एजेन्सी २७ असार। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस पूर्ण रुपमा अन्त्य नहुने बताएको छ।

शुक्रबार भएको अनलाइन सम्मेलनमा बोल्दै संगठनका आकस्मिक परियोजना प्रमुख डाक्टर माइक रायनले यो भाइरस पूर्ण रुपमा निर्मुल हुने नदेखिएको जानकारी दिएका हुन्।

उनले भनेका छन्, ‘अहिले जस्तो स्थिति देखिएको छ, त्यसलाई हेर्दा यो भाइरस पूर्ण रुपमा अन्त्य गर्न सकिँदैन। जहाँ बढी प्रभाव परेको छ, त्यहाँ यसलाई फैलनबाट रोक्न सक्नुपर्छ, दोस्रो लहर आउन दिनु हुँदैन र लकडाउन थप गर्न आवश्यक छ।’

पछिल्लो २४ घण्टाभित्र विश्वभर २ लाख २८ हजार १०२ जना संक्रमित भेटिएका छन्। यीमध्ये अधिकांश अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाका रहेको डब्ल्यूएचओले जनाएको छ।

एकैदिन भेटिएका संक्रमितको संख्या यो नै अहिलेसम्मकै धेरै हो। यसअघि जुलाई ४ तारिखमा एकैदिन २ लाख १२ हजार ३२६ जना संक्रमित भेटिएका थिए।

जोन्स होप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म १ करोड २४ लाख ५९ हजार ३६३ जना संक्रमित भेटिएका छन्। ५ लाख ५९ हजार ४३९ जना संक्रमितले ज्यान गुमाएका छन्।



ट्रेन्डिङ