भरतपुर अस्पतालले कोरोना सङ्क्रमितको पनि डायलासिस गर्दै

भरतपुर अस्पतालले कोरोना सङ्क्रमितको पनि डायलासिस गर्दै

चितवन २५ असार । भरतपुर अस्पतालले चितवन र आसपासका क्षेत्रका कोरोना सङ्क्रमितको उपचार गर्दै आएकोमा अहिले मिर्गौलाका बिरामीको डायलासिस समेत गर्न शुरु गरेको छ । नेपाल सरकारले कोभिड–१९ को उपचारका लागि पहिलो र दोस्रो तहका बिरामीको उपचार गर्न भरतपुर अस्पताल र यसको मातहतमा रहेको भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताललाई तोकेको छ ।

अहिले एक जना सङ्क्रमितको डायलासिस गरि रहेको भरतपुर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा.सन्तोष गुरुङले बताए। ती बिरामी हेटौंडा उपमहानगरपालिका–५ का ३३ वर्षीय पुरुष हुन् । साउदीबाट फर्किएका उनको तेस्रोपटक आज भरतपुर अस्पतालमा डायलासिस गरिएको छ । गुरुङका अनुसार यसअघि असार १८ र १९ गते उनको भरतपुर अस्पतालमा डायलासिस गरिएको थियो ।

उनले अस्पतालमा उपचार गर्न आउने सङ्क्रमितलाई देखिएका सबै खालका रोगको उपचार गर्न भरतपुर अस्पताल सक्षम भएकै कारण छिमेकी जिल्लाबाट पनि बिरामी आउने गरेको बताए ।

अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले पहिलो र दोस्रो तहका बिरामी हेर्ने जिम्मा भरतपुर अस्पताललाई दिइएको भए पनि तेस्रो तहका बिरामी पनि हेर्न बाध्य भएको बताए । जिल्लाका अन्य अस्पतालमा सङ्क्रमण देखिएर जटिल भएका बिरामी पनि भरतपुर पठाइने गरेको उनले बताए ।



ट्रेन्डिङ