नागढुंगा सुरुङमार्ग निर्माण गर्न विस्फोटक पदार्थ ल्याउन बाटो खुल्यो, निर्माण कार्यलाई तीब्रता दिने

नागढुंगा सुरुङमार्ग निर्माण गर्न विस्फोटक पदार्थ ल्याउन बाटो खुल्यो, निर्माण कार्यलाई तीब्रता दिने

काठमाडौं २५ असार । नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग निर्माणका लागि आवश्यक विस्फोटक पदार्थ आयात गर्न सम्बन्धित कम्पनीले स्वीकृति पाएको छ । रक्षा मन्त्रालयले नेपाली सेनाको राय र सल्लाहका आधारमा अघिल्लोसाता विस्फोटक पदार्थ ल्याउन दिने निर्णय गरेको हो । रक्षा मन्त्रालयका प्रवक्ता सन्तबहादुर सुनारका अनुसार नेपाली सेनाको राय र सुझावका आधारमा विस्फोटक पदार्थ ल्याउन दिने निर्णय भएको बताए ।

सडक विभागका उपमहानिर्देशक अर्जुन थापाले विस्फोटक पदार्थ ल्याउन स्वीकृति पाइसकेको र उक्त विस्फोटक पदार्थ आउन तीनमहिना समय लाग्ने बताए । “निर्माणका लागि मेसिनरी सामान आयोजनाको साइडमा छन् । विस्फोटक पदार्थ ल्याएपछि निर्माण कार्य सुरु हुन्छ,” उनले भने ।

निर्माण कम्पनीले भारतबाट विस्फोटक पदार्थ ल्याउन प्रक्रिया सुरु गरिसकेको पनि उनले बताए । विस्फोटक पदार्थ प्रयोग हुने कामबाहेक अन्य कामका लागि कामदार ल्याएर काम सुरु गर्न थालेको पनि उनले बताए । “सुरुङ निर्माणका लागि सामान्य तयारीले काम भइरहेका छन्,” उनले भने ।



ट्रेन्डिङ