स्थिर सरकारको माग गर्दै चितवनका विद्यार्थीको सडकमा प्रर्दशन

स्थिर सरकारको माग गर्दै चितवनका विद्यार्थीको सडकमा प्रर्दशन

चितवन २४ असार । स्थिर सरकारको माग गर्दै चितवनका युवा विद्यार्थीहरु सडकमा ओर्लिएका छन् । वर्तमान केपी ओली सरकार पाँच वर्ष निरन्तर चल्नुपर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । वर्तमान सरकारको पार्टीभित्रबाटै राजीनामा मागिएपछि त्यसको विरोधमा भरतपुरमा युवा, विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । असारको चर्को घामको परवाह नगरी सयौ युवाहरु बुधबार दिउँसो भरतपुरको चौबीसकोठीमा राष्ट्रिय झण्डा, नेपालको नक्सा र केपी ओलीको फोटो सहित प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले स्थिरता झल्किने नारा अंकित प्लेकार्ड बोकेका थिए ।

भरतपुरको चौबिसकोठीदेखि चितवन मेडिकल कलेजको गेटसम्म विभिन्न प्लेकार्ड बोकेर लामबद्धरुपमा प्रदर्शन गरेका थिए । प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाल बार एसोसिएसन चितवनका अध्यक्ष कमल पाठकले देशले गुमाएको भूमिसहितको नेपालको नक्सा सार्वजनिक गरे लगत्तै पार्टीभित्रबाटै सरकारको राजीनामा माग गर्नु विडम्वना भएको बताउनुभयो ।

उहाँले प्रदर्शमा सहभागी कतिपयले केपी ओलीलाई समेत नचिनेको तर स्थिर सरकार चाहिन्छ भन्ने पक्षमा सडकमा आएको बताउँदै यो वा त्यो भन्दा पनि नेपालमा स्थिर सरकार हुनुपर्नेमा जोड दिनुभयो । देशको आर्थिक विकास र समृद्धिको लागि पनि केपी ओली सरकार पाँच वर्षसम्म चल्नुपर्ने उहाँको भनाई थियो ।



ट्रेन्डिङ