सवारी पास सिफारिस दस्तुर उठाउँदै स्थानीय तह

सवारी पास सिफारिस दस्तुर उठाउँदै स्थानीय तह

चितवन २४ असार। कोरोना महामारीका समयमा हाल एक जिल्लाबाट अर्को जिल्लामा जान स्थानीय तहको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले दिने सवारी पास अनिवार्य गरिएको छ ।

स्थानीय तहको सिफारिस अनिवार्य भएको यही मौकामा चितवनको भरतपुर महानगरपालिकाका वडा कार्यालयहरुले यस्ता सिफारिसको पनि धमाधम दस्तुर उठाउन थालेका छन् ।

सवारी पास बनाउन आउनेहरुसङ्मग महानगरपालिकाको वडा नं. १०, १२, ३ लगायतका वडाहरुले सवारी पास सिफारिस दस्तुर उठाउँदै आएको भेटिएको छ ।

भरतपुर वडा नं १२ का वडाध्यक्ष नरेन्द्र कन्दङ्वाले पास सिफारिस दस्तुर उठाएको बताए । उनले अन्य सिफारिस दस्तुर सरह नै सिफारिस शुल्क लिएको उनको भनाइ छ । दैनिक १२ भन्दा बढी यस्ता सिफारिस दिने गरिएको उनले बताए ।

कन्दङ्वाले आफूले मात्रैं नभई अन्य वडाहरुले पनि शुल्क उठाएको र सो बारेमा महानगरपालिकालाई जानकारी गराएको बताए ।

भरतपुर महानगरपालिकाको प्रवक्तासमेत रहेका वडा नं. १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले पनि पास सिफारिस दस्तुर उठाइएको बताए । उनले भने, ‘हामीले आफू खुसी लिएको होइन । महानगरपालिकाको निर्णयअनुसार शुल्क लिएका हो ।’

सेवा शुल्क वापतको बिल र रसिद पनि दिने गरेको उनले बताए । ‘म राजस्व परामर्श समितिको सदस्य हो’ भण्डारीले भने, ‘महानगरको नीति तथा कार्यक्रममा नै व्यवस्था भएको कुरा हो ।’

उनले बिपतको समयमा हुने समस्या आफूहरुले बुझ्ने भन्दै कतिपय मानिसहरु आफूखुसीसमेत पैसा तिरेर सिफारिस लैजाने गरेको बताए।



ट्रेन्डिङ