मृत्यु भएको भनिएका व्यक्ति निको भएर घर फर्किए

मृत्यु भएको भनिएका व्यक्ति निको भएर घर फर्किए

चितवन २४ असार। चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन्।

एपेन्डिसाइटिसको शल्यक्रियाका लागि जेठ २७ गते चितवन मेडिकल कलेज उपचारका लागि ल्याइएको थियो। शल्यक्रिया पश्चात उनको स्वास्थ्यमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

यसैक्रममा उनको मृत्युको हल्ला चल्न थाल्यो र उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए।

भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार अस्पतालबाट घर फर्किएका हुन्।
तोडफोडबाट अस्पतालको सघन उपचारकक्षको झ्यालका सिसा फुटेका थिए। तोडफोड गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

उपचारपछि डिस्चार्ज हुने क्रममा विकले आफूले नयाँ जीवन पाएको बताए।’मेरो मृत्यु भयो भन्ने हल्ला चलाइएछ तर अहिले डिस्चार्ज भएर घर फर्कँदै छु’, उनले भने।

अस्पतालको अथक प्रयासपछि आफ्नो छोरोले नयाँ जीवन पाएको भन्दै उनका बुबा केदारले अस्पतालप्रति धन्यवाद ज्ञापन गरे।अस्पताल तोडफोडका विषयमा परिवार संलग्न नभएको उनले बताए।

‘तोडफोडमा मेरो संलग्नता थिएन’, उनले भने आफूले नबोलाए पनि मृत्यु भएको भनिएपछि इस्टमित्र र गाउँलेले अस्पताल तोडफोड गरेको उनले बताए।

उनको जेठ २९ गते मृत्यु भएको भनी अस्पतालमा तोडफोड गरिएको थियो।



ट्रेन्डिङ