तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा चार्जिङ स्टेशन निर्माण सुरु

तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा चार्जिङ स्टेशन निर्माण सुरु

तनहुँ २२ असार । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा चार्जिङ स्टेशन निर्माण सुरु भएको छ । विद्युतीय सवारी साधनको प्रवद्र्धन र पेट्रोलियम पदार्थको परनिर्भरता अन्त्य गर्ने उद्देश्यसहित डुम्रेमा चार्जिङ स्टेशन बनाउन लागिएको हो ।

सार्वजनिक निजी साझेदारीको आधारमा डुम्रेस्थित कुवेर आयल स्टोर्समा चार्जिङ स्टेशन निर्माण सुरु भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । चार्जिङ स्टेशनका लागि वन कार्यालयले ५ लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । वन तथा वातावरण मन्त्रालयको सशर्त अनुदानअन्तर्गत विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्ने र पेट्रोलियम पदार्थ खपत कम गर्दै वातावरणमा शुद्धता ल्याउने उद्देश्यसहित तनहुँमा पहिलो पटक सो निर्माण सुरु गरिएको हो ।

स्टेशनको सम्पूर्ण व्यवस्थापन कुवेर आयल स्टोर्सले गर्नेछ । चार्जिङ स्टेशनका लागि अन्य आवश्यक व्यवस्थापन बन्दीपुर गाउँपालिकाले समेत गर्ने छ । सवारी साधनको आवागमन भइरहने मुख्य शहरभित्रका मूल सडक तथा राजमार्गसँग जोडिएका व्यापारिक भवन, सुपरमार्केट, सिनेमा हल, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल तथा रेस्टुराँको पार्किङस्थल चार्जिङ स्टेशनका लागि उपयुक्त हुने देखिएको छ ।



ट्रेन्डिङ