आँपको प्रलोभनमा पारेर बलात्कार गरेलगत्तै हत्या,आरोपित भारतिय नागरिक

जनकपुर २२ असार। जनकपुरधाम उपमहानगर–२१ कुर्थाकी ११ वर्षीया कञ्चन पंजियारको बलात्कारपछि हत्या आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले आइतबार भारत, उत्तर प्रदेशका ३२ वर्षीय दिपु सिंहलाई पक्राउ गरेको हो ।
भैंसी चराउन गएकी ११ वर्षीया बालिकाको अर्धनग्न अवस्थामा गत शुक्रबार शव भेटिएको थियो । सिंहमाथि आँप दिने लोभ देखाएर बालिकाको बलात्कारपछि हत्या गरेको आरोप छ । उनी घटनास्थलनजिकैको मिश्र इन्डस्ट्रिजमा ५ महिनादेखि काम गर्दै आएका थिए ।
प्रहरीका अनुसार सिंहले बालिकाको हत्यापछि शव ब्ल्यांकेटमा बेरेर दूधमती नदी किनारको झाडीमा लुकाएको खुलेको छ । सिंहलाई जिल्ला प्रहरी कार्यालयले सोमबार सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार बुधबार दिउँसो बालिकालाई आँपको प्रलोभनमा पारेर बलात्कार गरेलगत्तै हत्या भएको हो। बालिकाको शव पोस्टमार्टम, घटनास्थलको चहलपहल, सीसीटीभी क्यामेराको फुटेज र आरोपितको हर्कतका आधारमा अनुसन्धानपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारि गरायो। घटनामा २० जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर अनुसन्धानपछि छोडिएको प्रहरीले जनाएको छ ।