ओलीले देउवासङ्ग सहयोग मागेको खुलासा

ओलीले देउवासङ्ग सहयोग मागेको खुलासा

काठमाडौं २१ असार। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामाको विषयले उग्र रुप लिइरहेको बेला प्रधानमन्त्रिले सत्ता सहकार्यका लागि काँग्रेस सभापति शेरबहादुर देउवाको साथ मागेको खुलेको छ।

असार १७ गते ओलि आफैले देउवासङ्ग भेट गरेर काङ्ग्रेसको साथ मागेका छन्। त्यस्तै आज(आइतबार) पनि आफ्नो निकटस्थ नेतामार्फत देउवासँग भेट गरेर काँग्रेसको साथ मागेका हुन् । पार्टीभित्र ओलीको राजीनामाको माग बढिरहेका बेला ओलीले काँग्रेससँग छलफल अघि बढाएको खुलेको हो ।

आज(आइतबार)को काँग्रेस केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीसँगको भेट र सत्ता सहकार्यबारे समाचारहरुमा आएको विषयबारे प्रश्न गरेपनि देउवाले ओलीसँग भएको भेटवारे ब्रिफिङ गरेका हुन् ।

नेकपाभित्रको आन्तरिक विवाद र काँग्रेससँग भएको छलफलबारे देउवाले पौडेलको जिज्ञासाअनुसार ब्रिफिङ थालेका थिए ।

देउवाका अनुसार ओलिसङ्ग भएको बैठकमा ओलीले पार्टीभित्र समस्या रहेको भन्दै यो अवस्थामा आफूलाई सघाउन देउवासँग आग्रह गरेका थिए । देउवाले भने ‘कुराकानीका क्रममा प्रधानमन्त्रीले आफ्नो पार्टीको समस्या पनि राख्नुभयो । तपाईँले साथ दिनुपर्छ पनि भन्नुभएको हो । मैले पार्टीमा छलफल गर्छु भनेको हुँ । तर, गणतन्त्रलाई नै खतरामा पार्नेगरी जानुभयो भने त्यो स्वीकार्य हुँदैन भनेर मैले स्पष्ट भनेको छु’।

आज पनि नेकपा नेता सुवासचन्द्र नेम्वाङसँग आफ्नो छलफल भएको भन्दै उनले सो छलफलमा पनि नेम्वाङले पार्टीभित्र समस्या देखिएकाले सहयोग मागेको जानकारी गराए । ओलीको निर्देशन अनुसार नेम्वाङले नेता रिजाललाई सम्पर्क गरेर देउवासँग छलफलको चाँजापाँचो मिलेको थियो ।

रिजालसमेत सहभागी सो बैठकमा एमसीसी, नागरिकता विधेयकलगायतको विषयमा पनि कुरा भएको देउवाको भनाइ थियो । एमसीसी पारित हुनुपर्छ भनेर काँग्रेसले निर्णय गरिसकेकाले यसमा अब सरकारले पहल लिनुपर्ने आफूले जवाफ दिएको देउवाको भनाइ थियो ।

बैठकमा भएको छलफल उदृत गर्दै देउवाले पार्टीलाई ब्रिफिङ गर्दै भनेका थिए, ‘नेम्वाङजीले पार्टीका नेताहरुले राष्ट्रपतिमाथि नै षड्यन्त्र हुन खोजेको छ भन्दै सहयोग माग्नु भएको थियो । मैले पनि ठट्टाको शैलीमा ओलीले गएको चुनावमा देउवा काँग्रेसबाट अन्तिम प्रधानमन्त्री भन्नुभएको थियो । ज्योतिषले ७ चोटी प्रधानमन्त्री बन्नुहुन्छ भन्नुभएको थियो । अहिले यस्तो कुरा गर्नुहुन्छ भनेँ ।’

सो क्रममा सत्ता सहकार्यको प्रस्ताव नेम्वाङबाट आएको जानकारी गराउँदै देउवाले यो विषयमा आफूले केही जवाफ नदिएको बताए । नेम्वाङले केन्द्रीय समिति बैठकमा संसद स्थगितको विषयलाई नचर्काइदिन समेत आफूसँग आग्रह गरेको देउवाको भनाइ थियो ।

 



ट्रेन्डिङ