सबै वडामा स्वास्थ्यचौकी बनाउँदै राप्ती नगरपालिका

सबै वडामा स्वास्थ्यचौकी बनाउँदै राप्ती नगरपालिका

राप्ती २१ असार । पूर्वी चितवनको राप्ती नगरपालिकाले सबै वडामा स्वास्थ्यचौकी निर्माण सुरु गरेको छ । नगरपालिकाको एक वडा एक स्वास्थ्यचौकी बनाउने नीति तथा कार्यक्रमअन्तर्गत स्वास्थ्यचौकी नभएका ७ वटा वडामा निर्माणका लागि काम सुरु गरिएको हो ।

नगरपालिका प्रमुख प्रभा बरालका अनुसार वडा नं १, ३, ४, ६, ७, ८ र ११ मा स्वास्थ्यचौकी निर्माणको कामलाई तीव्र बनाइएको हो । वडा नं ३ र ७ मा स्वास्थ्यचौकी शिलान्यासको भइसकेको र अन्य वडामा दिन जुराएर शिलान्यास गरिने उनले बताइन् ।  ६४ हजार जनसङ्ख्या रहेको सो नगरपालिकामा १३ वटा वडा छन् ।

स्वास्थ्यचौकी निर्माणका लागि जनसङ्ख्याका आधारमा बजेट विनियोजन गरिएको छ । जनसङ्ख्या ७ हजारभन्दा बढी भएको वडामा ६४ लाख र थोरै भएका ठाउँमा ३४ लाख रुपैयाँको लागतमा स्वास्थ्यचौकी निर्माण गरिने बताइएको छ । सो नगरपालिकाको वडा नं ५ भण्डारामा १५ श्ययाको अस्पताल र वडा नं १० मा सामुदायिक स्वास्थ्य एकाइ छन् । मकवानपुरको मनहरि गाउँपालिकासँग सीमा जोडिएको सो नगरपालिकाका ४ वटा पहाडमा पर्छन् । ती वडामध्ये २ वटामा चेपाङको बाहुल्य छ ।



ट्रेन्डिङ