दुई सय किलाे गाँजासहित तीनजना पक्राउ
हेटौंडा २० असार । मकवानपुर प्रहरीले झण्डै २ सय किलो लागुऔषध गाँजासहित जिल्लाका फरक–फरक स्थानबाट ३ जनालाई पक्राउ परेको छ ।
हेटौंडा–१५ रातोमाटेबाट इलाका प्रहरी कार्यालय पशुपतिनगरले तेल ट्याङकरमा लुकाएर ल्याएको एक सय २८ किलो गाँजासहित २ जनालाई शनिबार बिहान पक्राउ गरेको छ । ना ६ ख ६९७४ नम्बरको तेल ट्याङकरको तेल राख्ने चेम्बरमा लुकाएर ल्याएको गाँजासहित जितपुर सिमरा उपमहानगरपालिकाका–२३ बस्ने २७ वर्षीय एमामुल हक देवान र सोही स्थानका २४ वर्षीय मोहरवान अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले गोप्य सूचनाको आधारमा हेटौँडाबाट बीरगञ्जतर्फ गइरहेको ट्याङकरलाई रातोमोटस्थित पूर्व–पश्चिम लोकमार्गस्थित सडकमै रोकेर जाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको प्रहरी निरीक्षक देवराज काफ्लेले जानकारी दिए ।
यसैगरी इलाका प्रहरी कार्यालय मनहरीले शनिबार बिहान साढे १२ बजे ७० किलो लागुऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ । मनहरी गाउँपालिका–६ लोथर खोलाबाट प्रहरीले चितवन राप्ति नगरपालिका–११ बस्ने ३५ वर्षीय शिव तामाङलाई पक्राउ गरेको हो । प्लाष्टिकको बोरामा गाँजा बोकेका उनले प्रहरीलाई देखेपछि भागेका थिए ।