पहिरो अपडेटः चार जनाको शव भेटियो, ३ जना अझै बेपत्ता, उद्धार गर्न गएको सेनाको गाडी दुर्घटनामा

पहिरो अपडेटः चार जनाको शव भेटियो, ३ जना अझै बेपत्ता, उद्धार गर्न गएको सेनाको गाडी दुर्घटनामा

बझाङ २० असार । केदारस्युँ गाउँपालिकाको मल्लेसीमा गएको पहिरोमा परेर ४ जनाको मृत्यु भएको छ । शनिबार बिहान गएको पहिरोमा बेपत्ता भएकामध्ये ४ जनाको शव भेटिएको केदारस्युँ गाउँपालिका–८ का वडाध्यक्ष गणेश बोहराले जानकारी दिए । अझै ३ जना बेपत्ता भएको र उनीहरुको खोजीकार्य भइरहेको उनले बताए । अन्य बेपत्ताहरु भने सम्पर्कमा आएको प्रहरीले बताएको छ ।

छिमेकी दुर्गाथली गाउँपालिकाको बिसौनाबाट गएको प्रहरी टोली र स्थानीयहरुले पहिरोमा पुरिएको अवस्थामा चार जनाको शव निकालेका हुन् । पहिरोमा पुरिएका ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षीया छोरा प्रयाग जेठाराको शव भेटिएको केदारस्युँ ८, का वडा अध्यक्ष गणेश बोहराले बताए । राममतीकी १६ वर्षकी छोरी अस्मिता जेठारा अफै पहिरोमा बेपत्ता छिन । यस्तै पहिरोमा पुरिएका ८० वर्षका दले जेठारा र १३ वर्षीया सन्तु जेठाराको पनि शव फेला परेको बोहराले जानकारी दिएका छन् । राममती जेठाराकी छोरी अस्मिता, स्थानीय १५ वर्षीया शान्ति जेठारा र २२ वर्षीय गिरी जेठारा पनि पहिरोमा बेपत्ता भएका छन् ।

बेपत्ताको खोजीकार्य जारी रहेको र जिल्लाबाट आएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार कार्यमा सक्रिय रहेको बोहराले बताए । पहिरोले बाटो बगाएका कारण सुरक्षाकर्मीहरुको उद्धार टोली ढिलो गरी त्यहाँ पुगेको हो । उद्धारका लागि हिँडेको नेपाली सेनाको टोली अझै घटनास्थल पुग्न सकिरहेको छ्रैन ।

कालंगा जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएको नेपाली सेनाको दुई वटा टोली फरक फरक बाटो भएर घटनास्थलतर्फ गइरहेको मेजर तारा खड्काले बताए । सेनाको एउटा टोली केदारस्युँको जुलीगाडबाट र अर्को टोली बुङ्गल नगरपालिकाको काँडाचौरबाट घटनास्थलतर्फ गइरहेको र केही बेरमै त्यहाँ पुग्ने खड्काले बताए । शनिबार बिहान गएको पहिरोले मल्लेसीका १८ वटा घर बगाएको छ भने दुई वटा घरमा क्षति पुगेको छ ।

यसैबीच बझाङको केदारस्युँ गाउँपालिका–८को मल्लेसिमा गएको पहिरोमा पुरिएकाको उद्धार गर्न गएको सेनाको गाडी नै दुर्घटनामा परेको छ । घटनास्थल नजिकै पुगेको सेनाको गाडी दुर्घटनामा परेको हो । उक्त गाडीमा सवार ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक गणेश बमले जानकारी दिए ।

पहिरोमा पुरिएकाहरूको उद्धार जारी रहेको छ ।



ट्रेन्डिङ