कुनै पनि हालतमा पार्टी फुट्दैन:जनार्दन शर्मा

कुनै पनि हालतमा पार्टी फुट्दैन:जनार्दन शर्मा

काठमाडौँ २० असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ ले कुनै पनि हालतमा नेकपा पार्टी नफुट्ने दावी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘म दृढतापूर्वक भन्न चाहन्छु पार्टी फुट्दैन र फुटाउन दिइँदैन ।’

गत आइतबार प्रधानमन्त्री ओलीले दिएको विवादास्पद अभिव्यक्तिका कारण पछिल्लो समय नेकपाभित्र विवाद उग्र बनेको छ । ओलीले आफ्नो सरकार ढाल्न भारत र पार्टीकै नेताहरुको चलखेल बढेको अभिव्यक्ति दिएपछि जारी स्थायी समिति बैठकमा समेत ओलीको चर्को आलोचना भएको थियो । बैठकमा ओलीको प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा माग भएको छ ।

आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएपछि शर्माले फेसबुकमार्फत् धारणा सार्वजनिक गरेका हुन्।नेकपाभित्रको विवादलाई सीमित नेताहरूको समस्याका रूपमा मात्र नहेरौं। यो हाम्रो राष्ट्र, देश र कम्युनिष्ट आन्दोलनको समस्याको रूपमा देखिएको छ,’ शर्माले भनेका छन्, ‘दुई नेताले के गर्लान् भनेर अब हेरेर बस्नु हुँदैन।’

पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका हामी आम नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको शर्माको बुझाइ छ । दुई नेताले के गर्लान भनेर अब हेरेर बस्नु नहुने उनको भनाइ छ ।

‘पार्टीलाई विचार, विधि र पद्धतिबाट विचलित गरी व्यक्तिका आ–आफ्ना स्वार्थपुर्तिको हतियार बन्न दिन नहुने शर्माले बताए । ‘कार्यकर्ता र जनताको आग्रह अस्वीकार गर्ने अधिकार कुनै नेता विशेषलाई छैन,’ शर्माले लेखेका छन् ।

 



ट्रेन्डिङ