खैरहनीमा विस्तार गरिँदै बाख्रापालन, पकेट प्याकेज कार्यक्रमको अनुगमन

खैरहनीमा विस्तार गरिँदै बाख्रापालन, पकेट प्याकेज कार्यक्रमको अनुगमन

चितवन १९ असार । विपन्न समुदायको आयआर्जन वृद्धीका लागि खैरहनी नगरपालिकाले संचालन गरेको बाख्रा पकेट प्याकेज कार्यक्रमको अनुगमन गरिएको छ । नगरपालिकाले विगत तीन वर्षदेखि यो कार्यक्रम संचालन गरिरहेको छ । चालु आर्थिक वर्षमा नगरपालिकाको वडा नम्वर १ नयाँ वस्ती, खैरहनी ३ को सिद्धीपुर र खैरहनी ४ को लेकसाईडमा बाख्रा पकेट प्याकेज सञ्चालन गरेको छ । सोही तीन क्षेत्रमा संचालित कार्यक्रमको शुक्रबार नगर प्रमुख लालमणि चौधरीको नेतृत्वमा अनुगमन गरिएको थियो ।

नगरपालिकाको पशु सेवा शाखाले विपन्न समुदायका २० परिवारको एक एक समुह बनाएर कार्यक्रम संचालन गरेको छ । यो कार्यक्रममा प्रति परिवार बाख्रा खरिदका लागि ८ हजार रुपैयाँ र गोठ निर्माणका लागि ४ हजार रुपैयाँ अनुदान दिइएको छ । बाख्रा खरिद गर्नुका साथै गोठ निर्माण गरेपछि मात्रै नगरपालिकाले अनुगमन गरेर अनुदान दिने गरेको पशु सेवा शाखा प्रमुख रुद्र कुमार श्रेष्ठले जानकारी दिए ।

अघिल्लो दुई वर्षमा नगरपालिकाले १२० परिवारलाई यो कार्यक्रममा समावेश गरिसकेको छ । चालु आर्थिक वर्षको कार्यक्रमको अनुगमनका क्रममा केही परिवारले गोठ निर्माणमा सुधार गर्नु पर्ने देखिएको पशु सेवा शाखा प्रमुख श्रेष्ठले बताए । खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले बाख्रा पकेट प्याकेज कार्यक्रम संचालन पछि बाख्रापालनतर्फ आकर्षण बढ्नुका साथै आयआर्जनमा समेत टेवा पुग्दै आएको बताए ।



ट्रेन्डिङ