जेठ २ गतेको सहमति नै सहमतिको अन्तिम विकल्प, आलोपालो’मै फर्कने प्रचण्डको अन्तिम तयारी

जेठ २ गतेको सहमति नै सहमतिको अन्तिम विकल्प, आलोपालो’मै फर्कने प्रचण्डको अन्तिम तयारी

काठमाडौं १९ असार । जेठ १० गते, स्थायी कमिटीको पाँचौं बैठकको आरम्भमा बोल्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालोको समझदारी प्रतिस्थापन गरेर गल्ती गरेको निष्कर्षका निकालेका थिए । पार्टीभित्रको शक्ति सन्तुलनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच मनमुटाव चर्किएपछि मङ्सिर ४ गतेको सचिवालय बैठकले २०७५ जेठ २ गते दुई अध्यक्षबीच भएको आलोपालो सरकार चलाउने समझदारी खारेज गरेको थियो । बैठकले दुई अध्यक्षको कार्यविभाजन गर्दै ओलीलाई पाँचै वर्ष सरकार सञ्चालन गर्न दिने र अर्का अध्यक्ष प्रचण्डलाई आम रूपमा पार्टी सञ्चालनको जिम्मासहित कार्यकारी अध्यक्षको भूमिका प्रदान गर्ने निर्णय गरेको थियो ।

तर, नेकपाभित्र त्यो समझदारी पालना भएको थिएन । आठ महिनाको अन्तरालमा न प्रचण्डले बैठक आह्वान गर्न पाए । न निष्कर्ष र निर्देशन जारी गर्न नै पाए । कार्यकारीको पगरी आफूलाई र जिम्मेवारी ओलीको हातबाट फुत्काउन गाह्रो परेपछि प्रचण्डले बैठकमा चरम असन्तुष्टि पोखेका थिए । र, कतै पार्टी एकता गरेर गल्ती त गरिनँ । बरु साथीहरूको सल्लाहमुताविक गठबन्धनमात्रै पो ठीक थियो कि भन्ने निष्कर्षमा पुगेको बताएका थिए ।

बिहीबार निवासमा पुगेका ओलीनिकट नेताहरूलाई पनि यही निष्कर्ष दोहोर्‍याए– पार्टी एकताको अढाइ वर्ष मैले अत्यन्तै अपमानित महसुस गर्नुपर्‍यो । आलोपालोको सहमति त्यागेर गल्ती गरेँ कि । त्यसो त उनीनिकट नेताहरूको भेटैपिच्छे उनले यही वाक्य दोहोर्‍याउने गरेका छन्– म ललिचो बन्दा ओलीमा दम्भ र अहङ्कार बढ्यो ।

आफूले ‘त्याग’ गर्दा पनि ओलीको कार्यशैली नबदलिएपछि प्रचण्ड पार्टी एकताताका भएको ५ बुँदे समझदारीमा फर्किएका छन् । र, त्यही विन्दुबाट सहमतिको खोजी गर्ने तयारीमा जुटेका छन् । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच तीन घण्टा लामो कुराकानी भयो । नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार दुई अध्यक्षबीचको तिक्तता, आरोपप्रत्यारोप, क्षेप्यास्त्र हानाहान अब सहमतिको बाटोतिर अघि बढेको छ । कहीँ न कहीँ मिलन विन्दु फेला पर्नेछ ।

शुक्रबारको बैठकमा दुई अध्यक्ष मात्रै वार्तामा बसेनन् । उनीहरूले जेठ २ गतेको सहमतिको साक्षी पनि खोजे । आजको वार्तामा पूर्वएमालेका तर्फबाट साक्षी बसेका विष्णु पौडेल र पूर्वमाओवादी केन्द्रका तर्फबाट साक्षी बसेका जनार्दन शर्मा पनि छलफलमा सहभागी थिए । आजको बैठकले कुनै निष्कर्ष निकाल्न सकेन । मन माझामाझ मात्रै भयो । तथापि, आजको बैठकले नेकपाको कोर्स करेक्सन अब जेठ २ गतेको समझदारीतिर अघि बढेको सङ्केत गरेको नेताहरू बताउँछन् ।

“हिजो जुन विन्दुबाट पार्टी एकताको सुरुआत भयो । फर्किएर त्यही विन्दुमा जाऔं र एकता जोगाऔं भन्ने छ,” स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले बाह्रखरीसँग भने, “हामीले यही प्रयत्न गरिरहेका छौं ।”



ट्रेन्डिङ