धनुषामा २ वडाका स्थानीयबीच झडप, एकजनाको कान काटियो

धनुषामा २ वडाका स्थानीयबीच झडप, एकजनाको कान काटियो

धनुषा १९ असार । बर्थिङ सेन्टर निर्माणको विषयमा धनुषाको विदेह नगरपालिकामा दुई वडाका स्थानीयबीच झडप भएपछि परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ । वडा नम्बर २ र ३ अर्थात दुहबी र गोबराहीका स्थानीयबीच झडप हुँदा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

बर्थिङ सेन्टर बनाउने विषयमा उनीहरूबीच आपसमा दुई दिनदेखि विवाद हुँदै आएको र आज झडप नै भएको प्रहरी उपरीक्षक बस्नेतले बताए । एक पक्षले विद्यालयको जग्गामा बनाउँदा सबै पक्षबीच विमर्श गर्नुपर्ने भनाइ स्थानीयको छ ।

दुई पक्षबीचको झडपमा आधा दर्जन व्यक्ति घाइते भएका छन् भने एक जनाको कानसमेत काटिएको प्रहरीले जनाएको छ । झडपका क्रममा घाइते भएकाहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

भीडलाई तितरबितर बनाउन त्यहाँ प्रहरी पुगेपछि दुहबी सीमा प्रहरी चौकीमा समेत स्थानीयले ढुंगामुढा गरेको प्रहरीले जनाएको छ ।



ट्रेन्डिङ