दाहाल-नेपाल समूहको आरोपः ओलीले पार्टी फुटाईसके, घोषणा हुनमात्रै बाँकी छ

दाहाल-नेपाल समूहको आरोपः ओलीले पार्टी फुटाईसके, घोषणा हुनमात्रै बाँकी छ

काठमाडौँ १८ असार । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूले दुवै पद नछाड्ने अडान दोहोर्‍याएका छन् । बिहीबार अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसँगको भेटमा ओलीले दुवै पद नछाड्ने र अन्य कुरा भए गर्न तयार रहेको बताएका हुन् ।

‘अध्यक्ष र प्रधानमन्त्रीको कुरा गर्ने भए कुरा गर्नु परेन, म छोड्दिनँ । त्योबाहेक अरु कुरा गर्नुछ भने कुरा गरौं म तयारै छु,’ ओलीले दाहाल र महासचिव पौडेलसँग भनेको भनाई उद्धत गर्दै नेकपा सचिवालयका एक नेताले बताए । दाहाल नेपाल समूहले दुवै पदबाट राजीनामा दिन माग गरेको छ ।

मन्त्रिपरिषद् बैठकबाट संघीय संसदको अधिवेशन अन्त्य गरेपछि अध्यक्ष दाहाल र महासचिव विष्णु पौडेललाई ओलीसँग कुरा गर्न सचिवालयका अरु नेताहरुले सुझाएका थिए । ‘बिहान दाहालसँग मन्त्रिपरिषद्को बैठक स्थगित गर्ने, संघीय संसद बैठक स्थगित नगर्ने भन्ने समझदारी भएको रहेछ । त्यो समझदारीविपरित ओलीले त्यस्तो निर्णय गरेपछि हामीले कुरा गर्न पठाएका थियौं । तर, अध्यक्ष दाहाल र महासचिव पौडेलसँग ओलीले दुवै नछाड्ने अडान लिएर बसेका रहेछन्,’ ती नेताले भने ।

संसद् अधिवेशन अन्त्य गरेर ओलीले पहिला जस्तो पार्टी फुटाउन सहज हुने अध्यादेश ल्याउने र पार्टी फुटाउने दिशामा जान लागेको देखिसकेपछि नेताहरुले दाहाललाई राष्ट्रपतिसँग पनि छलफलका लागि पठाएका थिए । ‘यसअघि जुन अध्यादेश ल्याउँदा सारा जनताले विरोध गरे त्यस्तै अध्यादेश ल्याउँदा राष्ट्रपतिले त सोच्नु पर्छ नि भन्न दाहाल शितलनिवास पुग्नु भएको हो,’ ती नेताले भने ।

ओलीको यस्तो भनाईपछि दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाईसकेको निष्कर्ष निकालेको छ । यद्यपि औपचारिक घोषणा नगरेकाले संवाद गर्नुपर्ने यो समूहको भनाई छ । बिहिबार बालुवाटारमा जारी छैटौं दिनको स्थायी कमिटी बैठक केहिबेर स्थगित गरेर अध्यक्ष दाहालले प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेका थिए ।

‘पार्टी त केपी ओलीले फुटाइसक्नु भयो । तैपनि औपचारिक घोषणा नगरेको कारण हामीले इमान्दारीपूर्वक सम्पूर्ण प्रयत्न गर्नुपर्छ, गरौं,’प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेर फर्किएपछि स्थायी कमिटी बैठकमा दाहालले सुनाएका थिए।



ट्रेन्डिङ