राजीनामा होइन, पेलेर जाने मुडमा प्रधानमन्त्री ओली

राजीनामा होइन, पेलेर जाने मुडमा प्रधानमन्त्री ओली

काठमाडौं, १७ असार । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली परामर्शमा व्यस्त भएका छन् । पार्टीभित्रै राजीनामा माग भएपछि तनावमा रहेका प्रधानमन्त्री बुधबार बिहानैदेखि आफ्ना निटकका मन्त्री र सांसदहरुसँग छलफलमा जुटेका हुन् ।
मंगलबार नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको चर्को आलोचना मात्र भएन, उनको राजीनामा नै मागिएको थियो । नेकपाका अर्का पुष्पकलम दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललगायतका नेताहरु प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने अढानमा पुगेका छन् । यसअघि उनीहरुले प्रधानमन्त्री वा अध्यक्ष पदमध्ये एक छाड्न दवाव दिँदै आएपनि मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटि बैठकमा चर्काचर्की सँगै प्रधानमन्त्री पदबाटै राजीनामा दिनुपर्ने बताएका थिए ।
त्यसपछि तनावमा परेको प्रधानमन्त्री ओली बुधबार बिहानबाटै सक्रिय भएका छन् । उनले सरकारका मन्त्रीहरु र आफू निकटका स्थायी कमिटी सदस्यहरुलाई परामर्शका लागि बुधबार बालुवाटार बोलाएका छन् । सरकारको भूमिका, पार्टीभित्रको कलह र सम्भावित कदमबारे प्रधानमन्त्री ओलीले उनीहरुसँग परामर्श गरेको बताइएको छ ।
बालुवाटार परामर्शमा स्थायी समितिमा रहेका मुख्यमन्त्रीहरु शंकर पोखरेल र पृथ्वी गुरुङ, संसदीय दलका उपनेता सुवास नेम्वाङ, मन्त्रीहरु रामबहादुर थापा बादल, योगेश भट्टराई, घनश्याम भुसाललगायत रहेका छन् ।
पार्टीभित्रैबाट आफू घेराबन्दीमा परेको बताउँदै आएका ओलीको सम्भावित कदम के होला भनेर अनेक अनुमान र आशंका गरिएको छ । स्थायी समितिमा मंगलबार चर्को आलोचना र दबाब खेपेका ओलीले मंगलबार अपरान्ह मुख्यसचिव लोकदर्शन रेग्मीलाई राष्ट्रपतिकहाँ पठाएका थिए । त्यपछि रेग्मीलाई बालुवाटार बोलाएर ओलीले छलफल गरेका थिए । मंगलबार बैठक सुरू हुनुअघि पनि प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्न शितल निवास पुगेका थिए ।
स्रोतका अनुसार प्रधानमन्त्री राजीनामा दिने मुडमा छैनन् । बरु पेलेर अघि बढ्ने रणनीति तयारीमा छन् । जस्तोसुकै परिस्थिति आएपनि सामना गर्ने मनस्थितिमा ओली रहेको उनी निकट एक नेताको भनाइ छ । उनले भने, ‘प्रधानमन्त्री ओली राजीनामा दिने मुडमा छैनन् । सकेसम्म मिलेर अघि बढ्ने मुडमा उहाँ हुनुहुन्छ ।’
स्रोतका अनुसार प्रधानमन्त्री ओली आफ्ना निकटका मन्त्री र स्थायी समिति सदस्यहरुसँग संसद अधिवेशन अन्त्य गर्ने, संकटकाल लगाउने, मन्त्रिपरिषद् फेरबदल गरेर आन्तरिक झगडा मिलाउनेलगायत दल विभाजनलाई खुकुलो पार्ने अध्यादेशलाई ब्यूँताउनेजस्ता विकल्पबारे छलफल गरिरहेका छन् ।
पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा ४० प्रतिशत मत पु¥याएमा पार्टी विभाजन गर्न सकिने खुकुलो व्यवस्थासहितको अध्यादेश गत वैशाख ८ गते राष्ट्रपतिबाट जारी भएपनि चौतर्फी आलोचना भएपछि फिर्ता गरिएको थियो ।
यता बालुवाटारमा प्रधानमन्त्री ओली परामर्शमा व्यस्त हुँदाअर्का आध्यक्ष प्रचण्ड र नेता नेपाल पनि आन्तरिक छलफलमा व्यस्त रहेका छन् । प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउण्डेसनले आइतबार गरेको कार्यक्रममा भारतले आफूलाई हटाउन होटल र दूतावासमा चलखेल गरिरहेको अभिव्यक्ति दिएका थिए । बैठकमा सहभागी एक स्थायी समिति सदस्यका अनुसार ओलीको अभिव्यक्तिप्रति नेताहरुले आक्रोश व्यक्त गरेका छन् ।



ट्रेन्डिङ