कालिकाको पदमपुरमा पानी उद्योग स्थापना, २० जनाले रोजगारी पाए

कालिकाको पदमपुरमा पानी उद्योग स्थापना, २० जनाले रोजगारी पाए

कालिका १६ असार । पूर्वी चितवनको कालिका नगरपालिकाको वडा नं. ४ ( पदमपुर ) मा पानीको उद्योग स्थापना भएको छ । मनासुल वेभरेज प्रा.लीले उद्योग स्थापना गरेर मनासुल नाम दिएर पिउनेपानी उत्पादन गर्न थालेको हो ।
यो कालिका नगरपालिकाकै पहिलो र एकमात्रै पानी उद्योग हो ।

३ कट्ठा ७ धुर जग्गामा स्थापना भएको उद्योगले पानी उत्पादन गर्न सुरु गरिसकेको छ । ३ सय १५ फिट गहिराईबाट पानी निकालेर प्रशोधन गरी पिउन योग्य बनाइन्छ ।  उद्योगले हाल हजार एमएलको चारपाटे बोतल र २ सय ५० एमलको सानो बोतल सँगै जार समेत निकालेर विक्री वितरण सुरु गरेको छ । यहाँ उत्पादन भएको पानी, नगर क्षेत्रभित्रका बजार सँगै चितवनका मुख्य मुख्य बजार, पोखरा, बुटवल सम्म लैजाने योजना छ ।

अहिले उद्योगमा १० जना बजार व्यवस्थापक, ३ जना चालक र उद्योग भित्र कामगर्ने गरी २० जनालाई रोजगारी दिएको उद्योगका संचालक हरिवहादुर आलेमगरले जानकारी दिए । जग्गा बाहेक झण्डै डेढकरोडको लगानीमा उद्योग स्थापना गरिएको हो । उद्योगमा आधुनिक प्रविधिहरु प्रयोग भएका छन् । संचालक आले मगरका अनुसार उद्योगमा प्रयोग भएका सबै मेसिनहरु चाइनाबाट ल्याइएको हो । हाल कम्पनीले पानी उत्पादन गरेपनि पानी भर्न प्रयोग गरिने वोतल भने अरुठाउँबाटै गरिद गरेर प्रयोगमा ल्याउने काम भएको छ । निकट भविष्यमै आफ्नै कम्पनीले पानीको बोतल समेत उत्पादन गर्ने योजना रहेको संचालक आलेमगरले बताए ।

हरिवहादुर आलेमगर एकजना कृषक हुन । इच्छा कामना गाउँपालिकामा साढे ३ वर्ष अघिदेखि व्यवसायिक रुपमा बंगुरपालन गर्दै आएका छन् । एभरेष्ट कृषि फार्मका संचालक समेत रहेका आलेमगरले पानीमा राम्रो सम्भावना देखेकाले कालिका नगरपालिकाको पदमपुरमा पानी उद्योग स्थापना गरेको बताए । उता इच्छाकामना स्थित फार्ममा ५ सय ५० वटा बंगुर समेत पालेका छन् ।



ट्रेन्डिङ