हाइप्राेफाइल भएका वन्यजन्तु तस्कर पक्राउ

हाइप्राेफाइल भएका वन्यजन्तु तस्कर पक्राउ

काठमाडौँ १३ असार । फरार भएको करिब १६ वर्षपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विदेश घुम्दै नेपालका वन्यजन्तु तस्करी गर्ने एक जना हाई प्रोफाइल वन्यजन्तु तस्करलाई पक्राउ गरेको छ ।

२०६२ को भदौ १६ गते रसुवाको साविक स्याफ्रु गाविस ९ मा बाघ, चितुवा र ओंतसहितका वन्यजन्तुको ठूलो संख्यामा अंग बरामद गरिएको थियो । ती वन्यजन्तु ओसार पसार र बेचविखनमा संलग्‍न भएको भनिएका तर फरार सूचीमा रहेका कुन्जोक लामा भन्ने कुन्जोक छिरिङ तामाङलाई सीआईबीले असार ११ गते काठमाडौंमा समात्‍न सफल भएको हो ।

वन्यजन्तुका विभिन्‍न ठूला अपराधमा संलग्‍न भएका भनिएका उनी सीआईबी र इन्टरपोलकोसमते सर्वाधिक खोजीको सूचीमा थिए । नागरिकता र बोलाइने नाम फरक फरक भएको र उनको नामसँग मिल्ने धेरै व्यक्ति भएकाले प्रहरीले उनलाई समात्न सकेको थिएन । हुम्लाको नाम्खा गाउँपालिका ६ (साविक लिमि गाविस ४) का स्थायी बासिन्दा उनको अस्थायी ठेगाना काठमाडौं, बौद्ध हो ।

काठमाडौं महानगरपालिका ६ सिमलटारबाट पक्राउ गरिएका उनलाई सीआईबीले शुक्रबार लामटाङ राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ । अहिले उनी धुन्चेस्थित निकुञ्ज कार्यालयको थुनुवा कक्षमा छन् । निकुञ्जकी प्रमुख संरक्षण अधिकृत (चीफ वार्डेन) शुस्मा रानाले सरकारी वकिलसँग राय लिएर तामाङलाई कारबाहीका लागि आइतबार जिल्ला अदालतमा पेश गर्ने तयारी भएको जानकारी दिइन् ।

२०६२ को भदौ १६ मा सुराकीको सूचनाका आधारमा निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले स्याफ्रुबेसीबाट ५ वटा पाटेबाघको छाला, ३६ वटा चितुवाको छाला, २३८ वटा ओंतको छाला र ११३ किलो बाघको हड्डीसहित ५ जनालाई पक्राउ गरेको थियो । त्यतिबेला पक्राउ परेका सबै कैद सजाय पाएर निस्किसकेका छन् ।



ट्रेन्डिङ