नेपालमा पनि सलह किरा देखा पर्यो

नेपालमा पनि सलह किरा देखा पर्यो

काठमाडौँ १३ असार । नेपालमा सलह किरा प्रवेश गरेको छ । दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा भारतको बिहार हुँदै नेपाल प्रवेश गरेको नेपालका कृषि वैज्ञानिकहरुले बताएका छन् । शनिबार बिहान प्रदेश २ का बारा, पर्सा र सर्लाहीमा सलह देखिएका छन् । नेपाली वैज्ञानिकहरुका अनुसार दुईतीन अघि भारतको बनारस हुँदै गोरखपुरमा सलह देखिएको थियो । त्यसपछि सर्लाही, बारामा देखिएको हो ।

नेपाल कृषि अनुसन्धान परिषद्का कीट वैज्ञानिक सुनिल अर्यालले दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह नेपाल प्रवेश गरेको बताए । मनुसुनको बेला पूर्वबाट पश्चिमतिर हावा बहने गरे पनि दुई दिनयता दक्षिणबाट उत्तरतिर हावा बहँदा सलह नेपाल आइपुगेको कृषि वैज्ञानिकहरुले अनुमान गरेका हुन् । यसअघि पनि उनीहरुले दक्षिणबाट उत्तरतिर हावा बहे नेपालमा सलह आउन सक्‍ने बताएका थिए ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख एवं कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको सलह किराको व्यवस्थापनका लागि गठित टास्क फोर्सका संयोजक सहदेव हुमागाईंले प्रदेश २ का जिल्लाहरुमा सलह देखिएको बताउँदै अहिले पहिचान गर्ने काम भइरहेको बताए ।

प्राविधिक टोलीले अहिले फिल्डमा गएर सलहको पहिचान गर्ने काम गरिरहेको छ । हुमागाईंका अनुसार प्राविधिक टोलीहरुले पठाएको तस्बिरका आधारमा हेर्दा नेपालमा देखिएका सलह वयस्क होइनन् । उनले भने, ुहाम्रो प्रारम्भिक अनुसन्धानका अनुसार अहिले भेटिएका लोकस्टहरु मरुभूमिमा पाइने पहेंलो होइनन् । अहिले अपरिपक्व वयस्क गुलाबी रंगका लोकस्ट भेटिएका हुन् ।ु

गुलाबी रंगका यी सलह मरुभूमिमा पाइनेजस्तो धेरै खन्चुवा नभएको बताउँदै नआत्तिन आग्रह गरेका छन् । उनले भने, ुमरुभूमिमा पाइने पहेंलो लोकस्ट भेटियो भने पनि नेपालमा धेरै लामो समयसम्म बस्दैन । फूल पार्न नेपालमा मरुभूमिको जस्तो जमिन हुँदैन । आज बिहान पनि पानी परेको छ । त्यो भएको हुनाले ब्रिडिङ हुने सम्भावना छैन ।ु

कीट विज्ञान महाशाखाका कीट वैज्ञानिक एवं प्रवक्ता सुदीप उपाध्यायले अहिले विज्ञ टोलीले अध्ययन गरिरहेको बताए । प्रारम्भिक अनुसन्धानका क्रममा झुन्डबाट छुट्टिएर आएका सलह भएको उनले बताए । उनले भेटिएका सलह टुक्रिएर आएको र नआत्तिन आग्रह गरे ।



ट्रेन्डिङ