भारतीय सेनावाट फर्कीएका लोसन तामाङ स्थानीय प्रजातिको कुखुरा पालनमा व्यस्त ( फोटोफिचर )

भारतीय सेनावाट फर्कीएका लोसन तामाङ स्थानीय प्रजातिको कुखुरा पालनमा व्यस्त ( फोटोफिचर )

प्रमोद पन्त-
राप्ती ९ असार । लोसन तामाङ राप्ती नगरपालिकाको वडा नं. ९ का स्थायी बासिन्दा हुन । भारतीय सेनामा १७ वर्ष काम गरेर पेन्सन लिएर बसेका तामाङ हिजोआज स्थानीय जातका कुखुराको रेखदेखमा व्यस्त छन् । हामी पुग्दा उनी बट्टाई चरा समात्दै थिए । नजिकैको बजारवाट बट्टाई चराको माग आएकाले घरै सम्म पुर्याउन जाने उनको तयारी थियो ।

लोसन तामाङलाई लोकल कुखुराको रेखदेख गर्न भ्याई नभ्याई छ । भारतीय सेनाको जागिरपछि घरमै लोकल प्रजातिका कुखुरापालन गरेका छन् । उनको खोरमा ३ सयको हाराहारीमा लोकल कुखुरा छन् । लोकल कुखुरा सँगै टर्की, लौकाट, कडकनाथ प्रजातिका कुखुरा र बट्टाई चरा समेत पालेका छन् ।  उनले व्यवसायिक रुपमै यो क्षेत्रमा लागेको धेरै भएको छैन । १५ महिना अघिदेखि सुरु गरेको यो व्यवसायले उनलाई निकै साथ दिएको छ । गाउँघरकै बजार उनका लागि प्रयाप्त छ । आवश्यकता भएकाहरु आफै उनको खोर सम्म किन्नका लागि पुग्ने गरेका छन् । कतिपयले फोन गरेर माग्ने गरेका छन् । लोसन तामाङका अनुसार भरतपुर, नारायणगढ देखि टांडी, पर्सा बजार सम्म आफैले पनि पुर्याउने गरेका छन् । ‘कतिपयलाई फोन गरेकै भरमा घर सम्म लैजाने गरेका छौं’ उनले भने ।

उनको अनुभवमा सबैभन्दा राम्रो बट्टाई चरा पालनमा छ । कम खर्चमा राम्रो मुनाफा हुनेमा बट्टाई चरा पर्दछ । पाल्न थालेको २ महिनाकै अवधिमा आम्दानी दिन थाल्छ । अण्डा र मासुका लागि बट्टाई चरा राम्रो मानिन्छ । बजारको समेत अभाव नभएकाले बट्टाई चराबाट राम्रो आम्दानी लिन सकिने उनि बताउँछन् । यिनको खोरमा अहिले १ हजार वटा बट्टाई चरा छन् । व्यवसायिक रुपमा लोकल प्रजातिको कुखरा पाल्न उनले २ वर्ष अघिदेखि अध्ययन सुरु गरेर मात्रै यो क्षेत्रमा हात हालेका हुन । विभिन्न फार्महरु पुग्ने, यूटुब हेर्न, यो सँग जानकारहरुलाई भेट्ने जस्ता अनुभव लिएर यो क्षेत्रमा हात हालेका हुन । १० लाख रुपैयाँ खर्च गरेर व्यवसायिक कुखुरा पाल्न थालेका लोसनलाई अहिले निकै सन्तुष्टि मिलेको छ ।

छोटो समयमा धेरै मुनाफा नभएपनि सन्तुष्टि पाएको छुँ उनले भने – अझै खोर विस्तार गर्ने योजनामा छु । उनले चल्ला समेत आफैले उत्पादन गर्छन । खोरमा कुखुराको रेखदेख गर्न आफु बाहेक दुईजना कर्मचारी राखेका छन् ।
मासिक रुपमा डेढ देखि २ लाख सम्मको कारोवार हुनेगरेको उनले सुनाए । दुईजना कर्मचारी व्यवस्थापन कुखुराको दानापानी सबै कटाएर आफ्नो पारिश्रमिक सम्म उठ्ने गरेको छ उनले सुनाए । उनको बुझाईमा कर्म, मेहनत र इमान्दारीता यसमाछ उनले भने, रातदिन नभनेर खटिनुपर्ने भनेको जागिर हो । जागिर भन्दा अहिलेको जीवन सजिलो छ उनलाई । कतैजान मन लाग्यो अनेकौं तनाव लिनुपर्दैन । परिवार सँगै बस्न पाइएको छ उनले थपे । विदेश गएर पनि यो भन्दा राम्रो पारिश्रमिक पाइन्थ्यो होला तर सन्तुष्टि र आत्मविश्वास सायद पाउँदिनथे होला – उनले हामीसँग भने ।

भएको खोरलाई अझै व्यवस्थित बनाउने उनको योजना छ । यो वर्ष घाँस समेत लगाउने सोच बनाएका छन। यिनले नेपालमै सम्भावना देख्न थालेका छन् । कृषि क्षेत्रमा लागेका युवाहरुको मनोबल बढाउन पैसाकै लागि विदेशीनु नपर्ने यिनको तर्क छ । कृषि क्षेत्रमा सक्रिय भएर जुटेका युवाहरुलाई सरकारी अनुदान, तालिम, आवश्यक पर्ने कच्चा पदार्थ ढुवानीमा सहजता लगायतका विषयमा थोरै सरकारले ध्यान दिने हो भने कृषि क्षेत्रका हरेक पाटोमा राम्रो सम्भावना छ उनले भने । ((००))

फोटोः सन्तकुमार चौधरी



ट्रेन्डिङ