महिन्द्र राय यादवले दिए आन्दोलन गर्ने चेतावनी

महिन्द्र राय यादवले दिए आन्दोलन गर्ने चेतावनी

काठमाडौं ९ असार। संसदीय समितिबाट पारित भएको नागरिकता विधेयकको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदले कडा विरोध गरेका छन् ।

यस निर्णयले मधेसका जनता बढि प्रभावित हुने र यो मधेसविरोधी निर्णय भएकाले यसका बिरुद्व सदन र सडकबाट आन्दोलन सुरु हुने चेतावनी समेत दिएका छन्।

२०६३ सालमा भएको सहमति अनुसार ६ महिनाभित्र अंगीकृत नागरिकता पाउने प्रवाधान राखिए पनि अहिले सरकारले सहमति उल्लंघन गरेर मधेससँगको सम्बन्ध तोड्न खोजेको राजापा सांसद महिन्द्र राय यादवले बताए ।

‘भारतसँग विशेष सम्बन्ध छ । रोटी-बेटीको सम्बन्ध छ । ७ वर्षको समय तोकिएको छ । यसमा सरकारले गम्भीरताका साथ छलफल गरेर सहमतिको वातावरण बनाउन सकिन्छ । भएन भने सडकदेखि सदनसम्म आन्दोलनमा जाऊन् भन्न खोजेको हो ? नेपाल भारतसँगको सहमति तोड्न चाहन्छ । मधेससँगको सम्बन्ध तोड्न चाहन्छ । मधेशमा आन्दोलनको संकेत देखिएको छ । यसको जिम्मेवारी सरकारले लिनुपर्छ,’ उनले भने ।

अर्का सांसद प्रदीप यादवले सरकारले मधेसमाथि ठूलो अन्याय गरेको बताए । भारतीय चेलीहरूका कारण कुनचाहिँ दुर्घटना भएर संसदीय समितिले यस्तो निर्णय गर्‍यो भन्दै उनले प्रश्न गरे । सरकारले मधेसी जनतालाई टार्गेट गरेर मधेसको जमिन नेपालको तर जनता भारतीय भएको भन्ने महसुस गराएको उनले बताए । निर्णय मधेसविरोधी भएको उल्लेख गर्दै उनले निर्णय नसच्चिए सदन र सडकमा विद्रोह हुने चेतावनी दिए ।



ट्रेन्डिङ