सबै सरकारी कर्मचारीका छोराछोरी सरकारी स्कुलमा पढाउनुपर्ने –अनेरास्ववियू

सबै सरकारी कर्मचारीका छोराछोरी सरकारी स्कुलमा पढाउनुपर्ने –अनेरास्ववियू

चितवन ७, असार  । सबै सरकारी कर्मचारीका छोराछोरीहरुलाई सरकारी स्कुलमै पढाउनुपर्ने, लकडाउन अवधिको शुल्क मिनाहा हुनुपर्ने लगायत ९ बुँदे शैक्षिक माग सहित आज अनेरास्ववियू चितवनले चितवनका स्थानीय तहहरुलाई ध्यानाकर्षण गराएका छन् । हिजो भरतपुर महानगरपालिकाका नगरप्रमुख रेनु दाहाललाई र आज राप्ती नगरपालिकाका नगरप्रमुख प्रभा बराल, खैरहनी नगरपालिकका नगरप्रमुख लालमणि चौधरी र रत्ननगर नगरपालिकाका नगरप्रमुख नारायण वनलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

भोलि ८ गते कालिका नगरपालिका र पर्सि ९ गते माडी नगरपालिका र इच्छाकामना गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको अनेरास्ववियूका केन्द्रिय सदस्य स्वरुप सुयेलले बताएका छन् । अनेरास्ववियूका चितवनका जिल्ला संयोजक प्रकाश आचार्य एवम् सहसंयोजक वसन्त आचार्यले हस्ताक्षर गरेका ध्यानाकर्षण पत्र मार्फत सामुदायिक विद्यालय सुधार कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने, अंग्रेजी माध्यमबाट पठनपाठन गराउन आवश्यक पहल गर्नुपर्ने, विद्यालयमा इमेल इन्टरनेटको सुविधा को लागि बजेट छुट्याउनुपर्ने, विद्यालय स्तरको परीक्षाका लागि बजेट छुट्याउनुपर्ने, पब्लिक क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने लगायतको माग गरिएको छ ।

चितवनका निजी विद्यालयहरुले आफूखुशी शुल्क निर्धारण गर्ने, भर्ना गर्ने, विद्यालय पोशाक र पाठ्यपुस्तकमा सिण्डिकेट लगाउने र जबरजस्ती अभिभावकहरुलाई दबाब दिने प्रवृत्ति हावी भएको हुँदा यो शैक्षिक सत्रबाट विधिसम्वत सञ्चालन गर्न र गुणस्तरमा ध्यान दिन सम्बन्धित पक्षसँग माग गरेका छन् । ध्यानाकर्षण पत्र बुझिलिने नगरप्रमुखहरुले शिक्षा समितिहरुको बैठक बसी आवश्यक निर्णय गर्ने र आउँदै गरेको नगरपरिषद मार्फत बजेट बढाएर थप नीति तथा कार्यक्रम ल्याउने प्रतिक्रिया दिएको जनाइएको छ ।



ट्रेन्डिङ