राज्य व्यवस्था समितिबाट वैवाहिक अंगीकृत नागरिकताको विषय टुंग्याइँदै

राज्य व्यवस्था समितिबाट वैवाहिक अंगीकृत नागरिकताको विषय टुंग्याइँदै

काठमाडौं ७ असार । संसदमा विचाराधीन रहेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा प्रक्रियामा जाने निश्चित भएको छ । दुई वर्षदेखि समितिमा रहेको सो विधेयक टुंगो लगाउन आज दिउँसो २ बजे समितिको बैठक बस्दै छ । बैठकअघि सहमति नभए प्रक्रियामा लगेर वैवाहिक अंगीकृतको विषय टुंगो लगाउन लागिएको हो ।

विधेयकमा अन्य विषयमा समितिमा सहमति जुटे पनि विदेशीको बुहारीको विषयमा विवाद थियो । सत्तारूढ दल नेकपाले वैवाहिक अंगीकृतको हकमा सात वर्षको प्रावधान राख्ने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित समाजवादी जनता दल नेपाल नागरिकता ऐन, ०६३कै व्यवस्थाको पक्षमा छन् ।

यसअघि सहमतिका लागि भन्दै पटक–पटक समय दिइए पनि वैवाहिक अंगीकृतको विषयमा सहमति जुट्न सकेको थिएन । समितिको आजको बैठकअघि सहमति जुटाउने प्रयास हुने र सहमति नभए प्रक्रियामा लगेर टुंगो लगाइने भएको छ । समिति सभापति शशि श्रेष्ठले आफू सहमतिकै पक्षमा रहेको र त्यसका लागि अन्तिमसम्म प्रयास गर्ने बताएकी छन् । चालु संसदको अधिवेशनमै विधेयक पठाउनुपर्नेमा उनले जोड दिँदै आएकी छन् ।

नेकपा सचिवालयको शनिबार बसेको बैठकले वैवाहिक अंगीकृतबारे निर्णय गरेको थियो । “सचिवालय बैठकमा अहिले संसदमा विचाराधीन रहेको नागरिकता विधेयकको प्रावधानबारे छलफल भयो । जसअनुसार नेपाली पुरुष नागरिकसँग विवाह गर्ने विदेशी महिलाले प्राप्त गर्न सक्ने अंगीकृत नागरिकताको प्रावधानबारे छलफल गरेर निष्कर्ष निकालिएको छ,” नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि भने, “त्यस्तो नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्ष देशभित्र बसेको पुष्टि भएपछि आफ्नो विदेशमा रहेको नागरिकता वा त्यस्तै प्रमाणपत्र लिएको भए परित्याग गर्ने कारबाही चलाएको प्रमाण पेस गरेपछि सम्बन्धित वैवाहिक व्यक्तिले नागरिकता प्राप्त गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकालियो ।”



ट्रेन्डिङ