यस वर्षको लामो सूर्यग्रहण

यस वर्षको लामो सूर्यग्रहण

प्रा.डा. धनेश्वर नेपाल-

यस वर्षको पहिलो सूर्यग्रहण २१ जुन अर्थात् असार ७ गते लाग्दैछ । यसर्थ, यस वर्षको सबैभन्दा लामो दिनमा हामीले सूर्य ग्रहण हेर्न पाउँने भएका छौँ । यो वलय सूर्यग्रहण हो तथापि नेपालबाट खण्डग्रास सूर्यग्रहणमात्र देखिनेछ । यो वलय ग्रहण अनौठो र विलक्षण प्रकृतिको हुन्छ, जसलाई कंकड ग्रहण पनि भनिन्छ । भारतीय अतिक्रमणमा परेको नेपालको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र अहिले राष्ट्रियता र राष्ट्रिय अखण्डताको दृष्टिले सर्वाधिक चर्चामा छ भने त्यही क्षेत्रबाट सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिनेछ । औंसीका दिन लाग्ने यो ग्रहण पृथ्वीका कतिपय भागबाट वलयाकार ग्रहणका रुपमा दृश्यमान हुनेछ भने अधिकांश भागमा यो आंशिक सूर्यग्रहणका रुपमा देखिनेछ । वलयाकार ग्रहण लागेका ठाउँमा चन्द्रमाले सूर्यको करिब ९८ प्रतिशत भाग ढाक्नेछ । यो वलयाकार सूर्यग्रहण अफ्रिका, कङ्गो, इथियोपिया, दक्षिण पाकिस्तान, उत्तरी भारत र चीनका कतिपय भूभागबाट देखिनेछ । यसैगरी आंशिक सूर्यग्रहण उत्तर र पूर्वी अफ्रिका, दक्षिणपूर्वी युरोप, धेरैजसो एसियाली मुलुक तथा उत्तरी अस्ट्रेलिया आदि भूभागबाट देखिनेछ ।

प्रायः सूर्य ग्रहणको समयावधि औसत रुपमा छोटो हुन्छ र चन्द्रग्रहणको समयावधि लामो हुन्छ । किन्तु, यो सूर्य ग्रहण निकै लामो हुनेछ । भारतको दिल्लीमा सूर्यग्रहण बिहान १०ः २० देखि प्रारम्भ भई अपराह्न १ः४९ मा समाप्त हुनेछ । नेपालमा १०ः५५ मिनेटमा ग्रहण लाग्नेछ र यसको समाप्ति दिउँसोको २ः२४ मा हुनेछ । ग्रहणको सबैभन्दा बढी प्रभाव १२ः ०४ तिर पर्नेछ, यसलाई ग्रहणको मध्याह्न भनिन्छ ।

खगोलशास्त्रीहरुले गणनाद्वारा यो कुरा निश्चित गरेका छन् कि– १८ वर्ष १८ दिनको एक चक्र पूरा हुँदा यस अवधिमा ४१ सूर्यग्रहण र २९ चन्द्र ग्रहणहरु हुन्छन् । गणितअनुसार एक वर्षमा ५ सूर्यग्रहण र २ चन्द्रग्रहणसम्म हुनसक्छन् । किन्तु, एक वर्षमा न्यूनतम दुई सूर्य ग्रहण हुनै पर्छ । जस्तो अंग्रेजी क्यालेन्डरअनुसारको यस वर्षमा जम्मा ६ ग्रहण हुनेछन् जसमा २ सूर्य ग्रहण र ४ चन्द्रग्रहण लाग्नेछन् । असार ७ गते वा २१ जुनमा देखिन लागेको सूर्यग्रहण यस वर्षको पहिलो सूर्यग्रहण हो । यसपछि १४ डिसेम्बर २०२० मा दोस्रो सूर्य ग्रहण लाग्नेछ । एक वर्षमा अधिकतम ७ ग्रहणको सम्भावना रहन्छ । तथापि एक वर्षमा ४ भन्दा बढी ग्रहण बहुतै कम मात्रामा देख्न पाइन्छ ।

प्रत्येक ग्रहणको १८ वर्ष ११ दिनको अवधिमा पुनरावृत्ति हुन्छ । किन्तु, त्यो आफ्नो पहिलेकै स्थानमा हुन्छ भन्ने निश्चित हुँदैन किनभने सम्पात विन्दु निरन्तर चलिरहेको छ । खगोलमा पृथ्वी भ्रमण मार्ग क्रान्तिवृत्त र नाडीवृत्त (याम्योत्तर रेखा) को कटान बिन्दुलाई सम्पात बिन्दु भनिन्छ । यो सम्पात बिन्दु पनि स्थिर नभएर चल छ ।

सूर्य ग्रहणलाई नाङ्गो आँखाले हेर्दा आँखाको ज्योतिसमेत गुम्नसक्ने भएकाले ग्रहणलाई अवलोकन गर्दा अत्यन्तै सावधानी अपनाउनुपर्छ । सूर्य हाम्रो जन–जीवन, पशुपक्षी एवं वनस्पतिका लागि अति महत्त्वपूर्ण हुन्छ । सूर्यका रश्मीहरु पृथ्वीमा पर्न नपाए त्यसको प्रभाव मानव शरीरमा पनि पर्छ, शरीरको तापक्रममा कमी आउँछ र रक्त प्रवाह मन्द हुन्छ । यसैले ग्रहणबाट पर्न सक्ने दुष्प्रभावबाट बच्न हाम्रो वैदिक धर्मसंस्कृतिअनुसार ग्रहणको समयमा भोजनलाई निषेध गरिएको छ र ग्रहणोपरान्त स्नान गर्नुपर्ने विधान छ । धार्मिक आस्थासित जोडेर यस समयमा गरिने दानपुण्यको महत्त्व बताइएको छ ।

 

सूर्य ग्रहण के हो र किन लाग्छ ?

सूर्य, चन्द्रमा र ग्रहहरुका गतिस्थितिका आधारमा आकाशमा विभिन्न रोमाञ्चक घटना भइरहन्छन् । आकाशमा दृष्टिगोचर हुने यस्ता घटनामा सबैभन्दा बढी कौतुहा जगाउने र रोमाञ्चक घटना ग्रहण नै हुन् ।  कुनै खगोलीय पिण्डले पूर्ण या आंशिकरुपले कुनै अन्य पिण्डलाई छेक्नु वा ढाकिनुलाई ग्रहण भनिन्छ । जब कुनै एक खगोलीय पिण्ड कुनै अन्य पिण्डको छायाँभित्र पर्छ या कुनै पिण्डको प्रकाश अन्य पिण्डद्वारा छेकिएर दृष्टिमा आउँदैन तब ग्रहण हुन्छ । सिद्धान्त ज्योतिषमा ग्रहको अर्थ निम्नानुसार दिइएको छ –‘गृह्यतेऽनेनेति व्युत्पत्या  ग्राहको यदा ग्राह्यं वस्तुं गृह्णाति तदा ग्रहणम्’ । अर्थात् ग्राहक पदार्थ या पिण्डद्वारा ग्राह्य पदार्थ या पिण्डमा प्रवेश गर्नु नै ग्रहण हो ।

ग्रहण दुई प्रकारका छन् – सूर्य ग्रहण र चन्द्रग्रहण । सूर्यको ग्रहणलाई सूर्य ग्रहण भनिन्छ । सूर्य ग्रहण तब हुन्छ, जतिबेला सूर्य आंशिक वा पूर्ण रूपले चन्द्रमाद्वारा आवृत्त हुन्छ । चन्द्रमा पृथ्वीको एक मात्र उपग्रह हो जसले करिब २९.५ दिनमा पृथ्वी वरिपरि एक परिक्रमा गरिसक्छ । पृथ्वीको वरिपरि आफ्नो भ्रमणपथमा घुमिरहँदा कहिलेकाहीँ चन्द्रमा सूर्य र पृथ्वीको बीचमा एउटै सरल रेखामा पर्न आउँछ त्यसबेला सूर्यग्रहण हुन्छ । यस स्थितिमा सूर्यलाई चन्द्रमाले छेक्दा पृथ्वीवासीहरूले सूर्यको आवृत्त भागलाई देख्दैनन् । पृथ्वीको वरिपरि परिक्रमा गर्दै जब चन्द्रमा भूपृष्ठमा रहेको दर्शक र सूर्यको बीचमा व्यवधानको रूपमा रहन्छ त्यतिबेला चन्द्रव्यवधानका कारण सूर्यको पूर्ण वा आंशिक भाग आच्छादित हुन्छ र देखिँदैन । यस किसिमको सूर्यको अदर्शनलाई सूर्य ग्रहण भनिन्छ । यस्तो स्थिति आमावस्याको दिनमा नै घटित हुन्छ ।

सूर्यग्रहणका प्रकार

सूर्य ग्रहण तीन प्रकारका हुन्छन् । पूर्ण सूर्यग्रहण, आंशिक सूर्यग्रहण र वलयाकार सूर्यग्रहण ।

पूर्ण सूर्यग्रहण : अमान्तकालमा रविबिम्बको जति प्रदेश चन्द्रबिम्बले छेक्छ, त्यति नै ग्रास हुन्छ । त्यस समयममा जुन बेला सम्पूर्ण रविबिम्ब चन्द्रबिम्बद्वारा आच्छादित हुन्छ त्यतिखेर पूर्ण सूर्य ग्रहण हुन्छ ।  चन्द्रबिम्बभन्दा रविबिम्ब योजनात्मक मानले अत्यधिक बढी भए पनि कलात्मक मानका आधारमा रविबिम्बभन्दा चन्द्रबिम्ब ठूलो पनि हुनसक्छ । दृग्दूरासन्नभावले कलात्मक मान घट्छ पनि र बढ्छ पनि । जुन बेला चन्द्रमा पृथ्वीको निकटस्थ हुन्छ तब चन्द्रबिम्ब सूर्यको अपेक्षा केही बढी हुन्छ र त्यसले सूर्यबिम्बलाई सम्पूर्ण रूपमा आवृत्त गर्छ । यो प्रेक्षकलाई पूर्ण या खग्रास सूर्यग्रहणका रूपमा देखापर्छ । अतः जुन बेला रविबिम्ब चन्द्रबिम्बभन्दा न्यून हुन्छ तब पूर्णग्रहण सम्भव हुन्छ ।

आंशिक सूर्यग्रहण : जब अमावस्याको दिन चन्द्रमाद्वारा सूर्यको आंशिक भागमात्र आवृत्त हुन्छ, तब आंशिक सूर्य ग्रहण हुन्छ । यसलाई खण्डग्रास सूर्यग्रहण पनि भनिन्छ ।

वलयाकार सूर्यग्रहण : जब चन्द्र पृथ्वीभन्दा दूरस्थ हुन्छ, त्यतिबेला  चन्द्रमाको कोणीय आकार सूर्यभन्दा केही छोटो हुन्छ । अर्थात् चन्द्रबिम्ब कलात्मक मानले रविबिम्बभन्दा सानो हुन्छ । त्यसबेला  जब चन्द्रमाले सूर्यको मध्यवर्ती भाग ढाक्छ र सूर्यबिम्ब परिधिको वर्तुलाकार भागमा सूर्य प्रकाशका झिल्का देखिन्छन् । त्यतिबेला अत्यन्त रमणीय वलायाकारको सूर्यग्रहण लाग्छ । यसलाई कोणसूर्य ग्रहण पनि भन्दछन् । चन्द्रग्रहणमा भने यो किसिमको वलयकार दृश्य हुँदैन ।

प्रत्येक औंसीमा सूर्य ग्रहण नलाग्नुको कारण 

आकाशीय पिण्डका रहस्यमय गतिविधिको विषयमा जान्न प्राचीन कालदेखि नै मानिसहरु उत्सुक थिए । पूर्वीय जगत्मा वैदिक कालदेखि र पाश्चात्य जगतमा मेसापोटामियन कालदेखि नै ग्रहणका विषयमा खोजी हुनथालेको पाइन्छ । प्राचीन खगोलविद्हरुले आकाशीय पिण्डहरूको निरन्तर अवलोकन गरी गणनाद्वारा अमावस्याको दिन सूर्य, चन्द्रमा र पृथ्वी एउटै सरल रेखामा आउने र सोही दिन सूर्य ग्रहण सम्भव हुने कुरा पत्ता लगाए । यही क्रममा हरेक औंसीमा सूर्यग्रहण नलाग्ने कुरा पनि गणनाद्वारा सिद्ध भयो ।

पश्चिमी खगोलविद्हरूले ग्रहणको वैज्ञानिक कारण र रहस्य पत्ता लगाउन धेरै खोज अनुसन्धान गरेका छन् । उनीहरूको मतमा रवि र चन्द्रमाको भ्रमण मार्ग भिन्नभिन्न धरातलमा आश्रित छन् । चन्द्रमा जुन कक्षामा भ्रमण गर्छ त्यसको धरातल पृथ्वी वा सूर्यको भ्रमणमार्ग क्रान्तिवृत्तीय धरातलसित ५ङ्क।९ क्ष्को  कोण उत्पादन गर्दै झुकेको छ । सूर्य र चन्द्रमा  क्रान्तिवृत्तीय धरातलको समतलमा भइदिएको भए चन्द्रमाको छायाले पृथ्वीमा स्पर्श गर्दथ्यो । त्यसैले चन्द्रमा र सूर्य पृथ्वीबाट एउटै दिशातिर भएको आधारमा मात्र प्रत्येक अमावस्यामा सूर्यग्रहण सम्भव हुँदैन । यदि नाडी र क्रान्ति वृत्तको परस्पर झुकाव वा पृथ्वी आफ्नो अक्षमा २३–१/२ अंशले झुकेको हुँदैनथ्यो भने भूपृष्ठमा सधै दिन र रात्रिको मानतुल्य हुन्थ्यो । ठीक त्यसैगरी रविचन्द्र भ्रमण मार्गको परस्पर झुकाव नभएको भए प्रत्येक अमावस्यामा सूर्यग्रहण र प्रत्येक पूर्णिमामा चन्द्रग्रहण अवश्य पनि हुन्थ्यो ।

पौरस्त्यहरुको गणनाअनुसार अमान्तमा सूर्य र चन्द्रमा राश्यादिक मानले तुल्य हुन्छन् । रवि क्रान्तिवृत्तमा रहन्छ भने चन्द्र क्रान्तिवृत्तभन्दा उत्तर वा दक्षिणमा आफ्नो विमण्डलवृत्तमा हुन्छ । तिनीहरूको अन्तर नै कदम्बप्रोतवृत्तमा शर हुन्छ । शरको मूलमा रविकेन्द्र र शराग्रमा चन्द्रबिम्ब केन्द्र हुन्छ ।  यस स्थितिमा सूर्यचन्द्रबिम्बको योगार्ध प्रमाण (जसलाई ज्योतिषीहरूले मानैक्यखण्ड भन्छन्) भन्दा चन्द्र शर कम भयो भने ग्रहण लाग्छ  । मानैक्य खण्डभन्दा शर बढी भयो भने ग्रहण लाग्दैन ।

ग्रहणमा राहु विचार

ग्रहणमा राहुले सूर्यलाई वा चन्द्रलाई ग्रस्त गर्छ भन्ने कुरा वेदमा र पुराणादि ग्रन्थमा लेखिएको छ— “स्वर्भानु र्ह तमसा विव्याध” । यस किसिमको श्रुतिकथनलाई आधार मानेर पुराणहरूमा राहुद्वारा ग्रहण हुन्छ भन्ने धारणाले प्रसिद्धि पायो । किन्तु, यस्तो अवैज्ञानिक धारणालाई ज्योतिषीहरूले स्वीकार गरेका छैनन् । क्रान्तिवृत्त र चन्द्रभ्रमणमार्ग धरातलको सम्पात आकाशमा दुई बिन्दुमा हुन्छ । चन्द्रमाले आफ्नो कक्षामा दक्षिणदेखि उत्तरतिर गतिवान् हुँदै क्रान्तिवृत्तलाई जुन बिन्दुमा काट्छ, त्यसलाई हिन्दू ज्योतिषहरूले राहु संज्ञा दिएका छन् । ठीक यो भन्दा १८० डिग्रीको अन्तरमा उत्तरबाट दक्षिणतिर जाँदै गर्दा क्रान्तिवृत्तलाई चन्द्रमाले फेरि काट्छ । यो कटान बिन्दु केतु हो । जब सूर्य र चन्द्रमा दुवै सम्पात बिन्दु पातको नजिक पुग्छन् तब ग्रहणको सम्भावना हुन्छ । यी दुई पात नै ग्रहणका प्रधान कारण हुन् ।



ट्रेन्डिङ