साइनो के र किन ? 

साइनो के र किन ? 
बिष्णु पादुका –
नेपाली आकाशमा बिहानपख एउटा तारा उदाएको छ । गणितीय बिज्ञान खगोल र ज्योतिषका दृष्टिकोणबाट पनि उच्च अर्थ राख्ने ७+८+९ =२४ को अर्थ बोध हुने साहित्यको नयाँ बिधा जन्म्यो । साहित्यको एउटा बिध्यार्थी कोहि हो र उ लेखनको चौराहामा उभिएको छ भने कुनै न कुनै बेला साइनोको सरल सरस बाटोमा अलिक पर त पुग्छ पुग्छ । मानविय स्वभाव हो सुन्दरताको पछि लाग्ने ।
साहित्यका यावत् बिधाको विचमा एउटा प्रष्टता र विशिस्टता  बोकेको एउटा बिधा “साइनो “जसको एउटा ट्र्याक खोल्ने काम सकिसकेको प्रतीत हुन्छ । प्राध्यापक श्री छायादत्त न्यौपाने बगरले  स्थापना गर्नु भएको साइनो बिधा उच्चस्तरीय बिधाको रूपमा हेरिएको छ ।   भाव ,सिल्पीचेत, शुद्धता र नेपालीपन देखिने गरि रचनागर्भ निर्माणले क्षेत्रगत वृत्त फराकिलो पार्दै छ । साहित्य लेखन यस्तो चुल्हो हो जहाँ कुन दाउरा छिटो बल्छ थाहै हुँदैन ।
 कुन खुर्सानी धेरै पिरो छ थाहै हुँदैन ।
 खुकुरी र कर्दको उखान फेल खान्छ  ।
 गुरु चेलाको विरासतनै नामेट हुने खतरा हुन्छ ।
 तर पनि यात्रामा साथ र सहयोग रहि रहनु पर्छ ।
 एक्लै कोहि कहिँ पुगिरहन सक्दैन ।
समयको प्रवाहमा स्थापनाको जस र अपजस पाए नपाएको कुरालाई लिएर , क्षेत्र र विधानका बिषयमा कुनै पनि विधालाई संकुचित पारिनु हुँदैन । किन कसरी भन्ने प्रश्न भन्दा पनि त्यसको सुन्दरतालाई हेरिनु साहित्य प्रतिको न्याय हुनेछ । स्थापना हुँदा या शुरुमा लेखिँदा ताकाको गति र रुचीले दिएको संख्यात्मक वृद्धि उत्साहजनक देखिन्छ । साहित्यमा उचनिचको मापदण्ड हुँदैन । एउटा रचना सरल या कडा हुनै सक्दैन किन पनिभने लेख्ने र पढ्नेहरुको विचमा हुने तालमेल नै ठूलो कुरा हो । कति साहित्यका रचना नबुझेर पनि मीठो मानेर सुन्ने हेर्ने र बुझ्ने कोशिश गरिन्छ। कम्तिमा छर्लङ्ग देखिन एउटा स्वरुपमा आउँनै पर्छ ।
दिनानुदिन लेखनको रुचि थपिनु स्वभाविक छ । कुनै विधा संग प्रतिस्पर्धा गर्न नभई आफ्नो विशिस्ट शैली र एउटा दर्हो आधार अक्षर पद संख्या हो । सात आठ नौ को हुने योगफल चौबीस नै अक्षर गणना पहिलो शर्त हो भने क्षेत्र निर्धारणको दायरा फराकिलो देखिन्छ ।  भाव व्यंग्य र बिम्बको प्रचुरता हुने यस विधामा एउटा साइनो धेरै कोण बाट परिभाषित हुन सक्ने यसको सुगन्ध हो ।  लेखकिय क्षेत्र त बिस्तारित हुन्छ नै । चौबिस अनुच्छेदमा बयान गर्न सकिने कुरालाई चौबीस अक्षरमा समेट्न सक्नु यो विधाको बलियो पक्ष हो ।
साहित्यकार छायादत्त न्यौपाने ” बगर ” द्वारा लेखन सुरुवात र अन्य बिद्वत वर्गबृत्तबाट रुचि देखिए पछि एक दुई तीन गर्दै साइनो लेखन दिनानुदिन बढ्यो । कुनै छापा माध्यममा नभई सामाजिक संजाल फेसबुक ( अनुहार पुस्तिका )मार्फत शुरुवात भएको हो ।तर  फेसबुक साहित्यलाई सार्है सस्तो रूपमा लिने केही स्थापित साहित्यकारहरु हुनुहुन्छ । उसो त यसको प्रयोग सर्वब्यापी छ ।सबैले व्यक्तिगत धारणा राख्ने नै भए । जे होस एउटा सञ्जालको भित्तामा साइनो जन्मेको हो भन्दैमा साइनोको इज्जत सकिने होइन । हिडिरहेको बाटो सजिलो भरपर्दो कागजी पुस्तक हुनाले यसैलाई प्रामाणिक मानियो । प्रबिधिको प्रयोग गरि वेबसाईट मा राखिएका पुस्तकको आयु कुनै पुस्तकालयको भन्दा हजारौं गुणा बढी हुन्छ । यसको नियमन प्रयोग र नियन्त्रणको चुनौतीले त्यो मान्यता हामी माझ स्थापित हुन सकेको छैन ।
 यसैविच उम्रेको साइनो कविता विस्तारै लेखकीय उपविधा हुन गएको छ । सात आठ नौ संख्याको महत्वलाई आत्मसात गर्ने यसको आधारभुत तत्वलाई  हामिले बिर्सन सक्दैनौं । गणित जीवनमा समाहित छ । जीवनमा गणितको अपरिहार्यता छ । उसो त अक्षर संख्याको नियम र आधार अन्य बिधाहरुमा पनि हुन्छ नै । तर यहाँनेर रोपेर उम्रन लागेको साइनोको समस्या र चुनौती केलाउने अनुमति चाहन्छु । चौबिस बर्णको वाक्य ७-८-९अक्षरिय को तीन पदमा बाँड्नु साइनो हुनै सक्दैन । सानो बिधा भनेर निकै हलुका रूपमा लिन सकिँदैन । आलङ्ग्कारिक र ब्यञ्जना दिने नाममा क्लिस्ट शब्दको प्रयोग पनि फजुल खर्च हुन सक्छ । मलाई लाग्छ , हामी अझै पनि लेखकमुखी लेखनमा अलमलिएका छौं । पाठकमुखी लेखन कुनै बिधा हुन सकेको देखिन्न । उसो त समस्या र चुनौती छिमलिँदै जाने कुरा हुन् । पाठकको रुचीलाई ख्याल गरेर शब्द चयन गरिनु पर्छ । समाजमा जे बोलिन्छ त्यसैमा भाव खोज्नु साहित्य हो । लेखकमुखी रचना अर्थपूर्ण त हुन्छन् तर लेखककै मुखबाट अर्थ्याइनु पर्ने हुनसक्छ । कवितामा ट्युसन पढ्न को चाहन्छ र ?
भात भान्सा, चोक चिया ,भाँडा जुठेल्नाकै शब्दहरू हुन् लेख्ने । पाइला पाइलामा ठेस नलागी को सगरमाथामा पुग्छ र । यहाँ सबै कुरा छ त्यसैले त ,
प्रकासले उज्यालोमा साइनो खोज्छ ।
प्रकृतिले बनस्पतिमा साइनो खोज्छ ।
मानीसले सम्पूर्णतामा साइनो खोज्छ । त्यसैले साइनो को प्रार्दुर्भाव भएको हो । यसको गहनता अत्यन्तै छ जसलाई बुझाउन सकिएको छैन । यसको गंभिरता र ब्यापकता दिनदिनै बढ्नु स्वभाविक हो । थोरै शब्दमा धेरै कुरा बोल्ने बिम्ब र प्रतिकले नै हो ।अभिव्यक्तिमा मिठास दिने पनि शब्दको लालित्यले हो । देख्दा सरल देखिए पनि सात आठ नौ को क्षेत्रफल समेटेर देखिने साइनोले एउटा दृश्य छर्लङ्ग होस् । भावले भिजेको होस् । प्रेमले छोइएको होस् । व्यङ्ग्यचेत खुलेको होस् अनि बल्ल पाठकले दोस्रो पल्ट तेस्रो पल्ट खोजेर पढ्नेछन् । स्वतस्फूर्त रूपमा लेखिदै गएर यसको श्रीवृद्दी हुनेछ ।
  वेदव्यासका सुक्ती चाहने , भानु लेखनाथ देवकोटा देखि भुपीका उक्तिमा रमाउने , बहर र काफियाको माहोलमा झुम्ने पाठक माझ स्थापित हुन सजिलो छैन । त्यस माथी अंग्रेजी साहित्यको अध्ययनले खारिएका पाठक पनि जोडिनु भएको छ । यसरी सबै कुरामा ध्यान दिएर एक नजर साइनो तिर हेर्न बाध्य पार्न पनि साइनो सरल सरस र मन छुने लेखिनु जरुरी छ । नेपाली भाषा बाटनै सिर्जना भएको बिधा हुनाले उखान टुक्का जोडिनु , अनुप्रास मिल्नु , बिम्ब प्रतिकात्मक देखिनु राम्रो पक्ष हो ।
 साइनोको भावी दिनहरु उज्यालो पार्न लागिपरेका तमाम हातेमालो अर्थपूर्ण हुँदै जाओस् ।
 वर्तमान पुस्ताको व्यस्ततामा लेखन र पठनका दृष्टिले समेत उत्तम मानिएको यस बिधालाई दिनानुदिन रुचाइको स्तर बढ्दै गएको छ ।
 यसै सेरोफेरोमा साइनोका केही उदाहरणहरु,
प्रयोगको प्रयास
पल गन्दैछ यो घडी 
आलोक यापन जीवन ।
कुराको कम्पनीमा
चरम आनन्द लिन 
कुर्सीमा संसद शिविर ।
महत्व देखाउन
यी जुनकीरी झुल्किन्छन् 
पग्लिन्छ्न् उज्यालोमा सदा ।
नेपाली ब्याकरणको शब्दनिर्माण प्रक्रिया अनुसार अक्षर र वर्णको गन्तिमा फरक देखिनु या अलमलिनु नपरोस् भन्ने ध्येयले फरक फरक देखिने साइनोको उदाहरण पेश गरियो ।
 -कोहलपुर -४ , बाँके ।


ट्रेन्डिङ