समाजसेवी तथा शिक्षाविद् अङ्गुरबाबा जोशीको निधन

समाजसेवी तथा शिक्षाविद् अङ्गुरबाबा जोशीको निधन

काठमाडौं ७ असार । काठमाडौँको महाराजगञ्जस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा शनिबार समाजसेवी तथा शिक्षाविद् अङ्गुरबाबा जोशीको ८९ वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौँका डिल्लीबजारमा विसं १९८८मा जन्मिएकी जोशीको काठमाडौँस्थित पद्मकन्या क्याम्पस स्थापना गर्नमा प्रमुख योगदान छ । आणविक वैज्ञानिक डा। बलराम जोशीसँग विवाह गरेकी उनका दुई छोरी र एक छोरा छन् । जोशीले बनारसबाट राजनीति र संस्कृत शिक्षा तथा बेलायतबाट उच्च शिक्षा हासिल गरेकी थिइन् ।

जोशीको साहित्यमा क्षेत्रमा समेत रुचि राख्नुहुन्थ्यो । जोशीको विसं २०३२ सालमा ‘कथासङ्ग्रह’ निस्किएको छ ।विसं २०७४ वैशाखमा ‘अक्षर साधना र गोँधुली साँझ’ भन्ने आत्मकथासमेत प्रकाशन भएको छ।

जोशीको लगाव सामाजिक र शिक्षा क्षेत्रमा बढी रहेको थियो । आध्यात्मिक चिन्तक जोशीले युवराज्ञी हुँदा पूर्व रानी ऐश्वर्यलाई पढाएकी थिइन । तारागाउँ विकास समिति खडा गर्नमा उनको महत्वपूर्ण योगदान छ । पहिलो महिला क्याम्पस प्रमुख पनि हुन् उनी ।

उनी नेपाली नारीलाई शिक्षाको उज्यालो छर्न अथक प्रयास गरेकी छन् । विकृति–विसङ्गति हटाई आध्यात्मिक चेतना जगाउन उनले भूमिका खेलेकी छन् । शनिबार उनको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।



ट्रेन्डिङ