युवालाई प्रोत्साहन गर्ने खैरहनी नगरको नीति तथा कार्यक्रम

युवालाई प्रोत्साहन गर्ने खैरहनी नगरको नीति तथा कार्यक्रम

खैरहनी ६ असार । खैरहनी नगरपालिकाले युवाहरूलाई कृषिमा आकर्षित गर्ने नीति तथा कार्यक्रम ल्याएको छ । त्यसका लागि युवाहरूले व्यावसायिक रूपमा कृषि पेसा गर्न चाहे निर्व्याजी ऋण दिने भएको छ । नगरपालिकाको शनिवार सुरु भएको सातौँ नगर सभामा आगामी आर्थिक वर्ष २०७७र७८ का लागि नगर प्रमुख लालमणि चौधरीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै युवाहरूलाई कृषिमा आकर्षित गर्न मागमा आधारित योजनामा व्यावसायिक घुम्ती रिफण्ड कोष मार्फत निर्व्याजी ऋण उपलब्ध गराउने नीति लिइएको बताए ।

घुम्ती रिफण्ड कोषमा कति रकम विनियोजन गरिने भन्ने निर्णय असार १० गते हुने बजेट सार्वजनिक कार्यक्रममा सार्वजनिक हुनेछ । कृषिको सुधारका लागि माटो परीक्षण प्रयोगशाला, नयाँ कृषि प्रविधि थोपा सिँचाइ, मल्चिङ प्लास्टिक, पोली हाउस लगायतमा अनुदान उपलब्ध गराइने नगर प्रमुख चौधरीले बताए । माछापालन, मौरीपालन, केराखेतीलाई समेत प्रोत्साहन हुने खालका कार्यक्रम ल्याईने छ । धानवालीमा लाग्ने रोगको रोकथाम गर्न राष्ट्रिय धानवाली अनुसन्धान केन्द्र र रामपुर कृषि क्याम्पससँगको समन्वयमा नयाँ जातका धानवालीहरुको परीक्षण उत्पादन सुरु गरिने समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

त्यस्तै बेरोजगार तथा विदेशबाट फर्किएका युवालाई मागका आधारमा पशुपालन व्यवसाय सञ्चालनका लागि समेत घुम्ती कोष मार्फत निव्याजी ऋण दिइनेछ । पशुपालन व्यवसायको विकासका लागि उत्पादनका आधारमा अनुदान, बाख्रापालन प्याकेज कार्यक्रमलाई निरन्तरता दिइने नगर प्रमुख चौधरीले बताए । ‘खैरहनी कृषि र पशुपालनमा अब्बल छ’, नगर प्रमुख चौधरीले भने, – ‘कोरोना पछिको अवस्थालाई ध्यानमा राख्दै युवाहरूलाई यस तर्फ आकर्षण गर्ने नगरपालिकाको योजना छ ।’

कोरोनाको महामारी रहेका वेला खैरहनी नगरपालिकाले कोरोना नियन्त्रण रोकथाम तथा स्वास्थ्य उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सुरक्षा सामाग्रीको अभाव हुन नदिने, उचित प्रोत्साहन उपलब्ध गराउने, कठार स्वास्थ्य चौकीमा प्रयोगशाला सञ्चालन गर्ने, ६० वर्ष उमेर पुरा भएका महिला स्वास्थ्य स्वयम सेवीका सेवा निवृत्त हुँदा सङ्घीय सरकारको कानुन बमोजिम उपलब्ध हुने सुविधाका अतिरिक्त नगरपालिकाको तर्फबाट थप सुविधा प्रदान गरी सेवा निवृत्त प्रक्रियामा अनिवार्य गराइने नगरपालिकाले नीति लिएको छ ।

नीति तथा कार्यक्रममा नगर सदस्यहरूले जिज्ञासासहित राय पेस गरेका थिए । शनिवारको नगर सभामा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक टिकाराम तिमल्सीनाले लेखा प्रतिवेदन, न्यायिक समिति सदस्य वालकुमार उप्रेतीले सम्बन्धित समितिको प्रतिवेदन पेस गरे भने उपप्रमुख सुनिता थपलियाले नगर सभा असार १० गते सम्मका लागि स्थगित भएको जानकारी गराइन् ।

नगरपालिकाको सभाहल उद्घाटन- 
खैरहनी नगरपालिकाको परिसरमा निर्माण गरिएको सभाहलको उद्घाटन गरिएको छ । सभाहलको नगर प्रमुख लालमणि चौधरी र उपमेयर सुनिता थपलियाले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरे । कुल ६७ लाख ९१ हजारको लागतमा सभाहल निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए । उद्घाटन पछि सोही हलमा सातौँ नगरपरिषद गरिएको हो ।



ट्रेन्डिङ