गोरखा अस्पतालमा उपचाररत ८ जना कोरोना जितेर घर फर्किए

गोरखा अस्पतालमा उपचाररत ८ जना कोरोना जितेर घर फर्किए

गोरखा ६ असार । गोरखा अस्पतालमा उपचाररत ८ जना कोरोना जितेर घर फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूले जिल्ला अस्पताल गोरखाको आइसोलेसन वार्डमा उपचार गराइरहेका थिए । पछिल्लो पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरी घर पठाइएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए ।

अस्पतालबाट डिस्चार्ज हुनेहरूमा गण्डकी गाउँपालिकाका चार जना, भीमसेन थापा गाउँपालिकाका दुई जना, पालुङटार नगरपालिकाका एक र काभ्रे पाँचखालका एक जना रहेको ढकालले बताए । ‘२ साता आइसोलेसनमा बसेर २ पटकसम्म गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि शनिबार घर पठाएका हौँ’ उनले भने ‘आइसोलेसनमा बस्दा उनीहरूका कुनै लक्षण देखिएको थिएन । अस्पतालले २ पटक पीसीआर जाँच गर्दा रिपार्ट नेगेटिभ आएपछि मात्रै घर पठायौँ ।’

गोरखा अस्पतालको आइसोलेसन वार्डबाट ८ जना डिस्चार्ज भएपछि अब १६ जना उपचाररत रहेका छन् । जिल्लाभर संक्रमितको संख्या ४० पुगेको छ ।



ट्रेन्डिङ