कालिका नगरपालिकाको छैठौं नगरसभा आजदेखि सुरु, कृषि, स्वास्थ्य क्षेत्र प्राथमिकतामा – ( पूर्ण पाठ सहित )

कालिका नगरपालिकाको छैठौं नगरसभा आजदेखि सुरु, कृषि, स्वास्थ्य क्षेत्र प्राथमिकतामा – ( पूर्ण पाठ सहित )

पिविएम न्यूज
कालिका ५ असार । कालिका नगरपालिकाको छैठौं नगर सभा आजदेखि सुरु भएको छ । नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले सरोकारवालाहरुका बीच नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । यो वर्ष नगरपालिकाले कोरोना कोभिड १९ को महामारीको जोखिमबाट नगरबासीलाई सुरक्षित गर्ने कार्यलाई प्रमुख प्राथमिकतामा राखेको छ । महामारी नियन्त्रणका लागि नगरपालिकाले आफ्नो सम्पूर्ण सामथ्र्य प्रयोग गर्ने आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेको छ । कोरोनाका कारण रोजगारी गुमाएका वा वैदेशिक रोजगारी गुमाई घर फर्किएका नागरिकलाई रोजगारी सिर्जना गर्ने कार्यलाई भने आगामी वर्षको प्राथमिकतामा रहने समेत नीति तथा कार्यक्रममा भनिएको छ ।

यसैबीच भूमीहीन र विपन्न जनताका लागि संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी भूमिहीन बाढी पिडीत र अव्यवस्थि रुपमा बसोबास गरिरहेका जनताको आवासको हक सुनिश्चित गर्ने नीति अबलम्बन गरिने नीति तथा कार्यक्रममा भनिएको छ । नगरपालिकाले यो वर्षपनि जनताका लागि मेयर आवास कार्यक्रमलाई निरन्तरा दिएको छ । सहरीकरणलाई व्यवस्थित गर्न खुल्ला स्थानहरुको प्रयाप्त व्यवस्था गरी खुल्ला पार्कहरुलाई सार्वजनिक खुल्ला व्यायमशालाको रुपमा विकास गर्ने र विस्तार गर्दै लैजाने कार्यक्रमलाई यो वर्ष थप गरेको छ । सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्ने जस्ता कार्यक्रम यो वर्षपनि संचालन गरिनेछ ।

नगरपालिकाले यो वर्ष आर्थिक विकास कार्यक्रम अन्तर्गत कृषि, उद्योग, बाणिज्य, पर्यटन, सहकारी र वित्तिय क्षेत्रलाई समेत प्राथमिकतामा राखेको छ । कोरोना महामारीका कारण विदेशवाट फर्किएका युवाहरुका लागि कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्ने नीति लिएको छ । यस्तै कृषि उद्यमलाई प्रोत्साहन गर्न समुदायमा आधारित बजार व्यवस्थापन गर्ने, नगरस्तिरीय विक्री केन्द्रहरुको स्थापना र संचालन गर्ने नीति छ । कृषि क्षेत्र अन्तर्गत नै नयाँ प्रविधिमा आधारित माछापालनका लागि इच्छुक कृषकहरुलाई तालिमको व्यवस्था गरी प्रविधिमा अनुदानको व्यवस्था गरी माछापालनलाई आकर्षक व्यवसायको रुपमा विकास गर्ने नीति छ । यस्तै नगरपालिकाको सामाजिक विकास तर्फ खेलकुद, संस्कृति प्रवद्र्धन, खानेपानी, स्वास्थ्य तथा लैङ्गिक सामानता र सामाजिक समावेशीकरणको नीतिलाई यो वर्ष पनि प्राथमिकतामै राखिएको छ ।

विपन्न तथा दलित छात्र छात्रालाई उच्च प्राविधि शिक्षामा अनुदान दिने, व्यवसायिक शिक्षामा जोड दिँदै जेहेन्दार तथा विपन्न छात्रवृतिका कार्यक्रम संचालनत गर्ने र आवासीय छात्राबासको व्यवस्था गरी शिक्षामा पहुँच विस्तार गर्ने नीतिलाई निरन्तरता दिइएको छ । प्रदेश सभासंग समन्वय गरी क्याम्पस संचालनका लागि पहल गर्ने नगरको योजना छ । यसैबीच पूर्वाधार विकास तर्फ उर्जा, संचार, स्थानीय सडक पुल, सिंचाई, खानेपानी पूर्वाधार, भवन तथा सहरी विकासका कार्यक्रमलाई पनि यो वर्ष नगरले आफ्नो नीति तथा कार्यक्रममा प्राथमिकतामै राखेर समावेश गरेको छ । नगरपालिकाले सडकको स्थानीय मापदण्ड तयार गरी लागु गर्ने भनेको छ । स्थानीय सडकलाई अभिलेखीकरण गरी सडकको अधिकारक्षेत्र छुट्टाई सडक किनारमा फूटपाथ निर्माण र हरियाली बनाउने गुरुयोजना तयार गर्दै अगाडी बढ्ने नीति छ ।

नगरपालिकाले चक्रपथ निर्माण तथा नगरभित्रका सहायक सडकहरुलाई मुख्य सडक संजालसँग जोड्ने कार्यलाई प्राथमिकता दिएको छ । सबै सडकहरु कालोपत्रे गर्दै लगिनेछ । पहाडी मार्ग निर्माणलाई प्राथमिकता दिइनेछ । सबै वडाहरुबाट माग भएका आयोजनाहरुको सुचीकरण गरी योजना बैंक तयार गर्ने र आगामी आर्थिक वर्षहरुमा सोही योजना बैंकबाट आयोजना छनौट गरी कार्यान्वयन गर्दै लैजाने गरी विकासको योजना तयार गरिनेछ । यस्तै निमार्ण सामाग्रीहरुको गुणस्तर सुनिश्चित गर्न निर्माण सम्बन्धी एक आधुनिक प्रविधियुक्त प्रयोगशाला स्थापना र संचालन गरिनेछ । यस्तै कयरखोला र सिन्ती खोलामा पक्की पुल निर्माण गरी दुर्गम भौगोलिक अवस्था भएको वडा नं. १० र ११ लाई यातायात प्रणालीमा जोड्ने कार्यक्रमलाई कार्यान्वयन गर्ने योजना छ । खगेरी खोलामा पुल निर्माण गरी भरतपुर महानगरपालिका सम्मको आवागमनलाई थप सहज तुल्याईनेछ ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले मानवजीवनको रक्षा कसरी गर्ने पहिलो कर्तव्यको रुपमा आइरहेकोले सोही अनुसारका योजान ल्याउन सुझाव दिएका छन् । केन्द्र देखि स्थानीय तह सम्मले मानवजीवन रक्षाका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बेला आएको बताए । कोरोना कोभिड १९ लाई लक्षित गरेर कालिकाले व्यवस्थापन गरेको क्वारिन्टनको प्रशंसा गर्दै प्रतिनिधि सभा सदस्य पोखरेलले अन्य विकासका काममा पनि यसैगरी एकजुट भएर लाग्न सबैलाई सुझाव दिए ।
नगरसभाको प्रमुख अतिथि समेत रहेका सांसद पोखरेलले कृषि क्षेत्रमा मात्रै १ करोड ४ लाख रुपैयाँ कालिका नगरपालिकाको लागि बजेट विनियोजन गरिएको बताए । ‘केन्द्रीय योजना र प्रदेश सरकारका योजना बाहेक यो रकम विनियोजन गरिएको हो’ उनले भने । समग्रमा कालिका नगरपालिकाले ८० करोड रुपैयाँको बजेट पाउँने बताए । खासगरी विदेशवाट महामारीका कारण घर फर्कीकाहरुलाई नेपालमै स्वरोजगार बनाउन ६३ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । यो रकम उनीहरुलाई तालिम दिएर दक्ष बनाउनका लागि खर्च गर्ने गरी विनियोजन गरिएको बताए ।

यसैगरी कालिका नगरपालिकामा स्वास्थ्य क्षेत्रको विकासका लागि २ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो केन्द्रीय सरकारले छुट्याएको बजेट हो । कार्यक्रममा प्रदेश सांसद घनश्याम दाहाल अविनाशले जनताको जीवनलाई कसरी सुरक्षित गर्ने विषयमा प्रदेश सरकार गम्भीर रहेको बताए । उनले सोही अनुसारको नीति तथा कार्यक्रमलाई प्रदेशले प्राथमिकतामा राखेको जानकारी दिए । जनतालाई रोजगारीको व्यवस्थापन सम्म कसरी लैजाने विषयमा हाम्रा योजना तथा नीति केन्द्रीत छ उनले भने । सबै स्थानीय तह सम्म पिसिआर रिपोर्ट पाउने वातावरण देखि बाल मृत्युदर घटाउने योजनाहरु प्रदेश सभाले प्राथमिकतामा राखेको जानकारी दिए । प्रदेश सांसद दाहालले स्वास्थ्य तथा सामाजिक क्षेत्र अन्तर्गत संवेदनशील रोगमा १ लाख बराबरको सहयोग पाउँदै आएका विरामीले थप ५० हजार रुपैयाँ पाउने छन् ।

वागमती प्रदेश भित्रका विरामीले यो सेवा पाउने उनले बताए । यस्तै बुबा आमा नभएका बालबालिकाहरुलाई प्रति महिना २ हजार रुपैयाँ सहयोग पाउनेछन् । यो पटक एक स्कुल एक नर्स कार्यक्रमलाई प्रदेशसभाले निरन्तरता दिएको छ । जस अनुसार कालिका नगरपालिकामा यो कार्यक्रम २ वटा स्कुलमा थप गरिएको जानकारी दिए । यस अघि २ वटा स्कुलमा यो कार्यक्रम संचालनमा थियो । यस्तै प्रदेशहरुमा आवाशीय स्कुलहरु बनाउने क्रममा कालिका नगरपालिकामा १ वटा आवाशीय स्कुल बनाउने योजना छ । ‘पहिला देखिकै योजना हो सांसद दाहालले’ भने । चेपाङ समुदायलाई लक्षित गरेर संचालन गर्ने विषयमा छलफल जारी रहेको उनले बताए । आगामी नगरपरिषदको बैठक असार १० गते बस्ने छ ।

आर्थिक बर्ष २०७७/०७८ को

बार्षिक नीति तथा कार्यक्रम

(मस्यौदा)

कालिका नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

रेडक्रसग्राम, चितवन

२०७७

कालिका नगरपालिकाको नगर सभाको बैठकमा २०७७ साल असार ५ गते नगरप्रमुख श्री खुमनारायण श्रेष्ठले प्रस्तुत गर्नुभएको

 

आर्थिक बर्ष २०७७/०७८ को

बार्षिक नीति तथा कार्यक्रम

नगरसभाबाट स्वीकृत मितिः ……………..

कालिका नगरपालिका

नगर कार्यपालिकाको कार्यालय

रेडक्रसग्राम, चितवन

२०७७

 

आर्थिक वर्ष २०७/०७८ का लागि कालिका नगरपालिकाको नगरसभाको  छैठौ अधिवेशनको पहिलो बैठकमा

प्रस्तुत बार्षिक नीति तथा कार्यक्रम

संघीय व्यवस्थापिका संसद कानून न्याय तथा मानव अधिकार समितिको सभापति एवं प्रतिनिधी सभाका माननीय सदस्य कृष्णभक्त पोखरेलज्यू,

बागमती प्रदेश सभाका माननीय सदस्य एवं प्रदेश सभाका शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहालज्यू,

श्री उपप्रमुखज्यू ,

नगर सभाका सदस्यज्यूहरु

नेपाल सरकारको निर्णयानुसार मिति २०७२ असोज १ गते स्थानीय निकायको रुपमा र विक्रम संवत् २०७३ साल फागुन २७ गते स्थानीय तहको रुपमा स्थापना भएको यस कालिका नगरपालिका संविधानतः एक स्थानीय सरकारको रुपमा स्थापना भई नगरबासीको सेवा र नगरको समग्र विकासमा समर्पित नगरपालिका हो। यस नगरपालिकाले नगरबासी जनताको सार्वभौम अधिकार, स्वतन्त्रता र स्वःशासनको अधिकारलाई आत्मसात गर्दै, नगरबासीहरुमा संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल अनुभूती गराउन प्रतिवद्ध रहदै,  नगरबासीको समृद्धि र सुशासन सहितको समग्र विकासको जनादेशलाई शिरोपर गर्दै आएको छ । नगरबासीको जनादेशलाई आफ्नो मार्गदर्शनको रुपमा पालना गर्दै सोही बमोजिम आफ्ना प्रशासनिक तथा विकासका क्रियाकलापहरु सञ्चालन गर्दै आएको यस नगरपालिका विभेदमुक्त समाज निर्माण एवं साँस्कृतिक, धार्मिक र भौगोलिक रुपमा विविधतायुक्त नगरपालिकाको विशिष्ट संरचनालाई आत्मसात गरी विविधता सहितको एकता र ऐक्यवद्ध सामाजिक संरचना र सहिष्णुता एवं सद्भावयुक्त समाजलाई प्रवर्धन गरी आर्थिक, सामाजिक रुपमा समृद्ध सामाजिक न्याय सहितको अनुकरणीय नगरपालिका निर्माण गर्ने संकल्पका साथ अघि बढी रहेको छ । विकासप्रतिको उत्कट चाहना, दूरदृष्टि सहितका विकासका दुरगामी योजनाहरु, विकासमा जनताको सहभागिता, सन्तुलित राजनीतिक सम्बन्ध, सार्वजनिक निजी साझेदारी, जनमुखी, स्वच्छ र उत्तरदायी प्रशासन मार्फत नगरपालिकालाई बैभवशाली र समृद्ध स्थानीय तहको रुपमा स्थापित गर्ने दिशामा कालिका नगरपालिका अगाडि बढेको छ ।

विश्वभर मानव जातीकै अस्थित्वमा गम्भीर चुनौतिका रुपमा देखिएको कोभिड १९ को महामारीको संकटपूर्ण यस घडिमा समेत नगरबासीको स्वास्थ्य र जीउको सुरक्षाको जिम्मेवारी वोध गरी अविचलित रुपमा नगरपालिकाले संक्रमणको रोकथाम, नियन्त्रण र स्वास्थ्य सुरक्षाका कार्यहरु गर्दै आएको छ । यस सिलसिलामा जनप्रतिनिधीहरु, राजनीतिकर्मीहरु, नगरबासी युवाहरु,  स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, शिक्षक, पेशाकर्मीहरु र समग्र नागरिक समाजको स्वतःस्फूर्त साथ र सहभागिताले झन् उत्साह र आत्मबल प्राप्त भएको छ र उहाँहरु धन्यवादका पात्रहरु हुनुहुन्छ। संकटको घडीमा नगरपालिकाको यस कार्यमा आर्थिक र नैतिक रुपले साथ दिनुहुने उद्योगीहरु, व्यापारीहरु, गैर सरकारी संस्थाहरु, सहकारी तथा वित्तिय संस्थाहरु, समुदायमा आधारित संस्थाहरु, स्वतःस्फुर्त रुपमा लागेका अभियन्ताहरु, प्रेस तथा मिडियाकर्मीहरु सबैमा धन्यवाद व्यक्त गर्न चाहन्छु र आगामि दिनमा समेत यस्तै साथको अपेक्षा गरेको छु ।

छोटो संस्थागत इतिहास भएको  नगरपालिकाको सिमित श्रोत र साधनबाट नगरबासीहरुको उच्च आकांक्षा र आवश्यकता पूरा गर्नु चुनौतिपूर्ण भए पनि प्रस्तावित प्रदेशस्तरको ‍औधोगिक क्षेत्रको कार्यान्वयन, सङ्घीय सरकार, प्रदेश सरकार, दातृ निकायहरु तथा निजी क्षेत्र र नगरपालिकाबाट सञ्चालन हुने आर्थिक विकास तथा पूर्वाधार विकासका कार्यहरुले समृद्ध कालिका नगरपालिका निर्माणको यात्रामा सुनौला सम्भावना र अवसरहरु प्राप्त हुने देखेको छु । जन निर्वाचित स्थानीय सरकारको रुपमा रहेको नगर कार्यपालिकाले आफ्ना तीन बर्षमा नगरक्षेत्रको विकासको ठोस आधारहरु तयार गर्न सफल भएको अनुभव गरेको छ । तथापी अग्रगामी विकास र आर्थिक समृद्धिका लागि विकासका उपयुक्त नीति, योजना र कार्यक्रम छनौट, तर्जुमा र कार्यान्वयनको विस्तृत  कार्ययोजना बनाएर अघि बढ्नु अनिवार्य शर्त भएको महसुस पनि गरेको छ ।

प्रतिनिधी सभाका माननीय सदस्यज्यू

प्रदेश सभाका माननीय सदस्यज्यू

नेपालका संघीय व्यवस्थापिका संसदका माननीय सांसदज्यू र बागमती प्रदेश सभाका माननीय सांसदज्यूबाट यस नगरसभालाई भएको सम्बोधनले नगरसभाको बैठकको गरिमा वृद्धि भएको महसुस गरेको छु । यस क्षणमा मुलुकमा सामाजिक न्याय, नागरिक स्वतन्त्रता, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका निम्ति आफ्नो प्राण बलिदानी गर्ने सम्पूर्ण ज्ञात अज्ञात वीर शहिदहरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु र घाईतेहरु प्रति समेत सम्मान प्रकट गर्न चाहन्छु ।कालिका नगरपालिकाको निर्वाचित नगर सभा, नगर कार्यपालिका वा स्थानीय सरकारको प्रमुखको हैसियतले यस नगरसभाको छैठौ अधिवेसनको पहिलो बैठकमा आगामी आर्थिक वर्ष २०७7/७8 मा अवलम्बन गरिने विकासका नीतिहरु यहाँहरु समक्ष प्रस्तुत गर्न चाहन्छु र यसबाट नगरको समग्र विकासमा एक नयाँ आयाम थपिने अभिलासा समेत लिएको छु ।

  1. हाल विश्वभर फैलिरहेको कोभिड 19 को महामारीको जोखिमबाट नगरबासीहरुलाई सुरक्षित गर्ने कार्य नगरपालिकाको सर्वोच्च प्राथमिकतामा रहेको छ । कोभिड 19 रोकथाम र नियन्त्रणका लागि नगरपालिकाले आफ्नो सम्पूर्ण सामर्थ्य प्रयोग गर्नेछ । यस्तै रोगबाट फैलन सक्ने महामारी, प्राकृतिक विपद् तथा वर्षाको समयमा हुने धन जनको क्षतीलाई मध्यनजर गर्दै यसै वर्ष विपद् व्यवस्थापन कोषको वृद्धि गरी थप प्रभावकारी बनाइनेछ । विपद्को पूर्व सतर्कता, प्रतिकार्य, राहत तथा पुनःस्थापना तथा पुनःनिर्माणलाई उच्च प्राथमिकतामा राखी कोषको परिचालन गरिनेछ।साथै, कोभिड १९ को कारण रोजगारी गुमाएका वा वैदेशिक रोजगारी गुमाई घर फर्किएका नागरिकहरुलाई रोजगारी सिर्जना गर्ने कार्य आगामी बर्षको प्राथमिकतामा रहनेछ।
  2. भूमीहीन र विपन्न जनताको लागि संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी भूमिहीन बाढीपिडित र अव्यवस्थित रुपमा बसोबास गरिरहेका जनताको आवासको हक सुनिश्चित गर्ने नीति अबलम्बन गरिनेछ ।संविधान प्रदत्त आवासको मौलिक हकलाई सारभुत गराउन गत आर्थिक वर्षबाट सञ्चालनमा रहेको विपन्न जनताका लागि मेयर आवास कार्यक्रमलाई निरन्तरता दिईनेछ।
  3. सहरीकरणलाई व्यवस्थित गर्न खुला स्थानहरुको प्रयाप्त व्यवस्था गरी खुल्ला पार्कहरुलाई “सार्वजनिक खुल्ला व्यायमशाला” को रुपमा विकास र विस्तार गर्दै लगिनेछ । सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्ने र खुल्ला स्थानहरुको संरक्षणका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  4. मुलुक र जनताको स्वतन्त्रता, अधिकार र प्रजातान्त्रिक व्यवस्थाका लागि संघर्ष गर्ने महान व्यक्तिहरुको नामबाट बाटिका निर्माण गरी सहरी सौन्दर्यतामा अभिवृद्धि गर्ने र राष्ट्रियतामा टेवा पुर्‌याउने खालका कार्यक्रमहरु सञ्चालन गर्ने नीति लिईने छ ।

आर्थिक विकासः कृषि, उद्योग, वाणिज्य, पर्यटन, सहकारी वित्तिय क्षेत्र

  1. समग्र कृषिक्षेत्रलाई व्यवसायीकरण गरी कृषि तथा पशुपंक्षीजन्य व्यवसायलाई सहुलियत, कर छुट तथा कृषि उद्यमहरुलाई अनुदान समेतको व्यवस्था गरी कोभिड -19 का कारण विदेशबाट फर्किएका युवाहरुको लागि कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्ने नीति लिईनेछ ।
  2. कृषि उद्यमलाई प्रोत्साहन गर्न समुदायमा आधारित बजार व्यवस्थापन गर्ने, नगरस्तरीय विक्रि केन्द्रहरुको स्थापना र सञ्चालन गर्ने साथै उत्कृष्ट कृषकलाई प्रोत्साहन गरी युवा जमातलाई व्यवसायिक कृषितर्फ आकर्षित गर्ने नीति अवलम्बन गरिनेछ ।
  3. आर्थिक विकासमा कृषि क्षेत्रको योगदानलाई वृद्धि गर्न कृषि क्षेत्रको विविधिकरण, व्यवसायिकरण र आधुनिकीकरण गर्दै लैजाने नीति लिइनेछ । विभिन्न खेतीहरुको जोन र पकेट क्षेत्र अनुसार कार्यक्रमहरु सञ्चालन गर्ने, कृषि क्षेत्रमा यान्त्रिकरण गर्दै उत्पादनको लागत न्यूनीकरण गरी कृषि उत्पादनलाई प्रतिस्पर्धात्मक बनाईनेछ ।
  4. बाँझो रहेका जग्गा तथा परम्परागत निर्वाहमुखी खेती भएका जग्गामा आधुनिक व्यवसायिक खेतीका लागि “भूमी बैंक” को अवधारणा बमोजिम खेतीयोग्य जमिनको सूचीकरण गरी युवाहरुलाई कृषि उद्यममा लगाउने कार्यक्रम सञ्चालन गरिनेछ ।
  5. खाद्यान्न बालीलाई प्रवर्द्धन गरी खाद्यान्नमा आत्मनिर्भर नगरपालिका बनाउन खाद्यान्न बाली लगाउने कृषकहरुको क्षमता विकास गर्ने र विद्यालय खाजा कार्यक्रममा स्थानीय उत्पादनलाई अनिवार्य गरिने नीति लिईनेछ ।
  6. नयाँ प्रविधिमा आधारित माछापालनका लागि इच्छुक कृषकहरुलाई तालिमको व्यवस्था गरी प्रविधिमा अनुदानको व्यवस्था गरी माछापालनलाई आकर्षक व्यवसायको रुपमा विकास गर्ने नीति अख्तियार गरिनेछ ।
  7. दुग्ध उत्पादक कृषक र सहकारी वा ब्यापारीबीच, पशुजन्य, फलफूल तथा तरकारी उत्पादक कृषक र बजारबीचको उचित मूल्य श्रृंखला कायम गरी कृषकहरुको उत्पादनको यथोचित मूल्य प्रदान गर्न नगरपालिका संघीय, प्रादेशिक तथा स्थानीय कानून बमोजिम सहजीकरण र नियमनका उपायहरु अबलम्बन गरिनेछन ।
  8. दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न सहकारी र निजी क्षेत्रसँगको सहकार्यमा अनुगमन गरी दुग्ध उत्पादक कृषकहरुको व्यवसायिक क्षमता विकास, उत्पादनको बजारीकरण र पशु तथा बाली विमा लगायतका उत्प्रेरणाको कार्यक्रमहरु सञ्चालन गरिनेछ । दुग्ध उत्पादक कृषकहरुलाई प्रोत्साहन गर्ने साविकको कार्यक्रमलाई निरन्तरता दिईनेछ । आगामी आर्थिक बर्षमा पंक्षीजन्य र तरकारी तथा फलफूल उत्पादन गर्ने कृषकहरुलाई समेत उत्प्रेरणाका कार्यक्रम सञ्चालन गर्ने नीति लिईनेछ ।
  9. कृषि खेतीलाई व्यवसायीकरण, बजारीकरण र विस्तारीकरणको लागि आवश्यक पर्ने पूर्वाधार सिंचाइ, शितगृह, संकलन केन्द्र, माटो परीक्षण र सामुहिक खेती तथा कृषि सञ्जालीकरण मार्फत नगरपालिका क्षेत्रभित्र कृषि उत्पादको प्रवर्धनमा जोड दिने नीतिलाई निरन्तरता दिइनेछ।
  10. यस नगरपालिका क्षेत्रमा प्रस्ताव गरिएको औधोगिक क्षेत्रको स्थापना र सञ्चालनमा यस नगरपालिकाका उद्योगीहरुको हक र हीत सुनिश्चित गर्ने गरी औधोगिक क्षेत्रको आधार तयार गर्न नगरपालिका प्रयत्नशिल रहनेछ । उद्यम विकास तथा व्यवसाय प्रवर्द्धनको कार्यक्रम सञ्चालन तथा सहुलियतपूर्ण ऋणका लागि बैंक तथा वित्तिय संस्थाहरुसँग समन्वय गरी नगरपालिका भित्र नयाँ उद्योगी व्यवसायीहरु तयार गर्ने नीति लिईनेछ ।
  11. नगरपालिका भित्रका सहकारी, बाणिज्य बैंक, विकास बैंक लगायतका वित्तिय सस्थाहरुसँग सहकार्य गरी लघु, घरेलु तथा साना उद्योगहरुलाई लघु वित्त, लघु कर्जा लगायतका वित्तिय सेवा प्रदान गरी स्वरोजगार बन्न प्रेरित गर्ने र सीपमा आधारित श्रममूलक उद्योगहरुको विकास र प्रवर्द्धन गर्ने कार्यक्रमहरु सञ्चालन गरिनेछ । स्थानीयहरुमा सीप विकास गरी बाह्य मुलुकका नागरिकहरुले गर्ने उद्यमहरुमा समेत स्थानीयलाई स्थापित गर्ने कार्यक्रमहरु सञ्चालन गरिनेछ।
  12. कोभिड -19 का कारण रोजगारी गुमाएका र कामको खोजीमा रहेका श्रमिकहरुलाई स्थानीय विकासका कार्यक्रमसँग जोड्ने माध्यमको रुपमा संघीय सरकारबाट हस्तान्तरण भई आएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उपयोग गर्ने नीति अवलम्बन गरिनेछ । रोजगारिका लागि विदेशिनु पर्ने बाध्यतालाई अन्त्य गर्न “युवा रोजगार कार्यक्रम” सञ्चालन गरिनेछ।
  13. संघीय सरकारबाट हस्तान्तरित भई आएको गरिबसँग विश्वेश्वर कार्यक्रम मार्फत साना तथा लघु उद्यमको विकास गरी विपन्न समुदायको जीविकोपार्जन र आर्थिक विकासका कार्यक्रमहरु सञ्चालन गरिनेछन ।
  14. उद्यम विकासको लागि स्थानीय युवाहरुलाई मार्गदर्शन गर्न र उद्योग स्थापना, सञ्चालन र लागत प्रतिफल दरका विषयमा जानकारी गराउन लघु तथा साना उद्यमसँग सम्बन्धित विज्ञ तथा उद्यमीहरु सहितको टोलीबाट अध्ययन गराई उद्यमहरुको विस्तृत स्किम सहितको उद्यम प्रोफाइल तयार गरिनेछ ।
  15. चालु आर्थिक बर्षमा स्थापना भएको महिला उद्यमी प्रवर्द्धन कोषको प्रभावकारी परिचालन मार्फत महिलाहरुलाई उद्यमी बनाउदै महिलाहरुलाई आर्थिक रुपमा समेत सशक्तिकरण गर्दै लैजाने नीति लिइनेछ ।
  16. नगरपालिकाको सुन्दर भौगोलिक अवस्थिती सिन्ति झरना, चित्राम झरना, पर्यटन पदमार्ग, उपदाङगढीसम्मको हाइकिङ,लट्टेश्वर महादेव मन्दिर, कालिका मन्दिर, भ्युटावर, भीमबली सामुदायिक पार्क, उदयपुर सामुदायिका पार्क लगायतका सम्भावनायुक्त क्षेत्रहरु छन । पर्या-पर्यटनलाई आर्थिक विकासको मुख्य आधार बनाउने गरी पर्यटन विकासका लागि पर्यटन गन्तव्यस्थलहरुको पहिचान र विकास गर्दै लगिने नीति अबलम्बन गरिनेछ ।
  17. पर्या-पर्यटन विकास र भू-जलाधारको संरक्षण एवं जलवायु अनुकुलनका लागि नगरपालिका क्षेत्र भित्रका प्राकृतिक सम्पदाहरुको संरक्षण र विकासका लागि सबै पक्षको सहभागितामा कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  18. सहकारी क्षेत्रलाई नगरपालिकाको आर्थिक र सामाजिक विकासमा क्रियाशिल गराउन सहकारी संस्थाको क्षमता विकास गरी यस क्षेत्रलाई उत्पादनमा प्रोत्साहन गर्ने र संस्थाका क्रियाकलापहरुमा पारदर्शिता र व्यवसायिकताको विकास गरी समग्र सहकारी क्षेत्रको व्यवस्थापन र नियमन गरिनेछ ।

 

सामाजिक विकासः शिक्षा, खेलकुद, संस्कृति प्रवर्धन, खानेपानी, स्वास्थ्य तथा लैङ्गिक समानता र सामाजिक समावेशीकरण

  1. आधारभुत शिक्षामा सबैको पहुचको राष्ट्रिय नीतिलाई टेवा पुर्‌याउनका लागि शिक्षामा विशेष सहयोगको नीति अवलम्बन गरिनुका साथै उच्चस्तरीय तथा गुणस्तरीय शिक्षामा सर्वसाधारण र विपन्न परिवारको समेत पहुँच स्थापना गर्ने नीति लिइनेछ । यसका लागि विपन्न तथा दलित छात्र छात्रालाई उच्च प्राविधिक शिक्षामा अनुदान दिने, व्यवसायिक शिक्षामा जोड दिदै, जेहेन्दार तथा विपन्न छात्रवृतिका कार्यक्रमहरु सञ्चालन गर्ने र आवासीय छात्रावासको व्यवस्था गरी शिक्षामा पहुँच विस्तार गर्ने नीतिलाई निरन्तरता दिइनेछ। प्रदेश सँग समन्वय गरी क्याम्पस सञ्चालनका लागि पहल गरिनेछ ।
  2. सामुदायिक विद्यालयमा विद्यार्थीको भर्ना बढाउन साविकको पूर्वप्राथमिक शिक्षामा विद्यार्थी भर्ना प्रोत्साहन, दिवा खाजा कार्यक्रम, पूर्व प्राथमिक शिक्षिकाहरुको क्षमता विकास, प्रविधिमा आधारित शिक्षण सिकाई प्रणालीको विकास, अतिरिक्त क्रियाकलाप तथा खेलकुदको विकास तथा सामुदायिक विद्यालयमा भौतिक पूर्वाधार र यातायातको व्यवस्था गरी सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण वृद्धि गर्ने नीति लिइनेछ ।
  3. नगरपालिकाको शैक्षिक गुणस्तर सुदृढीकरणका लागि विद्यालयको समग्र व्यवस्थापन क्षमता अभिवृद्धि गर्नु महत्वपूर्ण हुन्छ । प्रधानाध्यापकहरुलाई व्यवस्थापन तालिम र कार्यसम्पादन करार मार्फत नतिजामुखी व्यवस्थापनमा जोड दिने, निरन्तर अनुगमन, उत्कृष्‍ट विद्यालय र शिक्षकहरुलाई प्रोत्साहन, दण्ड र पुरस्कारको उचित प्रयोगबाट शिक्षकहरुमा सकारात्मक उत्प्रेरणा जागृत गराउने कार्यक्रम सञ्चालन गरिनेछ । विद्यालयमा रहेका शिशु शिक्षिकाहरुलाई प्रोत्साहन, चेपाङ, थारु, विपन्न, दलित, पिछडा वर्ग र सिमान्तकृत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
  4. कोभिड 19 बाट अभिभावक गुमाउने बालबालिकाहरुलाई पठनपाठनको व्यवस्था मिलाइनेछ ।
  5. उत्कृष्ट नतिजा हासिल गर्ने विषयका शिक्षकहरु र विद्यार्थीहरुलाई पुरस्कृत गर्ने साविककै कार्यक्रमलाई निरन्तरता दिने, प्रविधिमा आधारित शिक्षण प्रणाली लागु गर्न विद्यालयलाई प्रोत्साहन गर्ने, विद्युतीय पुस्तकालयको व्यवस्था र प्रविधियुक्त शिक्षाको व्यवस्था गरी शिक्षाको गुणस्तर वृद्धि गर्ने नीति लिईनेछ ।
  6. शिक्षक र विद्यार्थीको अनुपात तथा विद्यालयमा शिक्षक आवश्यकता र मौजुदा शिक्षकहरुको संख्या हेरी शिक्षकहरुको दरबन्दी मिलान गर्ने कार्य आगामी शैक्षिक सत्रमा पुरा गरिनेछ । दरबन्दी कम भइ कक्षा सञ्चालन गर्न नसकेका विद्यालयको शिक्षक व्यवस्थापनलाई प्राथमिकता दिईनेछ ।
  7. नगरपालिका भित्र समग्र खेलकूदको विकासको लागि स्थानीय संयन्त्र खडा गरी खेलकूदको विकासको लागी नगरस्तरीय पूर्वाधार निर्माण गरिनेछ । विद्यालयका खेलकूद शिक्षकहरुलाई समेत तालिमको व्यवस्था गरी खेलकूदको विकासमा विद्यालयलाई केन्द्र बनाएर कार्यक्रम तर्जुमा गरिनेछ ।
  8. साँस्कृतिक पहिचान झल्कने खालका साँस्कृतिक क्रियाकलापहरुमा जोड दिदै अन्य धार्मिक, ऐतिहासिक, तथा पुरातात्वीक सम्पदाहरुको पहिचान, विकास एवं व्यवस्थापनमा जोड दिने नीति अवलम्बन गरिनेछ । कालिका नगरपालिकाका लोपोन्मुख संस्कृतिको संरक्षण र विकासमा विशेष ध्यान दिइनेछ ।
  9. नगरपालिका भित्र स्वच्छ र सुलभ खानेपानीको आपुर्तीलाई प्राथमिकतामा राखिनेछ। नगरपालिका भित्रका विभिन्न क्षेत्रमा खानेपानीको समस्यालाई व्यवस्थित गर्न हाललाई भूमीगत स्रोत र पहाडी भूभागमा सतही पानीका स्रोतलाई व्यवस्थित गरी खानेपानीको व्यवस्थापन गर्ने नीति लिइनेछ ।
  10. खानेपानीको मुहान संरक्षण र खानेपानीको शुद्धता परीक्षण गरी नगरबासीहरुलाई शुद्ध खानेपानीको व्यवस्था गर्ने र खानेपानी उपभोक्ता समितिहरुको क्षमता विकास गरिनेछ ।
  11. विकासका अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय साझेदारहरुसँगको सहकार्यमा वातावरण र पर्यावरणीय प्रणालीको संरक्षणका कार्यक्रमहरु सञ्चालन गरिने छ । वातावरण मैत्री स्थानीय शासन तथा पूर्ण सरसफाईयुक्त नगरपालिका बनाउनको लागि आवश्यक कदम चालिनेछ ।
  12. नगरपालिकाका सडक किनारा, खोलाकाका कोरिडोरहरु र खाली सार्वजनिक जग्गाहरुमा वृक्षारोपण गरी हरियाली प्रवर्द्धन गरी “हरित शहर” निर्माण गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
  13. स्वास्थ्यलाई नगरबासीहरुको आधारभूत हकको रुपमा स्थापना गर्ने नीतिको निरन्तरता दिदै स्वास्थ्यमा सबैको पहुँच विस्तार गर्ने खालका कार्यक्रम सञ्चालन गरिनेछ । नगरपालिकामा १५ शैयाको अस्पतालको स्थापना र सञ्चालन, प्रत्येक वडामा कम्तिमा एक स्वास्थ्य संस्था स्थापना र सञ्चालन गरिनेछ । अस्पतालमा विशेषज्ञ डाक्टरहरुको सेवा प्रदान गर्ने, स्वास्थ्य संस्थाहरुबाट निशुल्क औषधिको उपलब्धता सुनिश्चित गरिनेछ ।
  14. स्वास्थ्यमा सबैको पहुँच बढाउन स्वास्थ्य बिमा कार्यक्रमलाई यस नगरपालिकामा प्रभावकारी बनाउन पहल गरिनेछ । निरोगिता प्रवर्द्धन गर्नका लागि योग पद्दतीलाई समाजमा पुनःस्थापित गर्न योगशालाको स्थापना र विकास गर्दै लैजाने नीति अबलम्बन गरिनेछ ।
  15. शिशु खोप तथा मातृशिशु स्वास्थ्यलाई प्रभावकारी बनाउने कार्यक्रम सञ्चालन गरिनेछ । रक्तदान कार्यक्रमलाई प्रोत्साहन गरी मानवीय सहायताको लागि रक्तदान गर्न सर्वसाधारणलाई समेत उत्प्रेरित गर्न नागरिक शिक्षाको कार्यक्रम सञ्चालन गरिनेछ ।
  16. नगर भित्रका युवा, बालबालिका, महिला तथा किशोर किशोरीहरुलाई लागू औषध दुर्व्यसनी, घरेलु तथा यौनजन्य हिंसा, बाल अधिकार तथा महिलाको हक सम्बन्धी सचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  17. लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई प्रत्याभूत गर्न महिला, बालबालिका, दलित, जनजाती, अपाङ्ग, अल्पसंख्यक, पिछडिएको वर्ग, भूमिहिन, जेष्ठ नागरिक तथा विपन्न वर्गहरुको आवश्यकता अनुसार संरक्षण र सशक्तिकरणमा विशेष जोड दिइने छ ।
  18. दलित महिला लगायतका महिलाहरुलाई व्यवसायिक सीप विकास गरी उद्यमी बनाउन आयमुलक, सीपमुलक तालिम प्रदान गरी आय आर्जनमा वृद्धि गरी स्वरोजगार, आत्मनिर्भर हुने गरी सशक्तिकरणमा जोड दिइनेछ । भौतिक संरचना निर्माण गर्दा अपाङ्ग मैत्री बनाउने तथा अपाङ्ग व्यक्तिहरुको लागि सशक्तिकरण गर्ने नीति लिईनेछ ।
  19. जेष्ठ नागरिक भत्ता लगायतका सामाजिक सुरक्षाका कार्यक्रमलाई सहज र सरल तरिकाबाट वितरण गरिने व्यवस्था मिलाइने छ।सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणालीलाई सुदृढीकरण गर्न संघीय सरकारसँगको समन्वयमा अभियानमुखी कार्यक्रम सञ्चालन गरिनेछ ।
  20. सहयोगापेक्षी बेसहारा,अशक्त, असाहाय, अनाथ, अभिभावक विहिन, शारिरीक तथा मानसिक रुपमा कमजोर सडकआश्रित मानवमुक्त राष्ट्र निर्माण गर्ने नेपाल सरकारको लक्ष्य हासिल गर्न यस नगरपालिकाले समेत मानवसेवा आश्रम स्थापना र सञ्चालनमा साझेदारीको नीति अबलम्बन गर्नेछ ।

 

पूर्वाधार विकासः उर्जा,  सञ्चार, स्थानीय सडक, पुल, सिंचाई, खानेपानी पूर्वाधार, भवन तथा सहरी विकास

  1. व्यवस्थित बसोबास र सुन्दर सहर निर्माणका लागि एकिकृत शहरी विकासको अवधारणा अनुरुप आगामी वर्ष कालिका नगरपालिकामा सडकको स्थानीय मापदण्ड तयार गरी लागु गरिनेछ। स्थानीय सडकलाई अभिलेखीकरण गरी सडकको अधिकारक्षेत्र छुट्टाई सडक किनारामा फूटपाथ निर्माण र हरियाली प्रवर्द्धनका गर्नका लागि नगर यातायात गुरुयोजना तयार गरी योजनावद्ध विकास गर्दै लैजाने नीति लिईनेछ ।
  2. नगरपालिकाको चक्रपथ निर्माण तथा नगर भित्रका सहायक सडकहरुलाई मुख्य सडक सञ्जालसंग जोड्ने कार्यलाई प्राथामिकता दिइने र सबै सडकहरु क्रमशः कालोपत्रे गर्दै लगिनेछ । पहाडी मार्ग निर्माणलाई विशेष प्राथमिकता दिईनेछ ।
  3. नगरपालिकाका सवै वडाहरुबाट माग भएका आयोजनाहरुको सुचीकरण गरी योजना बैंक तयार गर्ने र आगामी आर्थिक बर्षहरुमा सोही योजना बैंकबाट आयोजना छनौट गरी कार्यान्वयन गर्दै लैजाने गरी विकासको योजना तयार गरिनेछ ।
  4. नगरपालिकामा हुने विकास आयोजनाको निर्माण र निर्माण सामग्रीहरुको गुणस्तर सुनिश्चित गर्न नगरपालिकामा निर्माण सम्बन्धी एक आधुनिक प्रविधियुक्त प्रयोगशाला स्थापना र सञ्चालन गरिनेछ ।
  5. कालिका नगरपालिकालाई सूचना तथा प्रविधि मैत्री नगर बनाउनका लागि आवश्यक पहल गरिनेछ । नगरपालिका भित्र Optical Fiber बिच्छाउने कार्य, प्रविधि मैत्री सेवा प्रवाहको व्यवस्था मिलाईने र डिजिटल अभिलेख व्यवस्थापन गर्ने कार्य प्रारम्भ गरिनेछ ।
  6. नगरपालिकाको प्रशासनिक भवन, सबै वडा कार्यालयहरुको भवन, सबै वडाहरुमा स्वास्थ्य संस्थाका भवन निर्माण गर्ने र स्वास्थ्य सेवा प्रवाह गर्ने कार्यलाई आगामी बर्ष पुरा गर्ने गरी पूर्वाधार विकासको योजना तर्जुमा गरिनेछ ।
  7. कयरखोला र सिन्ती खोलामा पक्की पुल निर्माण गरी दुर्गम भौगोलिक अवस्था भएको वडा नं. 10 र 11 लाई समेत यातायात प्रणालीमा जोड्ने कार्यक्रम कार्यान्वयन गरिनेछ र नियमित सडक मर्मत कार्यलाई निरन्तरता दिईनेछ । खगेरी खोलामा पुल निर्माण गरी भरतपुर महानगरपालिकासम्मको आवागमनलाई थप सहज तुल्याईनेछ ।
  8. नगरपालिकाका विद्युत सुविधा नपुगेका क्षेत्रहरुमा विद्युत लाईन विस्तार र सोलार उर्जा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ ।

वातावरण तथा विपद् व्यवस्थापनः वातावारण, वन तथा भु-जलाधार, फोहोरमैला व्यवस्थापन, जलवायु परीवर्तन

  1. हरित शहरको (Green City) को अवधारणा अनुरुप वातावरण मैत्री विकासलाई प्राथमिकता दिइनेछ ।स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हकको सुनिश्चितताका लागि नगरपालिकामा फोहोर प्रशोधन केन्द्र स्थापनाका लागि अध्ययन र आयोजना बनाइ सञ्चालन गरिनेछ।
  2. फलफूलका विरुवा रोप्ने राष्ट्रिय कार्यक्रमलाई समेत मूर्त रुप दिन नगरपालिकाको खाली जमिनमा फलफूलका विरुवा रोप्ने र संरक्षण गर्ने नीतिलाई निरन्तरता दिईनेछ ।
  3. जल उत्पन्न प्रकोप नियन्त्रणका लागि बुङखरे खोला डाइभर्सन गरी थाङखोलामा मिसाउने, कयरखोलामा तटबन्धन गर्ने तथा कालिका नगरभित्रका बाढी तथा पहिरो जोखिम क्षेत्रका खोला तथा खहरेमा तटबन्धन गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
  4. वन तथा वन्य जन्तुलाई संरक्षण गर्ने कार्यमा आवश्यक पहल गर्नुका साथै जंगलका बीचमा संरक्षण पोखरी निर्माण गर्ने तथा वातावरण तथा जलवायु अनुकुलन हुने गरी विकासका क्रियाकलाप सञ्चालन गरिनेछ । सामुदायिक वनसँगको सहकार्यमा नगरक्षेत्रको वातावरणीय विकासका कार्यक्रम र जडिबुटी खेती सञ्चालन गर्ने नीति लिइनेछ ।

संस्थागत विकास सेवा प्रवाह र सुशासनः सामान्य सेवा प्रवाह, सुशासन, सूचना प्रविधिको विकास र तथ्यांक व्यवस्थापन

  1. नेपालको संविधान बमोजिम संघीयता कार्यान्वयनको सिलसिलामा संघीय सरकारबाट यस नगरपालिका अन्तरगत कर्मचारीहरु समायोजन तथा नयाँ नियुक्ती भई आएका कारण जनशक्तिको परिपूर्ती भएको छ । अबका दिनहरुमा स्थानीय तहमा स्थानीय सरकारको अनुभूति गराउन सरकारी निकायको पहुँच तथा संस्थागत सबलीकरणमा जोड दिइनेछ ।
  2. संस्थागत क्षमता विकास, प्रविधि मैत्री सेवा प्रवाह र उत्तरदायी प्रशासन मार्फत प्रभावकारी चुस्त दुरुस्त गुणस्तरीय सेवा प्रवाह गरी सुशासन प्रवर्द्धनलाई प्राथमिकताका साथ अघि बढाइनेछ ।नगरपालिकाबाट प्रदान गरिने सेवालाई विद्युतीय माध्यम अनलाईन प्रणालीबाट प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।
  3. नगरपालिकामा लेखापरीक्षण समिति गठन र क्रियाशिल गराई लेखा परीक्षण एवं बेरुजु फर्छ्यौटलाई प्रभावकारी गराईनेछ ।
  4. हरेक चौमासिकमा स्थानीय विकास समस्या समाधान समितिको बैठकबाट समग्र विकास निर्माणका कार्यहरुको समीक्षा गर्ने र हरेक चौमासिकमा सार्वजनिक सुनुवाई गर्ने व्यवस्था मिलाई पारदर्शिता र जवाफदेहितालाई प्रवर्धन गरिनेछ ।
  5. नगरपालिका तथा सम्पूर्ण वडा कार्यालयका वार्षिक तथा अर्धवार्षिक कार्य प्रगती लगायतका अन्य सबै गतिविधि, सूचना तथा जानकारी Website मार्फत प्राप्‍त गर्न सकिने कार्य प्रकृयालाई अगाडि बढाइनेछ ।
  6. गैरसरकारी संस्थाहरुको कार्यक्रमलाई पारदर्शी र उपलब्धीमूलक बनाउन त्यस्ता संस्थाले कालिका नगरपालिका भित्र कार्यक्रम संचालन गर्दा अनिवार्य रुपमा इजाजत लिने, समन्वय तथा सहकार्य गर्न उत्प्रेरित गर्ने, नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेटलाइ सहयोग पुग्ने खालका कार्यक्रमलाई मात्र इजाजत दिइने छ । नगरपालिकाबाटै संस्था दर्ता, नियमन र खारेजीको व्यवस्थाको सुरुवात गरिनेछ ।
  7. बजारमा हुनसक्ने अस्वस्थ प्रतिस्पर्धा, एकाधिकार, मिसावट, अवैध भण्डारणलाई नियन्त्रण गर्न समय समयमा बजार अनुगमन गर्ने व्यवस्थालाई प्रभावकारी बनाउन दण्डात्मक भन्दा सुधारात्मक निगरानी बढाइनेछ । हाट बजार सञ्चालनको नगरस्तरीय मापदण्ड तयार गरी लागु गरिनेछ ।
  8. नगरपालिकाभित्रको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन नेपाल प्रहरी र अन्य सुरक्षा निकायहरुसँगको सहकार्यलाई प्रभावकारी बनाईनेछ। सुरक्षा संवेदनशील भएका स्थानहरुमा प्रहरी विट स्थापना गर्ने, सुरक्षा निगरानी वृद्धि गर्ने र मुख्य बजार क्षेत्रहरुमा सिसि टिभि जडान र विस्तार गरिनेछ ।
  9. समय समयमा वडाहरुमा घुम्ती सेवा टोली मार्फत जेष्ठ नागरिक परिचयपत्र तथा अपाङ्ग परिचय पत्र वितरण कार्यलाई विस्तार र प्रभावकारी गराईनेछ।
  10. सार्वजनिक सेवामा सबैको सरल तथा सहज पहुँच विस्तार गर्न सूचना प्रविधिको प्रयोग मार्फत नगरपालिका स्थानीय तथ्याङ्क सङ्कलन तथा व्यवस्थापन प्रणालीको विकास गर्ने र योजना निर्माण तथा छनौटमा वस्तुनिष्ठ तथ्याङ्ककलाई आधार लिइनेछ ।
  11. नगरपालिकाको राजश्व प्रशासनको क्षमता विकास गरी अनलाइन प्रणाली मार्फत सबै वडाबाट राजश्व संकलन गर्ने व्यवस्थालाई थप प्रभावकारी बनाईनेछ । नगरपालिका भित्रका राजश्वका क्षेत्रहरुको दायरा बढाइने, कर तथा राजस्व तिर्ने नागरिकलाई प्रोत्साहन गर्ने, व्यवसाय दर्ता र नविकरण गर्दा दर्ता नभई लामो समयदेखि सञ्चालनमा रहेका व्यवसायहरुलाई वितेका बर्षहरुको व्यवसाय करमा छुटको व्यवस्था गरी व्यवसाय दर्ता गर्न प्रेरित गर्ने तथा राजश्वको दायरामा ल्याइनेछ । राजश्वका सम्बन्धमा नागरिक शिक्षा कार्यक्रम सञ्चालन मार्फत करदाताहरुको चेतना अभिवृद्धि गरिनेछ ।
  12. नगरपालिका भित्रका बाढी पिडित, अव्यवस्थित बसोबास भएका नागरिकहरु, सुकुम्बासीहरुको व्यवस्थापनका लागि सेटलाईट इमेज र डिजिटल तथ्याङ्क व्यवस्थापन गरी नेपाल सरकारको कार्यक्रम अनुरुप नगरपालिकाले सुकुम्बासी, बाढीपिडित र अव्यवस्थित बसोबास रहेका क्षेत्रमा सहकार्यका माध्यमद्धारा समस्या समाधान गर्न पहल गरिनेछ ।नगरपालिका स्तरबाट योजना बनाई कम्तिमा दुईवटा स्थानमा पुनर्वास गराउने कार्यक्रम सञ्चालन गरिनेछ ।

अन्तमा, नगरपालिकाले आगामी आर्थिक बर्षमा सञ्चालन गर्न लागेका विकासका नीति तथा कार्यक्रमहरुमा सिर्जनात्मक सल्लाह सुझाव तथा कार्यान्वयनमा सहयोग र सहभागिताका लागि समस्त नगरबासीहरुमा हार्दिक अनुरोध गर्दछु र समृद्ध नगरपालिका निर्माण गर्ने अभियानमा सबैको योगदानको अपेक्षा समेत गर्दछु । धन्यवाद। नमस्कार ।

 

खुमनारायण श्रेष्ठ

नगर प्रमुख



ट्रेन्डिङ