सांसद विकास कोषको खर्च हुन नसकेको रकम कोरोना कोषमा

सांसद विकास कोषको खर्च हुन नसकेको रकम कोरोना कोषमा

काठमाडौँ ५ असार । सांसदहरूले संचालन गर्ने पूर्वाधार साँझेदारी कार्यक्रम  (सांसद विकास कोष ) को चालु आर्थिक वर्षको खर्च हुन बाँकी रकम कोरोना कोषमा राख्ने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्को असार २ गतेको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा चालु आर्थिक वर्ष २०७६/०७७ का लागि छुट्याइएको उक्त कार्यक्रमको खर्च हुन बाँकी रकम सम्बन्धित निर्वाचन क्षेत्रका स्थानीय तहमा गठित कोरोना नियन्त्रण कोषमा राख्ने निर्णय भएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

मन्त्रिपरषद्ले गरेका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले सांसदले संचालन गर्ने रकम कोरोना कोषमा राख्नुपर्ने जनमत आएकाले उक्त निर्णय लिइएको बताए । उक्त कार्यक्रमको रकम कोरोना भाइरस नियन्त्रण कोषमा राखौं भन्ने कुरा आइरहेका थिए । जनमत पनि आएको र छलफल पनि भएको विषय हुनाले संघीय मामिला मन्त्रालयको प्रस्तावमा निर्णय भएको हो उनले भने, प्रतिनिधिसभाको निर्वाचित सांसद निर्देशक समितिको संयोजक हुन्छ । उसले समितिमा अन्य सदस्यसँग परामर्श गरी सम्बन्धित स्थानीय तहमा रहेको कोभिड( १९ को व्यवस्थापनको लागि खोलिएको खातामा जम्मा गर्ने भन्ने निर्णय भएको छ ।

त्यसका लागि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको नियमावलीमा परिमार्जन गरिएको हो । उक्त रकम असार १५ सम्म कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ । चालु आर्थिक वर्षमा प्रति सांसदले ६ करोड प्राप्त गरेका थिए । आगामी आर्थिक वर्षका लागि भने प्रत्येक निर्वाचित सांसदलाई ४ करोडका दरले ६ अर्ब रकम विनियोजन गरिएको छ ।



ट्रेन्डिङ