गुल्मीमा होम क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु

गुल्मीमा होम क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु

गुल्मी ५ असार । गुल्मीमा होम क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु भएको छ । छत्रकोट गाउँपालिका वडा नम्बर–५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए । शव व्यवस्थापन गर्न नेपाली सेना घटनास्थल पुगेको छ ।

उनी गत जेठ २५ गते भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका थिए । प्यारालाइसिसको बिरामी उनी रहेको भारतमा उपचार गरेर फर्किएका थिए । बिहीबार आरडीटी टेस्ट गर्दा उनमा एन्टिबडी पोजेटिभ रिपोर्ट आएको गाउँपालिकाका स्वास्थ्य संयोजक पुण्य पौडेलले बताए । उनलाई भारतबाट नेपाल ल्याएका अर्का एक जनाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको थियो ।

मृतकमा कोरोना संक्रमण थियो कि थिएन भनेर स्वाब परीक्षण गर्न प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । भारतबाट आएपछि उनलाई छोरी ज्वाइँले हेरचाह गर्ने गरी होम क्वारेन्टिनमा राखिएको थियो ।



ट्रेन्डिङ