रुकुम घटनाको विरोधमा चितवनमा खबरदारी कार्यक्रम

रुकुम घटनाको विरोधमा चितवनमा खबरदारी कार्यक्रम

चितवन, ४ असार । पश्चिम रूकुमको चौरजहारी नरसंहारको विरोधमा संयुक्त दलित संघर्ष समिति चितवनको आयोजनामा विहीवार विरोध तथा खबरदारी कार्यक्रम सम्पन्न भएको छ । महिला अधिकारकर्मीहरू सामुदायिक सेवा केन्द्र चितवनकी अध्यक्ष मिना खरेल, मञ्जुश्री असहाय संरक्षण केन्द्र चितवनकी अध्यक्ष मञ्जु खाँडले खबरदारी कार्यक्रममा प्रतिनिधिमूलक ऐक्यबद्धता जनाएका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी दलित विभाग चितवनकी अध्यक्ष मिना विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा महिला अधिकारकर्मी खरेलले जातकै आधारमा रुकुममा भएको क्रुर घटना निन्दनीय रहेको र घटनाका सबै दोषीहरुलाई कडाभन्दा कडा कारवाही हुनुपर्ने बताएकी छिन् । अन्तरजातीय प्रेमको कारण कहिले सम्म दलित समुदाय मारिनु पर्ने उनले प्रश्न गरिन् । सोही क्रममा मानवअधिकारकर्मी सहदेव लकान्द्रीले रूकुम पश्चिममा भएको नरसंहारको भर्त्सना गरेका छन् । उनले घटनाको सत्यतथ्य निष्पक्ष छानविन, पीडितले न्याय र पीडकलाई हदैँ सम्मको कारवाहीको माग समेत गरेका छन् ।

त्यस्तै कार्यक्रममा महिला अधिकारकर्मी खाँडले घटनाको निष्पक्ष छानविन गरि कुनै पनि हालतमा न्याय मर्न दिन नहुने बताएकी छिन् । संयुक्त दलित संघर्ष समिति चितवनले निरन्तर घटनाको विरोधमा चरणबद्ध खबरदारी गरिरहेको छ भने दलित समुदायकै मुद्दा रहेकोले राष्ट्रिय दलित पत्रकार संघ चितवनले संघर्ष समितिमै रहेर विरोध गरिरहेको छ ।

       



ट्रेन्डिङ