बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित

बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित

चितवन ३ असार। सत्तारूढ दलभित्रै बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७७र०७८ को बजेटमाथि तीव्र विवाद भएपछि सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा बैठक स्थगित गरेका छन् ।

सत्तापक्षकै सांसदले बजेटको रातो पुस्तकमाथि विस्तृत अध्ययन गरेसम्म बजेटबारे छलफल अघि नबढ्ने अडान राखेपछि सभामुख श्रेष्ठले बैठक स्थगित गरेका थिए । सरकारले ल्याएको बजेटप्रति नेकपाकै सांसदले २ असारमा बसेको प्रदेशसभा बैठकमा विरोध जनाएका थिए ।

बुधबार बजेटमाथि छलफल गर्न बसेको बैठकमा प्रदेशसभा सदस्यले अध्ययनको लागि बजेटको रातो पुस्तक नपाएको भन्दै बजेटमाथि छलफल अगाडि नबढाउने अडान लिएका थिए । सत्तापक्षकै प्रदेश सांसदहरुले बजेट अध्ययन गर्न रातो पुस्तक नपाएको भन्दै संसद बैठकमै आक्रोश पोखेका थिए ।

प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले गत १ असारमा आगामी आवका लागि ५१ अर्बभन्दा बढीको बजेट प्रस्तुत गरेका थिए । २ असारमा बजेटमाथि सैद्धान्तिक छलफलका लागि बसेको प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले बजेटको चर्को आलोचना गरेका थिए ।

सभामुख सानुकुमार श्रेष्ठलाई सत्तापक्षकै प्रदेशसभा सदस्यले बजेट पुस्तको विस्तृत अध्ययन गरेसम्म कुनै पनि हालतमा बजेटबारे छलफल अघि नबढ्ने अडान राखेपछि उनले अनिश्चितकालका लागि सभा स्थगित गरिदिएका छन् । बजेटमाथिको सैद्धान्ति छलफलपश्चात् बजेट पास गर्नुपर्ने समयमा अनिश्चितकालका लागि बैठक स्थगित भएको हो ।

सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभा सदस्यहरूले रातो पुस्तक पढ्न पाउनुपर्ने माग राखेपछि बैठक स्थगित गर्नुपरेको बताए । उनका अनुसार प्रदेशसभामा बजेटको रातो पुस्तक उपलब्ध थिएन् । सत्तापक्षका सांसदहरू गणेश दुलाल, नारायणबहादुर सिलवाल, शशीजंग थापा, शान्तिप्रसाद पौडेललगायतकाले रातो पुस्तक नपाएसम्म छलफल नहुने अडान राखेका थिए।



ट्रेन्डिङ