बदेलको आक्रमणवाट रत्ननगरमा तीनजना घाइते( फोटोफिचर सहित )

बदेलको आक्रमणवाट रत्ननगरमा तीनजना घाइते( फोटोफिचर सहित )

पिविएम न्यूज
कालिका ३ असार । पूर्वी चितवनको रत्ननगर नगरपालिकाको वडा नंं ११ मा बदेलको आक्रमणवाट तीनजना घाइते भएका छन् । घाइते हुनेमा कालिका नगरपालिकाको वडा नं. १ गडुवाचोक बस्ने ३२ वर्षका रन्जित श्रेष्ठ र रत्ननगर नगरपालिकाको वडा नं. ११ गैरिगाउँ बस्ने २५ वर्षिय कुमार परियार र सोही गाउँका १८ वर्षिय किरण परियार रहेका छन् ।

उनीहरु मध्ये रन्जित श्रेष्ठको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य दुईजनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाईते मध्ये रन्जित श्रेष्ठको अवस्था गम्भीर छ। श्रेष्ठलाई भरतपुर अस्पतालमा उपचारका लागि लगिएको थियो । अवस्था गम्भीर भएसँगै भरतपुर अस्पतालमा चिकित्सकहरु नभएकाले भरतपुर मेडिकल कलेजमा रिफर गरिएको हो ।

उनलाई बाटोदेखि झण्डै ३ मिटर पर सम्म घिसारेर लगेको प्रत्यक्षदर्शी रामप्रसाद घिमिरेले जानकारी दिए । उनको पछाडीको डाढ र हातखुट्टामा गम्भीर चोट लागेको छ । विहान सातबजेको समयमा जंगलसंगको सीमाना बाटो भएर घरतर्फ आउने क्रममा खेतवारीबाट निस्किएको बदेलले आक्रमण गरेको थियो । उनलाई आक्रमण गरेको बदेल पुन खेतवारीमै पसेका थिए । उनलाई आक्रमण गरेको २० मिनेटको फरकमा अरुदुईजनालाई आक्रमण गरेको हो । खेतवारीमा घाँस काट्ने क्रममा बदेलवाट आक्रमणमा परेका दुईजना मध्ये एकजना कुमार परियारको खुट्टा र हातमा घाउँ भएको छ भने अर्का किरण परियारको शरीरमा चोट लागेको छ ।

रातको समयमा जंगलवाट निस्किएका जनावर खेतवारी हुँदै मानविय बस्तीमा प्रवेश गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । खेतवारीमै बसेर आल खेल्दै खेतिबाली नष्टपार्ने गरेको स्थानीय विष्णुप्रसाद घिमिरेले गुनासो गरे ।
घटनापछि जिल्लाबन कार्यालयका प्रतिनिधि आएर घटनाको बारेमा अध्ययन गरेर मुचुल्का उठाउने काम गरेका छन् । जिल्लाबन कार्यालयले चितवन राष्ट्रिय निकुञ्जलाई घटनाको बारेमा जानकारी गराउँनेछ । वन्यजन्तुबाट क्षति हुने विषयमा निर्देशीकाका आधार क्षतिपूर्ती दिइने खगेरी सव डिभिजन वन कार्यालयका रेन्जन विराज चौधरीले जानकारी दिए ।

घटना भएलगतै कालिका नगरपालिकाका वडा अध्यक्ष लिलावहादुर गुरुङ सहित पदमपुर प्रहरी चौकीका प्रहरीहरु घटना स्थल पुगेका थिए । सामुदायिक वनले जंगली जनावर मानविय वस्तीमा प्रवेश हुनवाट रोक्न तारजाली लगाएको भएपनि मानविय कमजोरीका कारण जंगली जनावरहरु मानविय वस्तीमा प्रवेश गर्न थालेको अध्यक्ष गुरुङले बताए । पछिल्लो समयमा खेतवारीमा कामगर्न समेत जनावरको डर बढेको उनले बताए ।



ट्रेन्डिङ